११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओली युगको दुखान्त अवशान, बालेन युगको ‘ऐतिहासिक र चामत्कारिक’ शुभारम्भ !


१२ चैत्र २०८२, बिहिबार  


जब शासक सत्ता र शक्तिले दृष्टिविहिन भएर मैमत्त बन्न थाल्छ, तब उसको अध्याँरो यात्रा निश्चितरूपमा प्रारम्भ हृन्छ। जतिबेला शक्ति र सत्ताको उन्मादले उ लठ्ठ हुन्छ। त्यतिबेला उ पतनको भड्खालोमा पुग्दा पनि बेहोसी तालमा डुक्रिरहन्छ । हो, यस्तै भएको छ, १० वर्ष यता ४ पटक प्रधानमन्त्री भएका ओलीमा उस्तै धङधङी देखिन्छ । आफ्नै कारण सत्ता र शक्ति गुम्दा पनि उनीमा उस्तै धङधङी देखिएको हो ।

भदौ २३ अघि २१ तोपले पनि एमाले कांग्रेस गठबन्धन सरकार नढल्ने भन्दै उनी दुनियाँलाई हेयको भावले डपेट्थे । मानौ उनी सर्वशक्तिमान मात्रै होईनन्, अजम्बरी पनि हुन्।भक्तहरूको आरतीको शक्तिले बेला बेलामा उनी झन् उत्तेजित बन्थे। भक्तिगानलाई उनी पार्टी अनुशासन ठान्थे। प्रश्न गरे औला काटिदिन्थे, हातमा हत्कडीको ठेँटी हान्थे । तिनै मैमत्त पूर्व शासक हुन्, एमाले अध्यक्ष केपी ओली ।

यीनै ओली,देउवा प्रचण्डका कारण भ्रष्टाचार र कुशासनले जीर्ण र खोक्रो भएको देश बचाउन युवाले आन्दोलन गरे। तिनै युवामाथि भदौ २३ मा नयाँवानेश्वरमा गोली ठोकेर भदौ २४ मा ओली भागेका थिए। तिनै भगौडा ओली यीनै बालेनसंग गएको २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा झापा ५ मा करिब ५० हजार मतले पराजित भए भने, देशभरबाट एमालेले नचिताएकै हार बेहार्यो।

यसरी सर्मनाक हार्दा पनि उनी बिहीबार अर्थात् चैत १२ गतेका दिन नयाँ सांसदहरूलाई उस्तै गरि आदेशमै भन्दै थिए, गोरू नाङ्गो हुन्छ,जसलाई लाजको डर हुन्न। हो,भदौको युवा विद्रोहमा नरसंहार गरेको आरोपमा १० वर्ष जेलको सिफारिस भएका उनी अझै उस्तै गरि अंहकार र दम्भ देखाउँदै छन् । २०७४ को बामपंथी दुईतिहाइ नजिकैको जनमतले मैमत्त बन्दै गएका उनलाई झापाले सदाको लागि विदाइ गरिदियो ।

जेनजीको रगतले लत्पितिएको हातले २०८२ फागुन २१को प्रतिनिधि सभाका लागि उनले मत त मागे। तर, जनताले पराजयको उपाधि थमाइदिए।२१ फागुनको नतिजासंगै देश ओली मुक्त भयो ।एमाले संसदको सानो दलमा खुम्चियो।

अति गर्नु अत्याचार नगर्नु भने झै उनको अत्याचारले अन्ततः रवि बालेनको अकल्पनीय उदय भयो । भ्रष्टचार, कुशासन र बेथितिको जगमा रास्वपा देशको शक्ति दल बन्यो ।३६ वर्ष देखिको नेतातन्त्रको अध्याँरो रातबाट मुलुकले उन्मुक्तिको श्वास फेर्ने दिन आयो। एमाले ,कांग्रेस र माओवादीमुक्त देश बनेन मात्रै अब ओली,देउवा र प्रचण्डहरूको सत्ताको रिङमा हुनेछैनन्।


रविमाथिको अचाक्लि प्रतिशोध र बालेनमाथि बद्दखेदाइले नयाँ र अकल्पनीय राजनीतिक परिस्थिति बन्यो।सत्ताका सडकमा पछारिए।सडकका करिब दुई तिहाइ जनमतको साथ सत्तामा पुगे ।बिहीबार रास्वपाको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा सर्वसम्मत चुनिए पछि शुक्रबार बालेन संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त हुनेछन्। शुक्रबार रामनवमीको अवसरमा उनी राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त हुनेछन् ।नेपालको इतिहासमा पहिलो सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन् । वीपी४५ वर्षमा जननिर्वाचित प्रधानमन्त्री भएका थिए।एकथरी आ लोकहरूले बालेन प्रधानमन्त्री र रविले शपथ लिन नपाउने भन्दै थिए।तर, दुबैले प्रधानमन्त्री बन्न र शपथ लिन रोकिएन।

जनताको ऐतिहासिक दण्ड र सजायले रन्थनिएकाहरू जतिसुकै हुँकारको चर्को स्वरको कुनै अर्थ हुनेछैन । राजनीतिक दन्तबझान बेकारका हुनेछन् । २१ फागुनमा जनताले ठूला भनिएका र ठूलो स्वरमा चिच्याउने पुराना दललाई सडकमा पछारेपछि रास्वपा सत्तामा पुगेको छ।राजनीतिकमा यो जति ऐतिहासिक छ।त्यत्ति परिणाम अनुसार काम गर्न पनि चुनौति छ।

३६ वर्षदेखिको भ्रष्ट शासनको जरो उखेल्न निकै मेहनत गर्नु पर्नेदेखिन्छ।सदाचारितादेखि सक्रियता र इमानदारिताको विकल्प छैन। भ्रष्ट र नोकरशाही कर्मचारी संयन्त्र उस्तै पिरलो छ। वर्षौदेखि जरा गाडेको प्रक्रियामुखी झन्झटको प्रवृत्ति कर्मचारीमा छ। जनता विरोधी ऐन कानुनको तत्काल संशोधन र कार्यान्वयन अनि जनतामा अनुभुति दिलाउन सक्नुपर्नेछ । घरेलु सेवा प्रवाहदेखि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूसंगको सन्तुलन कायम गर्ने कुरा निकै महत्त्वपूर्ण छन् ।

स्वदेशमा उत्पादन र रोजगारी सिर्जना गर्ने मुद्दा उस्तै छन् ।रास्वपाले जनतासंग गरेको करारनामा अक्षरस कार्यान्वयन गर्नुपर्ने छ। ट्रेड युनियनदेखि संसदका साना दलहरूसंग जुध्न पनि चुनौति छ। जनमतमा साना भएपनि सत्ताको सुई घुमाउन उनीहरू माहिर छन्। अनेकन बाधा व्यावधान छिचोल्न र जनताको सपना छिमोल्न बालेन्द्र साह जस्तोसुकै चुनौतिको बीचमा पनि सफल हुनुको विकल्प छैन।

रास्वपा आफैमा असन्तुष्टहरूको विविधताको समूह हो। जहाँ धेरै स्वभाव र प्रवृत्तिका अनुहारहरूको उपस्थिति छ। यद्यपि देशको जर्जर अवस्था देखेर रविले बालेनसहित धेरै मानिसहरूलाई पार्टीमा प्रवेश मात्रै गराएनन्।बालेनलाई अघि सारेर देशभरबाट मत सोहर्न सफल भए । रविको सक्रियता र बालेनको लोकपृयताले १८२ सीट सहित रास्वपा विशाल पार्टी भएको छ।यश पार्टीको तर्फबाट बालेन प्रधानमन्त्री र रवि पार्टी सभापतिमा रहनेछन् ।यी दुई भाइको हातमा यो देशको बागडोर पुगेको छ।

त्यसका लागि पार्टीको आन्तरिक मजबुतिकरण, जनतालाई सुशासन सहितको डेलिभरी र विदेश सम्बन्धमा विवेकपूर्ण ढंगले काम गर्न सके यो ऐतिहासिक सरकार अवस्य हुनेछ । जनताको अपेक्षा अनुसार काम गर्न नसके एमाले कांग्रेसकै हालतमा रास्वपा पनि पुग्छ भन्ने कुरा रवि बालेनले पक्कै पनि राम्रोसँग बुझेका छन् र देखेका छन् । यसर्थ डे वानदेखि नतिजामुखी काम नगरी यीनीहरूलाई ऐया पनि भन्न पाउने कतै सुविधा पनि छैन।००

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ७ : ५१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित