सरकारी मानिसहरुले मंगलबार एउटा फेरि यस्तो षड्यन्त्रको जाल फाले । त्यो जाल हो, आफू अनुकूल इम्बोष्ड नम्बर जडान गर्नु भन्ने सरकारी विज्ञप्तिको चिर्कटो । अर्बाैको कमिसनको खेलमा देशलाई तन्नम बनाउने बज्रस्वाँठहरुको यो पछिल्लो जनता झुक्याउने ललिपप मात्रै हो । कमिसनका लागि आफ्नै आमा बेच्न पनि तयार हुने यी बदमासहरुले जनतालाई फेरि झुलाउन र झुक्याउन लागेका हुन् ।
नेपाली भाषा मास्ने, अर्बाै कमिसन कुम्लाउने, राष्ट्रिय सूचना विदेशी कम्पनीलाई बुझाउने जस्ता घिनलाग्दो खेलको यो पछिल्लो प्रहसन हो । इम्बोष्ड नम्बर आफू अनुकुल जडान गर्नु भन्ने भ्रष्टहरुको आदेश र फर्मान देशभक्त नेपालीले कदापि स्वीकार्दैन । कसैले दया–मायाको ललिपप देखाएर इम्बोस्ड नम्बर प्लेट लिनेवाला कोही छैन ।बरु, यस्तो घिनलाग्दो नाटक बन्द गरे, सरकारी मानिसहरुको लाज अलिककति भएपनि छोपिन्थ्यो ।
सत्ताधारीहरुको ’दयामाया’ र ’म्यादथप’ प्रति कुनै पनि देशभक्त नेपाली विश्वस्त छैन र हुनु हुन्न पनि । आम नेपालीले सवारी नम्बर प्लेटमा देवनागरी लिपिमा लेखिएका नेपाली अक्षर खोजेको हो । प्रविधिको यो दुनियाँमा कुनै पनि नागरिक इम्बोष्ड नम्बर जडानप्रति विमति राख्दैन । तर, ’डिजिटल नेपाल’ को गफ दिएर जनताको ढाक सेक्ने र कालो सूचिमा रहेको विदेशी ठग कम्पनी पोस्ने कुरा कदापि स्वीकार्य हुन्न र हुनुहुदैन पनि । एउटा इम्बोष्ड नम्बर प्लेटको चिर्कटोको नाममा २५ सयदेखि ३६ सय रुपैया लुट्ने कार्यमा कुनै पनि नेपाली सहमति छैन । बरु, नेपाली आइटी विज्ञहरु राखेर सस्तो, गुणस्तरीय र नेपाली भाषा अंकित नम्बर प्लेट छपाउनतिर लागे सरकारकै हित होला ।
तर, इम्बोष्ड नम्बर प्लेट छपाइमा गरिएका यो ब्रम्हलुटका हुँडारहरुले अझै पनि नेपाली अक्षरसमेत बेचेर खाने दाउँमा छन् । बहालवाला यातायात व्यवस्था मन्त्री लाखौ सेवाग्रहीको भावनालाई सुन्नै चाहादैनन् । कुनैपनि हालतमा इम्बोष्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको विकल्प नभएको भन्दै उनी उल्टै घुर्की दिइरहेका छन् । मन्त्रीका यस्ता जबरजस्तीका अभिव्यक्तिले माफियाका गडफादरहरूले हसुरेको अरबौँको कमिसन असुल्ने दिन पनि आउन सक्छ । यीनीहरुले चलाएको लुटको महलबाट थुतेरै लखेट्न र यिनीहरूकै घरघरानाबाट असुल गर्ने दिन पनि नआला भन्न सकिन्न ।
यसर्थ, सरकार नागरिकको यो कुरा कान खोलेर सुन । नागरिक तिमीले जस्तो जालझेल गर्न जान्दैन । कुनै कुटिल चाल पनि चाल्दैनन् जनता । आज एउटा भाषा र भोलि अर्कै भाषा गर्ने दुई जिब्रे पनि होइन जनता । जनतालाई यो मुलुकमारा कर्मको हिस्सेदार हुनु पनि छैन । त्यसैले जनताको कुरो बडो प्रस्ट छ–नेपाली अक्षर नभएको अहिलेको जस्तो लाजमर्दो नम्बर प्लेट यो जुनीमै लिदैनौँ । जनतालाई पक्र, थुन, अझै दुःख देऊ । पक्रेर थुनामै पठाउन मन छ भने आजैदेखि सुरु गर । भ्रष्ट र मुलुकमाराहरुको ललिपपमा सच्चा नेपाल िबिक्न चाहान्न ।
बरु, सरकारी मासिनहरुलाई नागरिक गिरफ्तारी दिन तयार छन् ।तर, तिम्रो आदेश र फर्मानमा मुलुकमारा राष्ट्रघाती इम्बोष्ड नम्बर प्लेट जडान कुनै पनि हालतमा गर्दैनन् । सच्चा देशभक्त नागरिक सत्ताधारीहरु जस्तो मुलुकमारा होइनन्। आफ्रनै अस्तित्व र अस्मिता बेचेर तिम्रो इम्बोष्ड नम्बर जडान गर्दैनन्। कसैले नागरिकको उदारतालाई अझै कमजोर ठानिए । सिहँदरबारबाट नौडाँडा कटाउने दिन पनि आउन सक्छ । बेलैमा सरकारी मासिनहरुको चेत खुलोस् ।








