संस्कृति,भाषा र सभ्यताको जननी हो, संस्कृत भाषा। विश्वको भाषाहरुको पनि भाषा भएको यस संस्कृत भाषाभित्रको अथाह ज्ञानकै कारण विज्ञानले चमत्कार गरेको छ। हाम्रो जीवन -पद्धती, संस्कृति र परम्पराहरुसंग अन्योन्यश्रित र जीवन्त सम्बन्ध जोडिएको छ,हाम्रो । यही भाषाहरुको जननी संस्कृत भाषाको प्रवद्र्धनका लागि भदौ ३ गते सोमबार सातौ विश्व र्संस्कत भाषा दिवस मनाउन लागिएको हो । विक्रम सम्वत २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो ।
प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी) को दिनमा मनाइने विश्व संस्कृत दिवसको सातौँ संस्करण नेपाल सहित विश्वका विभिन्न देशहरूमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सातौँ विश्व संस्कृत दिवसको मूल समारोह समुद्र मन विद्या प्रतिष्ठानको सभाकक्ष, गहनापोखरी, टङ्गाल, काठमाडौंमा सोमबार दिउँसो २ बजेदेखि आयोजना गरिएको छ । संस्कृत भाषामा निहित ज्ञानसम्पदा बारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको हो । प्राचीनकालमा शैक्षिक सत्रको शुभारम्भ श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने हुनाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन लागेको यसका संकल्पकर्ता डा.निर्मलमणि अधिकारीले बताए । विश्व संस्कृत दिवसलाई आधिकारिकताका लागि संयुक्त राष्ट्रसंघमा प्रस्ताव गरिने डा.निर्मल अधिकारीले जानकारी दिए ।
नेपालमा आयोजित विश्व संस्कृत दिवसमा जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाज नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् । यसैगरी, विश्व संस्कृत दिवसका लागि अन्तरराष्ट्रिय तहमा सहृदयता इन्टरनेशनल, इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्म, नेपाली हिन्दू फोरम युके, सनातन धर्म अष्ट्रेलिया, विश्व भूटानी हिन्दू सङ्गठन, ग्लोबल सोसाइटी फर् पीस एण्ड स्पिरिचुअल साइन्स लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।
विश्व संस्कृत दिवसका अवसरमा प्रत्येक वर्ष प्रदान गरिने विशेष संस्कृत सम्मानबाट यस वर्ष भाषाविद् प्रा. मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिँदैछ । प्रा. उपाध्यायले संस्कृत एवं नेपाली भाषाको श्रीवृद्धि साथै सनातन धर्म संस्कृतिको प्रवर्धनका लागि दशकौँदेखि गरेको विशिष्ट योगदानका लागि उनलाई विशेष सम्मान गर्न लागिएको हो । विशेष संस्कृत सम्मानबाट यसअघिका वर्षहरूमा आचार्य पूर्णचन्द्र उपाध्याय ढुङ्गेल र प्रा.डा दीर्घराज घिमिरेलाई सम्मान गरिएको थियो भने रु. १ लाख नगद राशिको आरुणी संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) उप–प्रा.गोविन्द घिमिरे (आकाश नीलम)र उप–प्रा.रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।
भदौ ३ गते काठमाडौंमा आयोजित मूल समारोहका प्रमुख अतिथि प्रा.डा. पुरुषोत्तमाचार्य रहेका छन्। नेपालमा जन्मेर हाल भारतको राजस्थान संस्कृत विश्वविद्यालयका प्राध्यापक रहेका प्राडा पुरुषोत्तमाचार्य संस्कृतका विशिष्टि विद्वान एवं प्रतिष्ठित आध्यात्मिक गुरु हुन्। विश्व संस्कृत दिवसका अवसरमा नेपालका सातै प्रदेशमा विभिन्न गुरुकुल तथा अन्य संस्थाहरूका तत्त्वावधानमा विभिन्न कार्यक्रम गरिने विश्व संस्कृत दिवस नाउन लागिएको कार्यपरिषदले जानकारी दिएको छ ।