पछिल्लो समय पर्यटककाे राेजाइमा केबलकार गन्तव्य बन्ने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकका लागि केबलकार चढ्ने र दृष्य अवलोकन गर्नेहरूकाे संख्या उल्लेख्य मात्रामा बढेको छ।
विदाकाे समय हाेस् या अन्य समयमा केबलकार पुग्नेहरूकाे संख्या बढेको हाे। केबल कार सञ्चालनमा आ एसंगै हाेटल ,हाेमस्टे र रेष्टुरेन्टहरू चल्ने गरेका छन् । कराेडाै लगानी र हजारौंकाे राेजगारी पनि सिर्जना भएको छ।

कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रकाे करिब ७% याेगदान रहेकाे अनुमान छ। यश मध्ये केबलकारकाे पर्यटन क्षेत्रमा करिब २५% याेगदान रहेको अनुमान छ।
नेपालकाे पर्यटन क्षेत्रकाे विकास गर्न भन्दै २०५५ सालमा मनकामना दर्शन प्रालि स्थापना भएको थियोे ।नेपालमा पहिलोपटक मनकामना दर्शन केबलकार सञ्चालनमा आएसंगै यश क्षेत्रमा लगानी पनि बढेको छ। पछिल्लो तथ्यांक अनुसार देश भर ७ वटा केबलकारले सेवा दिईरहेका छन्,भने प्यूठानको स्वर्गद्वारी र ताप्लेजुङकाे पाथिभरामा प्रक्रिया अघि बढाईएकाे छ।
केबलकार अहिले पहाडी भेगको लामो दुरी पार गर्ने माध्यम मात्र नभएर रमाइलो र रोमाञ्चक यात्रा अनुभव पनि बनेको छ।अहिले बिदाको समयमा धेरै घुम्न मन छैन र सहज यात्रा गर्न मन छ भने, केबलकार चढ्न रमाइलै हुन सक्छ। अरू बेला पनि सप्ताहन्त वा एकाध दिन बिदामा यस्तो भ्रमण गर्न सकिन्छ। नेपालमा व्यवसायीकरूपमा चलेका केबलकारहरू यी हुन्।
१. चन्द्रागिरी केबलकार
काठमाडौं उपत्यकामै रहेको चन्द्रागिरि घुमघामका लागि धेरैले रूचाएको प्रसिद्ध गन्तव्य हो। केबलकार चलेपछि नै चन्द्रागिरिको लोकप्रियता बढेको हो।

यहाँको भालेश्वर मन्दिर दर्शन, वरपरका हिमाल र काठमाडौं उपत्यकाको दृश्यावलोकन, मनोरञ्जन लागयतका लागि आन्तरिक र बाह्य पर्यटकहरू चन्द्रगिरि पुग्छन्।चन्द्रागिरि करिब साढे दुई हजार मिटर उचाइमा छ।
काठमाडौंको थानकोट नजिकै रहेको केबलकार बेस स्टेसनबाट करिब १० मिनेटमा चन्द्रागिरिको टप स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब १० मिनेट हिँडेर मूल गन्तव्य भालेश्वर मन्दिर पुगिन्छ। चन्द्रागिरिमा खानबस्न राम्रा रिसोर्ट र रेस्टुरेन्टहरू छन्। साहसिक र मनोरन्जनात्मक गतिविधिको सुविधा पनि छ।
तपाईं काठमाडौं उपत्यकाभित्रै वा आसपासमा हुनुहुन्छ भने दसैंको मौकामा चन्द्रागिरि जान सक्नुहुन्छ।
२. मनकामना केबलकार
मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। यात्रीका लागि केबलकारको सुरूआत पनि यहीँबाट भएको मानिन्छ।
चितवनको कुरिनटारबाट मनकामनासम्म चल्ने यो केबलकारले प्रसिद्ध मन्दिर मनकामना दर्शन सहज बनाएको छ। नेपाली र भारतीय पर्यटकहरूमा यो केबलकार निकै प्रसिद्ध छ।

यो केबलकारको यात्रा करिब १० मिनेटमा पूरा हुन्छ। रात बिताउन आसपासमा थुप्रै होटल र लजहरू छन्।
३. कालिञ्चोक केबलकार
दोलखाको कालिञ्चोकमा केबलकार चलेको ६ वर्ष भयो। कालिञ्चोक मन्दिर दर्शन गर्न जाने यात्रूका लागि ‘कालिञ्चोक केबलकार परियोजना’ ले केबलकार सञ्चालन गरेको हो। कालिञ्चोक नेपालका प्रसिद्ध धार्मिक गन्तव्यमध्ये एक हो।

मन्दिर दर्शनसँगै घुमघामका लागि पनि कालिञ्चोक प्रसिद्ध छ। तीन हजार ८०० मिटरको उचाइमा रहेको कालिञ्चोकबाट गौरीशंकर, अन्नपूर्ण, गणेश, लाङटाङ लगायत थुप्रै हिमालहरू हेर्न पाइन्छ।
४. मौलाकाली केबलकार
गएकाे वर्षदेखि सुरू भएको मौलाकाली केबलकार निकै लोकप्रिय भइसकेको छ। केबलकार चलेपछि नवलपुरको गैंडाकोटमा रहेको मौलाकाली मन्दिर दर्शनमा जाने यात्रूलाई सहज भएको छ।

केबलकारको बटम स्टेसनबाट टप स्टेसनसम्म पुग्न करिब पाँच मिनेट लाग्छ।
५. लुम्बिनी केबलकार
बुटवलको गोलपार्क बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरसम्म तीन किलोमिटर लामो केबलकार लुम्बिनी प्रदेशमा पहिलो हो। बटम स्टेसन समुद्री सतहबाट २३० मिटरमा छ। टप स्टेसन ९४० मिटर उचाइमा छ। बटम स्टेसनबाट १० मिनेटमा टप स्टेसनमा पुगिन्छ।

लुम्बिनी केबलकार यात्राबाट केही धार्मिक र पर्यटकीय ठाउँहरू घुम्न सकिन्छ। कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुंगे धारा, पोखरी आदि संरचनाले भरिपूर्ण वसन्तपुर चल्तीको धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ।
६. अन्नपूर्ण केबलकार
कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म अन्नपूर्ण केबलकार चल्छ। कुल २.१६ किलोमिटर लामो यो केबलकारबाट ९ मिनेटमा सराङकोट पुगिन्छ।

अन्नपूर्ण केबलकार यात्रासँगै सराङकोट पुगेर साहसिक खेल खेल्न र हेर्न पाइन्छ। सराङकोटबाट फेवाताल र माछापुच्छ्रे हिमालको मनोमोहक दृश्यावलोकन गर्न पाइन्छ।
७. बन्दीपुर केबलकार
तनहुँको बन्दीपुरमा पनि यसै वर्ष केबलकार सञ्चालनमा आएको छ। बन्दीपुर गाउँपालिका–४, डुम्रेबजार नजिकै बेस स्टेसनको नाम नै ‘केबलकार चोक’ भएको छकेबलकार चोकमा राम्रा रेस्टुरेन्टहरू छन्। ससाना साहसिक खेल गतिविधि पनि हुन्छन्।

आगामी दिनमा बन्दीपुर केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ‘रेस्ट्रो क्याबिन रेस्टुरेन्ट’ र ‘आराम कक्ष’ समेत सञ्चालन गर्ने तयारी गरेको छ।साढे तीन अर्ब रूपैयाँ लगानीमा निर्माणाधीन पाँचतारे होटलमा यसै वर्ष सेवा सुरू हुने जनाइएको छ।