२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

कहाँ चुकिन् हाम्री प्रधानमन्त्री सुशीला कार्की ?


३ माघ २०८२, शुक्रबार  


जेनजी विद्रोहरुले भ्रष्टाचाररहित समाजको परिकल्पना मात्रै गरेन । राज्यको कार्यकारी प्रमुखमा पहिलो पटक महिलालाई सम्हाल्ने ऐतिहासिक जिम्मेवारी दियो । युवाहरुको रगतको फाल्सामा बनेको जेनजी सरकारकी अन्तरिम प्रधानमन्त्री भईन्, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की । यो नेपालको इतिहासमा एक सुखद् क्षण हो । सधै सत्तामा भालेवादको वर्चश्व भएको बेलामा उनी संकटको मोचन गर्नेगरी नागरिक सरकारकी प्रमुख बनिन् । भ्रष्टाचारी र नरसंहारीलाई दण्डित गर्नुको साथै प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यभार, कर्तव्य, जिम्मेवारी र दायित्व उनको हो । संसार भरका प्रजातान्त्रिक शासन व्यवस्थामा महिलाहरु यो तहमा पुगेको विरलै पाइन्छन् ।


सन २०१७देखि २०२३ सम्म न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी थिईन्, ज्यासिन्डा आर्डर्न । उनको नेतृत्वलाई संसारले नमुनाको रुपमा लिन्छ र हेर्छ । कोरोना महाभारीको विकराल अवस्थामा पनि उनी एक सफल प्रधानमन्त्री बनिन् । उनको सरकारको पहलकदमले महामारीमा मानवीय क्षति निकै कम भयो, न्यूजिल्याण्डमा देशभित्रको आतंकवादलाई नियन्त्रणमा लिनेदेखि जनताको स्वास्थ्य र सामाजिक क्षेत्रमा उनले हासिल गरेको पहलकदमीले दुनियाँको ध्यान खिच्यो । उनको उदेश्य थियो, देशमा आर्थिक वृद्धि भएर मात्रै हुदैन । जनताको स्वास्थ्य र सामाजिक सुरक्षा महत्वपूर्ण कुरा हुन्। त्यसका लागि उनले मानवीय कल्याणमा आधारित बजेट निर्माण गरेर मुलुकमा सुधारका कदम चालिन् र सफल पनि भईन् ।


विश्वमा एक उदारहरणीय कार्यकाली महिला राष्ट्रपति हुन्, ताइवानकी राष्ट्रपति साई इङ–वेन । बेनले सन २०१६देखि २०२४ सम्म शासन गरिन् । उनको शासन कालमा व्यापक प्रशासनिक सुधार भयो । महामारीसंग जुध्न उनले देखाएको तत्परता आधुनिक दुनियाँमा एक उदाहरण हो । सार्वजनिक सेवामा पारदर्शीता र जवाफदेहित उनका अनुकरणीय कार्य हुन् । डिजिटलको दुनियाँको माध्यमबाट राज्यको सेवा प्रवाहलाई विश्वसनीय र पारदर्शी बनाउन सकिन्। आर्थिक महाशक्ति राष्ट्र चीनसंगको लामो विवाद र उल्झन झेलिरहेको ताइवानकी राष्ट्रपति बेनले सूचना प्रविधिको उद्योग मार्फत देशलाई आर्थिकरुपले सम्पन्न र सुरक्षामा प्रत्याभूत गर्न सफल भईन् ।


त्यस्तै अर्र्की नमुना इतिहास बनाएकी फिनल्याण्डकी प्रधानमन्त्री हुन्, साना मारिन। जसले सन २०१९ देखि २०२३ सम्म सरकार सन्चालन गरिन् । ३४ वर्षकै उमेरमा प्रधानमन्त्री बनेकी मारिले नीति–केन्द्रित शासन गरिन् । कोरोना महामारीमा सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै अर्थतन्त्र सन्तुलनमा राखिन् । फिनल्याण्डको नेटो सदस्यता प्रक्रियामा निर्णायक भूमिका निर्वाह गरिन्, जसले राष्ट्रिय सुरक्षा संरचना नै परिवर्तन ग¥यो र उनले शिक्षा, श्रम अधिकार र लैङ्गिक समानतामा निरन्तर सुधार गरिन् ।


हाम्रो देशको महिला प्रधानमन्त्रीको विषयमा पनि हेरौं ।
गएको भदौ २७ गते पहिलो पटक पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री भईन् । उनी प्रधानमन्त्री भएको चार महिना बढी भो । सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा आगो ओकल्ने प्रधानमन्त्री सुशीलाले अहिलेसम्म आफ्नो सम्पत्ति समेत सार्वजनिक गरिनन् । देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्नेदेखि मुलुकको अर्थतन्त्र सुधार, उत्पादन र रोजगारीका विषय एकादेशको कथा जस्तै छन् । अडानकी पर्याय बनेकी,कानुन र संविधान बुझेकी पूर्व प्रधान्यायाधिशको नेतृत्वको सरकारले मुलुकमा सुशासन,शान्ति र विकासमा एउटा विन्दु पनि थप्न सकेको देखिन्न ।यद्यपि यो अन्तरिम सरकार हो ।


तर, जनतामा सुशासन र कानुनी राज्यको प्रत्याभूति दिन सकिन्थ्यो । दुर्भाग्य बा’हरुले ध्वस्त पारेको शासन व्यवस्थामा आमाले पनि उही विडो समाईन् । युवतीहरुको डिम्ब बेचेर अवैध धन्दा गर्दै आएकी व्यक्तिलाई महान्यायाधिवक्तामा नियुक्त गरिन् , महान्याधिवक्ता सविता भण्डारीमाथि गम्भीर आरोप छ । यससंगै पछिल्लो समय विगतका महान्यायाधिवक्ताहरुले जसरी मुद्दा फिर्ता लिन्थे । त्यही पथमा हिडिन्, महान्यायाधिवक्ता सविता भण्डारी पनि । संसारका महिला कार्यकारी प्रमुखहरुले सुनौला इतिहास रचेको सफल कहानी हामीले सुनिरहँदा र हेरिरहँदा हाम्रो देशकी कार्यकारी प्रधानमन्त्री सुशीला कार्की र उनले नियुक्त गरेकी महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतले अब लाज पनि लजाएन र ?०००००

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार  ४ : ५५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित