३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

गणतन्त्रका मठाधिश कै कारण चिहानबाट बौरिन खोज्दै सामन्ती राजतन्त्र !


२ चैत्र २०८१, आइतबार  


दुनियाँमा राजनीतिक विज्ञानको नियम अग्रगामी हुन्छ ।तर, पश्चगामी हुन सक्दैन ।विश्वको ऐतिहासिक समाज विकासक्रम र राजनीतिक घटनाक्रमको तथ्यले प्रमाणिातगरेको हो,यो कुरा।

कुनै पनि राजनीतिक क्रान्तिद्वारा स्थापित भएपछि पछि फर्किदैन ,भलै प्रतिक्रान्तिको खतरा भने टरेको हुन्न।चिनियाँ नेता माओ ले भनेका छन् क्रान्ति सम्पन्न गर्न भन्दा त्यसको अस्तित्व रक्षा गर्न चुनौति हुन्छ ।
हो, नेपालमा पनि अढाई सय वर्षे सामन्ती राजतन्त्र ढलेको पनि १७ वर्ष पुगिसक्यो।गणतन्त्र घोषणा गर्दा प्रतिरोध गर्न पनि नसकेको यो पुरातन शक्ति यतिबेला बढी सक्रिय देखिन्छ ।

गएको फागुन २५ मा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको ठूलो भीड , जुन भीड राजावादीहरूको इतिहासमा पहिलो हो। यही भीडले हौसिएका उनीहरू जित्ने मनोबल देखाउन थालेका छन् । भारतले ज्ञानेन्द्रलाई सत्ताच्यूत गराएर गणतन्त्र स्थापना गराएको दाबी गर्ने उनीहरूले नै गणतन्त्र ढाल्न योगी आदित्यनाथको तस्बिर बोकेर सडकमा देखिए। यही दृष्यले पनि उनीहरूको चरित्र र प्रवृत्तिको चेहरा उघारिएको छ।

भारतीय सत्ताको आशिरवादमा नारायणहिटी फर्किने लोभमा ज्ञानेन्द्र शाह देखिन्छन् । अत्यन्तै विवादास्पद र अक्षम पात्र शाह ,पूर्व राजाको हैसियतमा छन् ।राजावादी र राष्ट्रवादी शक्तिले बोकेर दरबार पुराउलान् भन्ने उनको अभिलाषा छ। उनमा यतिसम्म आँट हिम्मतको कारण गणतन्त्रका नायकहरूको खलनायकी कुकर्म हो।गणतन्त्र स्थापनाको १७ वर्षसम्म पनि जनताको जीवनमा तात्विक भिन्नता नआउनु हो।


लोकतान्त्रिक व्यवस्थामा उनै असफल र अक्षम पात्रहरू पटकपटक दोहोरिएपनि सुशासन कायम हुन नसक्नु ,भ्रष्टाचारले सीमा नाँघ्नु,सामाजिक विकृति र बेथिति मौलाउनु, गरिबी र बेरोजगारीको आगोले हर बस्ती जलाउनु हो। यही विवशता भित्र व्यवस्था उल्टाएर सत्ताको स्वर्गमा रमाउने दाउँ छ, राजावादीहरूको।

कदमकदाचित राजा फर्किए पनि देशको अवस्था सुध्रिने हुदै होईन।जुन पात्रले सत्ता सम्हालेका थिए।उनको पालामा देश झन् अप्ठ्यारोमा पर्यो।मुलुकले सैनिक शासन झेल्यो।त्यो अन्याय र अत्याचारले सीमा नाघेपछि जनताले सडकबाटै राजसंस्थालाई मिल्काईदिए ।त्यसको ठाउँमा गणतन्त्रवादी नेताहरू आए। पात्र फेरिए पात्रता उनै दोहोरिए।हिजो एउटा राजा थिए। आज सयौ राजा भए ।तिनै छोटे राजाले पनि उस्तै पारा देखाउन थाले।

गणतन्त्रमा जनता रैती जस्तै भए र छन् ।तीन मुख्य मठाधिशकै विवेकमा मुलुक बन्धक छ।गणतन्त्रका छोटे राजाकै खलनायकीपनले चिहानमा पुगेको राजतन्त्र बौरिन खोजेको छ।अहिले नै बौरिन स्थिति त देखिन्न।किनकि देशभर यीनीहरूको जनमत १० प्रतिशत पनि छैन।गणतन्त्र उल्टाउन पनि तागत त्यत्तिकै चाहिन्छ ,जति तागत हिजो राजतन्त्र मिल्काउन चाहिएको थियोे ।त्यो वातावरण र स्थिति बनेको छैन अझै ।तत्काल बन्ने स्थिति पनि देखिन्न।

तर, शासकहरूले आफ्नो आचरण र अहंकारलाई बेलैमा सच्याउन नसके खतराको तरबार अझै धारिलो हुन सक्छ ।तर,युगले चिहानमा पुगेको राजतन्त्र फर्काउने त असम्भव छ।नयाँ पुस्ताले विद्यमान शासकको विकल्प खोजेको हो, चिहानमा पुगेको राजतन्त्र होईन।दास र रैती जन्माउने यस्तो व्यवस्था सचेत युवाले स्विकार्दैन। जहाँ राजा महाराजा जुठो भगवान् विष्णुको प्रसाद भनेर बाँडिन्छ, जुन कुरा बबिता बस्नेतको समयभित्र समय कार्यक्रममा जया शाहले खुलासा गरेकी थिईन।यसैबाट पनि थाहा हुन्छ ।राजतन्त्र सामन्ती हुन्छ ।जनतालाई रैती ठान्छ ।तैपनि पनि मानिसहरू राजा राजा भन्न थालेका छन् ।

यसले नयाँ परिस्थिति बन्ने संकेत पनि गरेको छ।
यी सबै खाले खतराबाट मुक्त हुन र गणतन्त्रको थप सुदृढीकरणका लागि निर्वाचन प्रणालीदेखि शासकीय संरचनामा तत्कालै पुनः विचार गर्न जरुरी छ। सडकमा देखिएको असन्तुष्टि भ्रष्टाचार र कुशासन मात्रै होईन। नेता भ्रष्ट बनाउने संरचना पनि हो।हाम्रो निर्वाचन प्रणाली चुस्त भैदिएको भए।मन्त्रिपरिषद् देखि संवैधानिक संरचना थोरै र कम भैदिएको भए ।निर्वाचन जसले पनि सहजै लड्न सकिने भैदिएको भए ।राज्यको हरक्षेत्रमा नेताको होईन योग्यताको आधारमा अवसर पाउन सकेको भए।जनताको शिक्षा ,स्वास्थ्य र रोजगार जस्ता मुद्दा क्रमशः कार्यान्वयन हुदै गएको भए , कुनै पनि नागरिक चिहानमा पुगेको राजतन्त्र उधिन्न जान्न थियोे होला।

यति कुरा शासकहरूले मनन् गरेर भोलि होईन, आजैबाट सुधारका काम थाल्ने हो भने राजावादी बौरिने कोशीस पनि गर्न अब सक्दैनन् । तर, के यी आधारभूत विषयमा विद्यमान शासक र नेताहरू सुधार गर्न तयार छन् त रु यही हो,यति यक्ष प्रश्न ।व्यवस्था जोगाउने कि चिहानमा पुगेको राजतन्त्र बौराउने

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १० : ३५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित