२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

चाैधरी ग्रुपले सरकारलाई साढे १८ अर्ब बढी कर तिर्याे, राजश्वमा करिब दुई प्रतिशत याेगदान


३ मंसिर २०८१, सोमबार  


विनाेद चाैधरी नेतृत्वको समूह चौधरी ग्रुपले सरकारलाई साढे १८ अर्ब बढी कर तिरेको छ। गएको आर्थिक वर्ष २०८०/८१ मा उसले सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको हाे । यो सरकारको कुल राजस्व संकलनमा करिब दुई प्रतिशत हाराहारीकाे याेगदान हाे।

चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको उनीहरूकाे दाबी छ ।


आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गएकाे आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभुमिमा चौधरी ग्रुपको योगदान भने गएकाे आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजस्वमा पुर्‍याएको योगदान २ अर्ब ३८ करोडले बढी रहेको छ । आर्थिक वर्ष २०७९/८० मा यश ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो ।

‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकेकोमा हामीलाई खुसी लागेको बताउँछन् चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी। उनी भन्छन्, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौं ।’

गएका ५ वर्षका अवधिमा यश चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय वृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको दाबी गरेका छन् ।

व्यवसायिक घरानाहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने गरेको पाईन्न। व्यवसायी उत्साहित र प्रोत्साहित गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको दाबी गरेको छ ।

राजस्वमा गरेको योगदानलाई आम जनमानसकावीच सार्वजनिकरूपमा जानकारीमा ल्याउन जिम्मेवार व्यवसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गरेको बताएको छ।

चौधरी ग्रुपले व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यवसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था हुनुपर्ने उसले माग गरेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ३५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित