
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको व्यापार अनुसार २३ अर्ब ९० करोडको धान, मकै र गहुँ आयात भएको हो । यसमध्ये १० अर्ब ८६ करोडको धान, १० अर्ब ३१ करोडको मकै र २ अर्ब ७३ करोडको गहुँ आयात भएको देखिन्छ। विभागका अनुसार गएको आर्थिक वर्ष यही अवधिमा १६ अर्ब ९५ करोडको धान, १२ अर्ब ५९ करोडको मकै र १ अर्ब ६४ करोडको गहुँ आयात भएको थियो ।
भन्सार विभागको पछिल्लो प्रतिवेदनले यो देखाँउछकी, गएको १० महिनामा धान मकै र गहुँका नाममा २४ अर्ब रुपैया बाहिरियो। कृषि प्रधान देश भनिएपनि खेत बाँझै राखेर विदेशबाट खाद्यान्न आयात गरिन्छ, हरेक वर्ष। यी मुख्य बालीको उत्पादन बृद्धि गर्ने भन्दै सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका नाममा पकेट क्षेत्र सञ्चालन पनि गर्दै आएको छ। तर,यी प्रमुख बालीका रूपमा प्रचलित यी बालीको आयात व्यापार हेर्ने हो भने अवस्था कहालीलाग्दो छ ।

गत वर्षको तुलनामा धानको उत्पादकत्वमा सुधार आएकाले धान बढी फलेको छ । सोही कारण आयात पनि घटेको हो । उन्नत बीउको बढ्दो प्रयोग, सिँचाइमा विस्तारसँगै मलखादको समेत सहजता भएपछि धानको उत्पादकत्व बढेको मन्त्रालयको दाबी छ । जसले गर्दा ०७९÷८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान फलेकामा ०८०÷८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन फलेको मन्त्रालयको दाबी छ । तर सहरीकरण र बाँझोपनका कारण धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ ।तेलहन पनि आयातमै निर्भर रहेको तथ्यांकले देखाउँछ । तेस्रो मुलुकबाट कच्चा पदार्थका रुपमा आयात हुने भटमास, सनफ्लावरको तेलले यहाँको माग धानेको छ । तरकारी र फलफूलको आयात पनि उल्लेख्य छ । आयातमा भने डिजेल–पेट्रोल र ग्यास सधैं अगाडि रहेको तथ्यांकले देखाउँछ ।
दश लाख बढी हेक्टर खेतीयोग्य जमिन बाँझै
नेपालमा खेतीयोग्य जमीनमध्ये करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझो छ ।सरकारी तथ्यांक अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ ।खेतीयोग्यभूमिमध्ये १० लाख ३० हेक्टर जमिन अझै बाँझो रहेको देखिन्छ ।

कसरी भयो बाँझो ?
कृषि क्षेत्रमा लगानीअनुसार फाइदा नहुने देखिएपछि कृषि पेसाबाट पलायन हुने अवस्था बढ्दै गएको पाइएको छ । कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रुपमा सम्मानित पेसाका रुपमा विकसित हुन नसक्नु लगायतका कारण खेतीयोग्य जमिन बाँझो हुँदै गएको देखिन्छ।

नेपालमा निर्वाहमुखी खेती गर्न छोड्ने र आधुनिक खेतीको पहुँच हुन नसक्दा खेत बाँझो भएको बताउँछन्, कृषि अभियान्ता उद्व अधिकारी।उनी भन्छन्, ‘गाउँघरमा पशुचौपाया पाल्न छोडियो, रैथानी बालीप्रति राज्य सधै बेवास्ता गर्दै आएको छ। जसले गर्दा हरेक वर्ष खेत बाँझो हुँदै गएको हो ।’

देशभर व्यवसायिक भन्दा निर्वाहमुखी खेती भइरेको छ । यहाँको उत्पादनले भारतको उत्पादनसँग प्रतिस्पार्ध गर्न नसकेर बजार पाउन समस्या हुन्छ । यसले गर्दा किसानहरु निउत्साहित भएका हुन्, भन्छन् कृषि अभियान्ता अधिकारी ।’
सरकारी तथ्यांक अनुसार तराई क्षेत्रको तुलनामा पहाडी क्षेत्रमा बढी जग्गा बाँझो छ । यसो हुनुमा पहाडी क्षेत्रमा तराई भन्दा कम कृषि क्षेत्रमा अवसर हुनु हो । यस्तै, गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको कारणले पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ ।पहाडी र हिमाली क्षेत्रमा खेती गर्नेको संख्या घट्दै गएको छ । कृषिमा जङ्गली जनावरबाट हुने क्षति बढ्दो छ । गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको छ । गाउँमा अवसर नभएको भन्दै जनशक्ति सहर केन्द्रित भएकाले गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको हो
यस्तोछ, नेपालमा खेतीयोग्य भूमिको अवस्थाः
भूमि उपयोगका हिसाबले नेपालमा हाल कुल भूभागको करिब २७ प्रतिशत खेतीयोग्य, ३९ दशमलव ६ प्रतिशत वन क्षेत्र, १२ प्रतिशत चरन क्षेत्र, १७ दशमलव २ प्रतिशत हिउँ तथा चट्टान क्षेत्र तथा २ दशमलव ६ प्रतिशत जलक्षेत्र छ । यी विभिन्न क्षेत्रको उचित व्यवस्थापनका लागि उपयुक्त नीतिको अभाव निकै देखिन्छ।

