भदौ १० गते भोटेकोशीमा आएको हिमालयन सुनामीले महाविध्वंस गरेको छ । अकल्पनीय प्राकृतिक यो विपत्तिले धेरै नागरिकको ज्यान लिएको छ,भने हजारौ मानिस घाइते भएका छन्, सयौ हराइरहेका छन् । मृतक परिवार शोकमा छन् भने, परिवारजन आफन्तको पर्खाइमा छन् ।
प्रकृतिको यो महाविस्फोटले नदी किनाराको मानव सभ्यतालाई क्षणभरमै बगरमा परिणत गरिदिएको छ भने अर्बाैको भौतिक तथा आर्थिक नोक्शानी देशले अनाहकमै झेल्न परेको छ । बाढीको यो वितण्डताले नदी किनारा यतिबेला शव छेमल्ने गन्तव्य जस्तो बनेका छन् । पीडित परिवारहरु आँसुमा डुबिरहेका छन्, भने भोलिको भविष्यको चिन्ता उत्तिकै छ।
सरकारले विपत लगत्तै खोज तथा उद्दार कार्यलाई युद्धस्तरमा बढाएको छ। बाढीको लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले सम्बन्धित निकायहरुलाई निर्देशन गर्नुको साथै प्रभावित क्षेत्रमा उद्दारका सामगी लिएर खोजि कार्यलाई तिब्रता घटनालगत्तै दिइरहेका छन् । सत्तारुढ रास्वपाले सर्वदलीय बैठक राखेर मुलुकमा आइलागेको महाविपत्तिको सामना गर्नका लागि खोज तथा उद्दार अनि राहतलाई तीब्रताका साथ अघि बढाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय मित्र राष्ट्र तथा दाताहरुसंग आग्रह गरेका छन् । पीडितहरुको तत्कालनको खाना, नाना र छानाका लागि सरकारले नागरिकसंग सहयोगको आग्रह गरेको छ । गच्छे अनुसार नागरिकले सरकारको सहयोगमा साथ दिइरहेका छन् ।
विगतका विपत्तिमा जस्तो बेथिति नहोस् भन्दै सरकारले राहतका संकलन र वितरणलाई सरकारी एकद्वार प्रणालीलाई लागू गरेको छ । प्रधानमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेका छन्। पीडितहरुसंग भेटेका छन्,भने बाढीले निम्त्याएको भौतिक क्षतिको अनुगमन गरी तीब्रताकासाथ काम गर्ने बाचा गरेका छन् । सरकार मातहतका निकायलाई परिचालन, निर्देेशन र व्यवस्थापन प्रधानमन्त्रीले गरेका छन् । विपक्षी दल लगायत विभिन्न संघ संस्थाको पनि सदासयता र सहयोग सहृदय छ ।
सिंगो देश अकस्मात आइलागेको विपत्तिसंग जुध्नका लागि एकाकार भइरहेको बेलामा विपतलाई राजनीतिकरण गर्नु महाभूल हुनेछ । यो राजनीतिकरण होइन, मानवीयकरण गर्ने बेलाको समय हो, यो । यस्तो विषम र प्रतिकूल अवस्थामा आफ्ना विमतिहरुलाई थाँती राखी पीडितहरुको उद्दार, खोज, उपचार र अस्थायी सुरक्षित बन्दोबस्तसंगै उनीहरुका लागि आवस्यक परामर्शको खाँचो हुन्छ । हरेक नेपालको क्षमता र दक्षता अनुसार राष्ट्रलाई योगदान गर्ने समयमा हामीले मानव भएर मानवीयता देखाउन सक्नुपर्छ । महाविपत्तिले ल्याएको यो विनाश अकल्पनीय छ । भोटेकोशीमा आएको बाढीले सयौ नागरिकहरुको ज्यान मात्रे लिएन । उनीहरुको स्वप्निल सपनाहरु क्षण भरमै बाढीको रहमा डुबिरहेका छन् ।
प्राकृतिक विपत्तिले नागरिकको ज्यान मात्रै लिएन।उनीहरुको सपना पनि उजाड बनाइदिएको छ। नदी किनारका सुन्दर बस्तीहरु क्षणभरमै उजाड भएका छन् । केही समय अघि रमाइरहेका बस्तीहरु एकैछिनमै चीत्कार बन्न पुगेका छन् । घर बस्ती बजार उजाडिरहेको र परिवारहरू शोकमा डुबिरहेको यस्तो संवेदनशील घडीमा हरेक नागरिकले संवेदनशीलता देखाउनु अत्यन्तै जरुरी छ । भ्यूज र फलोअर्सका नाममा सन्जालमा सनसनी फैलाउने काम गर्नु कदापि जिम्मेवारी होइन ।
यो विपत्मा राज्यसंग प्रश्न भन्दा पनि आफ्नो कर्तव्य र जिम्मेवारीलाई बढावा दिऔं । यो संकटको अध्याँरो अवस्थाबाट मुलुक बाहिर निस्केपछि प्रश्न गरौला। आफ्ना विमती र असहमतिलाई खौजौला । अहिले विपद्मा संयमता, धैर्यता, गाम्भीर्यता, र मानवीयतालाई पहिलो प्राथमिकतामा राखेर आ आफ्नो क्षेत्रबाट साथ र सहयोग गरेर राष्ट्र योगदान गरौ । विपतमा मानवीय कार्य गरेर जीवनमा अद्धितिय पूण्य कमाऔ । ००००








