आज साउनको अन्तिम सोमबारको अवसरमा चन्द्रागिरी हिल्सले विशेष अफरको सुविधा व्यवस्था गरेको छ। हिल्स्ले भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रमको अवसरमा यस्तो विशेष अफरको सुविधा दिएको हो
कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन–कीर्तन सञ्चालन भइरहेको छ । साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन हार्दिक आमन्त्रण गरिएको छ।
चन्द्रागिरी हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ। यस अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र रू. ४०० मा उपलब्ध हुनेछ।
यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ । भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको हो।








