३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पकाे जीत पक्कापक्की,२६६ ईलेक्ट्राेल मतसहित अग्रता कायमै


२१ कार्तिक २०८१, बुधबार  



अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् ।

निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सिएनएनकाअनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

फक्सन्युजले ट्रम्पको जित निश्चित भएको घोषणा गरिसकेको छ । उनले कम्तीमा २७७ इलेक्टोरल मत ल्याउने प्रक्षेपण गरेको छ । ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरिरहेका छन् ।

त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १९४ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।

जितका लागि निर्णायक मानिएका ७ स्विङ स्टेटमध्ये, पेनसिल्भानिया, नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्पले जित हासिल गरेका छन् । यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएको हो ।

अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ ।

यस पटक पनि पहिलेजस्तै निर्वाचन परिणाम नै निर्धारण गर्ने‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को मतले राष्ट्रपति चयनमा महत्त्वपूर्ण भूमिका खेलेको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ३५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित