३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

माननीय कान्छाराम जनताको नजरमा ‘आच्छाराम’


१० असार २०८२, मंगलबार  


जब दलीय दासत्वको पिजडामा कान्छारामहरू निस्सासन्छन्,तब शान्तिपूर्ण रूपले बेथितिको विरूद्ध बारूलो झै संसदमै उभिएर झम्टिन विवश हुन्छन् ।

सिधाान्तमा लोकतन्त्र तर,व्यवहारमा दासतन्त्रको विरूद्ध न्यायिक आवाज ओकल्छन् कान्छारामहरूले। जनजातिको छोरो झुट बोल्नु र चाकडी गर्नु भन्दा बरू आफै सेरिन तयार हुन्छन् । यही स्वाभिमान र इमानको प्रतीक बने, सांसद पूर्णबहादुर तामाङ उर्फ कान्छाराम तामाङ। जो शासकको नजरमा हराम बने होलान् तर, लाखौं जनताको नजरमा स्याबास आच्छाराम बने।

बुढानिलकण्ठ रिसाओस्, या खुशाओस्। त्यसको प्रवाह ,प्रभुत्व र प्रभाव बालै होईन। जनताको प्रश्न ठूलो कुरा हो। यही वस्तुवादी यथार्थमा उभिएर संसदमा नरम तरिकाले गरम सवाल उठाइदिए उनले ।

प्रश्न दुई उपप्रधानमन्त्रीप्रति देखिएपनि सारमा लोकतन्त्रको नाममा झाँगिएको लुटतन्त्र, परिवारवाद, नातावाद र फरियावाद विरूद्धको न्यायीक आवाज हो र थियोे । एउटा जिम्मेवार र जवाफदेही माननीयले संसदमा उभिएर यति बोल्न जरुरी नै छ र थियोे । यही अपरिहार्यताकै कारण उनले सदनको रोस्ट्रममा उभिएर जरुरी बोल्नैपर्ने कुरा बोले ।यद्यपि कतिपय शैली नमिलेको पनि होला। शैली प्राविधिक तथा गौण पक्ष हो।

उनी जे बोले, त्यो सत्य बोले। उनले शीर्ष नेता रिझाउन जानेनन्।किनकि उनी जनताका प्रतिनिधि थिए, अमूक नेताका प्यादा थिएनन् । वास्तवमा उनी खुला किताब रहिछन् । जसरी खुला किताबको पाना स्वतन्त्र हुन्छन् । त्यसैगरी उनले हरेक पाना झै देखाइदिए मुलुकको वास्तविकता ।

राज्यको बजेट कुनै नेता या मन्त्रीको दाइजो या वपौती होईन। यो त हरेक जनताको रगत र पसिनाको थोपाथोपाबाट संकलित थैली हो।यही थ‌‌लीको दुरुपयोग गर्ने नालायक मन्त्रीमाथि शब्द वाण हो, उनको जनताको तर्फबाट ।

उनी कुनै अमूक नेताले खल्तीबाट निकालेर दयाभावले दिएको माननीय पनि होईनन्। उनी त रामेछापका ४७ हजार बढी विवेकशील मतदाताले सार्वभौम मत दिएर संसदमा पठाएका असल पात्र हुन्। जुन कुरा , कि उनलाई थाहा छ, कि रामेछापका ती मतदातालाई ।

हो,उनको पृष्ठभूमि निर्माण क्षेत्र हो।उनी ठेक्कामा पनि संलग्न होलान्।त्यो उनको व्यक्तिगत स्वन्त्रताको पाटो भयो। उनी जस्तै अन्य माननीयका पनि तारे स्कुलदेखि अस्पताल अनि ठेक्का पट्टा नभएका त होईनन्। सबैको कतै न कतै संलग्नता छ। हाम्रो परिवेशमा यो गलत हुन सक्दैन । तर,संसदमा उनले राखेको विषयलाई लिएर विषयान्तर गरी कमजोर बनाउन खोज्नु अर्को नकाम हो। जहाँ सम्मकी यो ठेक्काको कुरा होईन।बरू राज्यको ढुकुटीमा ब्रम्हलुट गर्ने लोकतन्त्रका धमिरा विरू्दधको आवाज हो।

तर्क यस्तो पनि हुन सक्छ। कान्छारामले संसदीय दलको आन्तरिक बैठकमा यस्ता मुद्दा राख्नु पर्थ्यो। यो ठिकै तर्क पनि होला। यदि यो विषय पार्टीको बन्द कोठामा राखिएको भए यो कुरा त्यही दबाइन्थ्यो।तर, उनले निकै निर्भीकतकासाथ संसदमा राखे ,लाखौं नागरिकको मन जिते ,भ्रष्टहरूको महलमा भूकम्प गयो।सेटिङमा राष्ट्र दोहन गर्नेहरूको निद हराम भयो ।

जे सुनाउनै पर्ने थियोे उनले त्यही जनताको कुरा सुनाए । जनप्रतिनिधिको हिसाबले आफ्नो कुरा पनि मिसाए। उनको पनि कमजोरीका पक्ष होलान्। हरेक व्यक्तिको हुन्छन् नै कमजोरी पक्ष पनि । तर, उनले कमजोरहरूको न्यायिक पक्षमा आवाज बोले। उनी अहिले मात्रै बोलेका होईनन्ल। कुलमानको अन्यायपूर्ण बरखास्तीको विरू्द्धमा पनि बोलेका थिए। त्यही बोलीकै कारण उनले राज्यमन्त्री पनि गुमाए ।

समग्रमा उनी लाखौं जनतामाथि अन्याय गर्नेका विरू्द्धमा बोले। लाखौंले प्रत्यक्ष सुन्ने गरि सुनाए ।उनलाई बिम्ब र बान्की मिलाउन न आयो होला। प्रस्तुतिमा समस्या पनि थियोे होला।तर, प्रश्नमा कतै समस्या थिएन।उनको यो न्यायपूर्ण आवाजलाई गलत व्याख्या गर्दै कसैले डर्कान पनि सक्लान् । त्यस्ता अफवाहको कोशीसहरू नकाम हुन्छन् ।उनको यो हिम्मतले कतिका कर्तुतको धोती पनि खुस्कियो होला।आफूलाई बौद्धिक र शालीन स्वघोषितलाई छट्पटी पनि भयो होला। यही प्रतिक्रिया स्वरूप उनलाई ठेक्काको विषयमा जोडेको पनि हुन सक्छन् ।जुन
कुरा आम जनताले पत्याउने छैनन् ।

जस्तोसुकै तर्क र कुतर्क गरिए पनि माननीय कान्छाराम लोकतन्त्रका हिमायती हुन्। उनी लोकको आवाज मात्रै बोलेनन्। दलीय सिण्डिकेटले थिचिएका जनप्रतिनिधिको आवाज पनि बोले।दलभित्र एस म्यान होईन, विचारवान भन्ने तथ्यलाई राम्रोसँग उजागर गरे।जनता अजय शक्ति हो।जनताको पक्षमा बोल्ने जनप्रतिनिधि जनताको असली सारथि हो भन्ने सिद्ध गराए।

हिजोको दिनमा रामेछापका जनताको मात्रै नेता थिए, कसैको राजनीतिक र पारिवारिक विरासत जनताको बजेटमा गरिएको ब्रम्हलुटको विरूद्धमा न्यायिक आवाज बोलेर सिंगो देशले चिन्ने र महशुस गर्ने नेताको श्रेणीमा पुगे। माननीय कान्छाराम देश र जनताको आच्छाराम नेता बने।

उनको यो प्रश्नलाई कमजोरी होईन,सच्चिने मौका भएको नेतृत्वले बेलैमा बुझोस्।यदि त्यसो नगरे देशभरबाट हजारौं कान्छारामहरू जन्मिनेछन् र तिम्रो यो लुटको राज्यमा न्यायिक आवाजको बम्बार्ड गर्नेछन् ।चेतना भया।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ५१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित