जेन–जी आन्दोलनपछि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा चौतर्फी उठेपनि ओलीले फेरि अध्यक्ष बन्ने लालसा देखाएका छन् । पार्टी केन्द्रीय सचिवालयको आइतबारको बैठकमा अध्यक्ष केपी ओलीले बहुमत पदाधिकारीहरुको प्रस्तावलाई अस्वीकार गर्दै हरहालतमा पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक्ने र महाधिवेशनबाट पुनः चुनिएर फेरिअर्को एक कार्यकाल अध्यक्ष बन्ने लालसा देखाएका हुन्
बहुसंख्यक पदाधिकारीले नीति, नेतृत्व र कार्यशैलीको पुनर्गठनमार्फत नेतृत्व हस्तान्तरण गरेर जेन–जी आन्दोलनको भावना सम्बोधन गर्नुपर्ने विचार राखेका थिए । अहिल्यै अध्यक्षबाट नहट्ने बरु मंसिर अन्तिम साता ‘अर्ली’ महाधिवेशन गरेर फेरि नेतृत्वमा फर्किने उनको दाउँ हो । यही २९ असोजमा डाकिएको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको मिति र स्थान तय गर्ने गरी सचिवालय बैठकले प्रस्ताव लैजाने भएको छ।
एमालेको दशौं महाधिवेशन २०७८ मंसिर महिना ९ गते चितनवमा सम्पन्न भएको थियो । विधानतः पाँच वर्षभित्र राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था रहे पनि ओली जेन–जी आन्दोलनपछिको विकसित परिस्थितिमा उठेको पुनर्गठन र हस्तान्तरणको मुद्दा सम्बोधन हुने गरी अर्ली महाधिवेशन गराउने पक्षमा पुगेका हुन् । यसअघि भदौ २२ मा सकिएको एमालेको विधान महाधिवेशनले उमेरहद र कार्यकारी पदको कार्यकालको सीमा हटाएर ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खुला गरेको थियो ।
एमालेमा एउटा समूहले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउने गरी प्रयास गरेको छ । तर, एमालेले ओलीको चाहनाअनुसार भण्डारीको सदस्यता नवीकरणलाई वैधता दिएको छैन । पार्टीले सदस्यता नवीकरणलाई औपचारिकता नदिए पनि भण्डारीले एमालेको राजनीतिक गतिविधि गर्दै आएकी छिन् । उनले यसका लागि भिन्दै बानेश्वरमा सम्पर्क कार्यालयसमेत खोलेकी छिन् ।
आइतबारको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल र लेखराज भट्टले धारणा राखेका थिए । विष्टले पार्टीलाई सही ढंगले अगाडि बढाउन ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । भट्टराईले ओलीले मुलुकका लागि थप योगदान गर्न सक्ने ठाउँ नरहेकाले स्वेच्छिक अवकाश लिएर राष्ट्रनायकका रूपमा सम्मानित भएर बस्नु नै हितकर हुने बताएका थिए । दुई नेताबाहेक अरूले ओलीको बिदाइबारे ठोस धारणा राखेनन् ।
बैठकमा ओलीले आफूलाई गलहत्याउन खोजेको भन्दै नेताहरूप्रति तीव्र आक्रोश व्यक्त गरे । त्यसरी आक्रोश व्यक्त गर्नुअघि ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण कुनै हालतमा नगर्ने अडान मात्र लिएनन्, पृष्ठभूमि बाँधेर लामै व्याख्या गरेका थिए । ओलीको अभिव्यक्तिमा वैधानिक फोरमबाट पुनः नेतृत्वमा आउने महत्वाकांक्षा देखिएको छ ।
उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार बैठकमा भण्डारीलाई ल्याउने गरी सदस्यता नवीकरणको प्रसंग जोडदार उठाएका थिए । यसले आन्तरिक समीकरणमै उथलपुथलको सम्भावना भएपछि ओलीले शनिबार पौडेललाई गुन्डुमै बोलाएर लामो कुराकानी समेत गरेका थिए ।ओलीले पौडेललाई भण्डारीको पक्षमा धेरै चलखेल नगर्न चेतावनी नै दिएको बताइएको छ। आइतबार बैठकमा छविलाल विश्वकर्मा र पद्मा अर्यालले पनि भण्डारीलाई सदस्यता दिनुपर्ने धारणा राखेका थिए । अर्यालले सर्तसहित सदस्यता दिने, तर कुनै पनि पदमा नल्याउने गरी निर्णय गर्दा उपयुक्त हुने आशयको धारणा राखेकी थिइन् । एमालेमा बहुमत पदाधिकारी नेतृत्व हस्तान्तरणको पक्षमा उभिएपछि ओलीमाथि दबाब छ ।
हिजो प्रधानमन्त्री भएको बेला दुई दुइ पटक संसद विघटन गरेका थिए, ओलीले । अहिले आफ्नै अहंकारका कारण सत्ताच्यूत भएपछि संसद् पुनस्र्थापनाको रडाको मच्चाएका छन्। एमालेको चाहना भन्दा पनि ओलीको चाहना अनुसार एमाले संसद पुर्नस्थापनाको लागि एमाले अदालत र आन्दोलनमा जाने भएको हो । ओलीको सत्ता अहंकार विरुद्ध जेनजीले नयाँ बानेश्वरमा बगाएको रगत आलै छ।
तैपनि एमालेका ओलीजनहरु सर्बाेच्च र सडकमा जाने भएका हुन्। ओलीकै जोडबलमा एमाले सचिवालय बैठकले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा नगई संसद् पुनर्स्थापनाको मुद्दा लिएर कानुनी र राजनीतिक आन्दोलनमा जाने निर्णय लिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संसद् पुनस्र्थापना गर्न सर्वोच्च अदालत जाने र सँगसँगै जनपरिचालनको कार्यक्रमसमेत प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
ओलीमाथि नरसंहारको गम्भीर आरोप छ। १९ जना युवाको हत्या गरेको आरोप बोकेर उनी गुण्डुबाट सरकारलाई चुनौति दिइरहेका छन्। गएको दश वर्षमा ओली करिब ५६ महिना सरकारको नेतृत्व गरे । तर, देशमा चरम भ्रष्टाचार, बेथिति र विकृतिले मुलुक छोपियो । दलतन्त्र, ओलीतन्त्र, जहानीयाँतन्त्र र मनपरितन्त्रको विरुद्धमा गएको भदौ २३ गते जेनजी विद्रोह भएको थियो । नरसंहारको आरोप खेपेका ओली पदबाट राजीनामा दिएर सरकारलाई अनुसन्धानमा सघाउनुको साटौ पाखुरा सुर्काएर मुठभेड गर्न तयार भएका छन्। उनीमा अहंकार, दम्भ र प्रतिशोधका साथै पदको लोभ लालसा उस्तै छ, भन्ने कुरा भर्खरै सम्पन्न एमालेको पदाधिकारी बैठकबाट प्रष्टै भएन र ?








