२१ फागुनको निर्वाचनमा ४४ हजार बढी मतले शानदार विजय हासिल गरेका युवा सांसद हुन्,कमल सुवेदी । नीति विधि र विधानमा विश्वास गर्ने कमल रास्वपामा नीति विशेषज्ञका रूपमा चिनिन्छन्।
विगतका कठिन संघर्ष,अभाव र दबाब झेल्दै समाज बदल्ने हिडेका उनी अब देशको नीति बदल्ने र बनाउने तहमा पुगेका छन् । शालीन, सौम्य नम्र र मुदुभाषी सबैका नजरमा पृय छन् । ३६ वर्षदेखिको कुशासन र भ्रष्टाचार विरू्द्ध जनतामा जागरणका दीयो सल्काउँदै हिडेका उनी रास्वपा दाङका रचनाकार र योजनाकार पनि हुन्। २०७९ मंसिरको निर्वाचनमा १५ हजार तीन सय बढी लिएर पराजित भएपनि त्यसको ठीक तीनवर्षपछि भएको प्रतिनिधि सभा निर्वाचनमा तीन गुणा बढी मतान्तरले विजयी हुँदै संसदीय यात्रा सुरू गरेका हुन्।
कमल एक अनुभवी, बौद्धिक र नीतिगत स्पष्टता भएका युवा नेता हुन् । उनै बौद्धिक युवा नेता सुवेदीलाई रास्वपाले दाङ ३ को चुनावी मैदानमा उतारेको थियोे । राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यम नभई नीति र डेलिभरीको थलो मान्ने सुवेदी रास्वपाका केन्द्रीय प्रशिक्षण विभाग सचिव समेत हुन्।
दाङको माटोमा जन्मिएका , हुर्केका र समाज र परिवेशलाई गहिरो गरि बुझेका सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक नेता पनि हुन्।
सुवेदीले २०६० सालमा दाङको हेकुलीस्थित वीरेन्द्र माध्यामिक विद्यालयबाट एसएलसी र २०७० मा त्रिभुवन विश्वविद्यालयको मानविकी संकायबाट स्नातकोत्तर तह उत्तीर्ण गरे । उनै नवनिर्वाचित सांसद सुवेदीले डिप्लोमा एन डेभलपमेन्ट लिडरशीप, सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालय, क्यानडा २०७५ गरेका छन् । शिक्षा , प्रशासन र विकासको त्रिवेणी ज्ञानले उनलाई एक नीति विशेषज्ञको रूपमा स्थापित गरेको छ।
दुई दशक लामो सामाजिक र व्यावसायिक यात्राका क्रममा उनले देश र विदेशमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। यसैगरी उनले अन्तर्राष्ट्रिय छवि पनि बनाएका छन् । सुवेदी ग्लोबल ह्युम्यानिटेरियन एड क्यानडाको बोर्ड सदस्य र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसीको निर्देशक पनि भए ।
राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नियोनको संस्थापक केन्द्रीय अध्यक्ष समेत हुन्।पश्चिम दाङमा सञ्चारको पहुँच पुर्याउन सामुदायिक रेडियो हापुरेुको संस्थापक भएर काम गरे।
अमेरिका, क्यानडा, जापान र युरोपसहित २५ भन्दा बढी देशको अध्ययन भ्रमण गरी विश्व विकासको मोडललाई नजिकबाट बुझेका युवा नेता हुन् सुवेदी । प्रमुख राजनीतिक एवं नीतिगत योगदान युवा मुद्दा सवालमा उनको महत्त्वपूर्ण योगदान रह्यो। सरकारसँगको सहकार्यमा राष्ट्रिय युवा परिषद् गठनको नीतिगत नेतृत्व पनि उनले गरे।
भ्रष्टाचार विरुद्धको अभियानस् गुड गभर्नेन्स प्रोटेक्सन फोरममार्फत सुशासनको वकालत गर्दै अघि बढेका सुवेदीको पार्टी निर्माणमा पनि उत्तिकै योगदान छ।
रास्वपाको विचार, प्रशिक्षण पाठ्यक्रम र नीति निर्माणमा उनी मुख्य योजनाकारको भूमिकामा रहे। उनी विपद्को सारथि भएर पनि काम गरे। २०७२ को महाभूकम्प र संकटको समयमा आवास निर्माण र मनोसामाजिक परामर्शमा उनी सक्रिय भएका थिए ।
लामो समय सामाजिक जागरण र रूपान्तरणका लागि अनवरतरूपमा खटिएका युवा सांसद कमल सुवेदीको भूमिका बदलिएको छ।विगतमा उनी प्रश्न गर्ने स्थानमा हुन्थे । अब उनी प्रश्न सुन्ने र जवाफ दिने स्थानमा पुगेका छन् । उनको जिम्मेवारी निकै गह्रुँगो छ। लामो समयदेखि थुप्रिएको भ्रष्टाचार र कुशासनको कचेडा मिल्काउनु पर्नेछ ।
जनताको डेलिभरीदेखि नीति निर्माणमा उनी अहोरत्र खटिनुपर्नेछ। अवस्था बदल्ने संकल्पका लागि दाङ ३ का मतदाताले उनलाई अभूतपूर्व विश्वास गरेका छन् । त्यो मतदाताको विश्वासलाई अक्षुण राख्न र दर्जनौं कानुनहरू उनीसहितका सांसदहरूले बनाउनुपर्ने छ। दाङको कर्णाली भनेर चिनिने पश्चिम दाङ भौतिक तथा मानवीय विकासले निकै पछाडि छ ।
शिक्षा,स्वास्थ्य,रोजगारी, उत्पादन र सुशासनको मुद्दामा दिनरात नभनी काम गर्नुपर्नेछ । यो उनका लागि चुनौति र अवसर दुबै हो। यसपटक रास्वपालाई जनताले करिब दुई तिहाइ मत दिएका छन् । शक्तिशाली सरकारको प्रधानमन्त्री बालेन्द्र साह बन्दैछन् । सरकार र संसदको तादम्यता यसपटक मिल्ने देखिन्छ ।
रवि र बालेनले उडान भरेको रास्वपाका कमल पनि एक कोपाइलट हुन्। रास्वपा नामको विमानले अवस्य पनि लाखौं जनताको भावना र भविष्य अनुसार काम गर्नेछ र गर्नुुपर्ने छ। किन रास्वपालाई कुनै पनि बाहना बनाउने सुविधा छैन।








