२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

डुब्दै एक दर्जन बढी बैंक तथा वित्तिय संस्था, राष्ट्र बैंकबाट उच्च निगरानी !


४ माघ २०८१, शुक्रबार  


मुलुकको अर्थतन्त्र शिथिल छ, अर्थतन्त्रलाई चलायमान बनाउने बैक तथा वित्तिय संस्थाहरु पनि दिनानुदिन संकटमा पर्दै गएका छन्। बैकिङ सुशासनमा कमजोर भएपछि उनीहरु डुब्ने अवस्थामा पुगेका छन्। व्यवस्थापकीय अक्षमताकै कारण कर्णाली विकास बैकको पथमा पुग्दै गरेको पाइएको छ।

यसरी बैक तथा वित्तिय संस्थाहरु चरम संकटमा पुगेछि राष्ट्र बैकले हस्तक्षेप गर्न अवस्था बनेको हो । नेपाल राष्ट्र बैंकले एक दर्जन बैंक तथा वित्तीय संस्थालाई उच्च निगरानीमा राखेको छ । ती संस्थाहरुको वित्तीय अवस्था दिन प्रतिदिन झनै कमजोर र खराब बन्दै गएपछि राष्ट्र बैंकले उच्च निगरानीमा राखेको हो । राष्ट्र बैंकको निगरानीमा रहेका अधिकांश संस्थाहरुमा फाइनान्स कम्पनी र विकास बैंक रहेका छन् ।

राष्ट्र बैंकको अध्ययनले पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, समृद्धि फाइनान्स तथा सप्तकोशी डेभलपमेन्ट बैंकको अवस्था निकै विकराल देखिएको छ । तीमध्ये केही संस्थालाई राष्ट्र बैंकले नियन्त्रणमा लिने विषयमा छलफल समेत थालिसकेको छ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई गएको पुस १० समस्याग्रस्त घोषणा गर्दै आफ्नो नियन्त्रणमा लिएपछि अहिले अन्य कमजोर संस्थाहरुलाई पनि नियन्त्रणमा लिने तयारी गरेको हो ।

कर्णाली डेभलपमेन्ट बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको भन्दै राष्ट्र बैंकले गएको पुस १० गते समस्याग्रस्त घोषणा गरेको थियो । बैंकको निष्कृय कर्जा ४०.८५ प्रतिशत तथा प्राथमिक पुँजीकोष अनुपात २५.८७ प्रतिशतले ऋणात्मक रहेको छ ।

यसअघि कर्णाली डेभलपमेन्ट बैंकले खराब कर्जा अनुपात ७.२७ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १०.०५ प्रतिशत देखाएकोमा राष्ट्र बैंकले खोजबिन गर्दा खराब कर्जा ४०.८५ र पुँजीकोष अनुपात ऋणात्मक भेटाएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही थालेको थियो ।

शीघ्र सुधारात्मक कारबाही थालेको १ महिनामा बैंकले निक्षेपकर्ताको पैसा फिर्ता गर्ने आधार नभेटेपछि समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको थियो । केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए अर्थात डिमाण्ड डिपोजिट एकाउन्ट))गर्दैछ ।

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था बैंकले प्रकाशित गरेको विवरणभन्दा अवस्था निकै खराब भएको पाइएपछि राष्ट्र बैंकले अरु बैंक तथा वित्तीय संस्थाको अवस्थाबारे पनि सूक्ष्मरुपमा अध्ययन गरेको थियो । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजसम्मको तथ्यांक अनुसार झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात दोहोरो अंकमा उक्लिएको छ ।

राष्ट्र बैंकका अनुसार २ विकास बैंक र १ फाइनान्स कम्पनीको खराब कर्जा अनुपात दोहोरो अंक नजिक देखिएको छ भने ४ विकास बैंक र ६ वटा फाइनान्स कम्पनीको दोहोरो अंक माथि रहेको छ । २ संस्थाको खराब कर्जा अनुपात ४० प्रतिशतमाथि उक्लिएको छ ।

केन्द्रीय बैंकको अध्ययनका अनुसार नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै ४२.५३ प्रतिशत देखिएको छ । यस्तै, पोखरा फाइनान्सको ४१.०७, जानकारी फाइनान्स ३८.४४,समृद्धि फाइनान्सको २३.४४ रहेको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक १४.७७, गुहेश्वरी फाइनान्स १३.५६ तथा गोर्खाज फाइनान्सको खराब कर्जा १३.४५ प्रतिशत रहेको छ ।

एक्सल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र नेपाल फाइनान्सको खराब कर्जा पनि दोहोरो अंक माथि छ । साल्पा विकास बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र ज्योति विकास बैंकको खराब कर्जा पनि ५ प्रतिशत माथि रहेको छ ।

बैंक वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा धेरै भएपछि लाभांश वितरणलगायतका सुविधा रोकिन्छ । राष्ट्र बैंकको अध्ययनमा खराब कर्जा उच्च पाइएका नारायणी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, समृद्धि फाइनान्स तथा सप्तकोशी डेभलपमेन्ट बैंकको अवस्था निकै विकराल देखिएको छ ।

तोकिएको मापदण्डभन्दा खराब कर्जा अनुपात धेरै भइसक्दा पनि केन्द्रीय बैंकले ती संस्था सुधारका लागि उचित कदम नचालेको भनेर आलोचना हुन थालेपछि पछिल्लो समय केन्द्रीय बैंकले निगरानी बढाएको हो ।

साथै, उच्च खराब कर्जा अधिक हुने केही संस्थाहरुलाई नियन्त्रणमा लिने बारेमा समेत छलफल थालेको छ । राष्ट्र बैंक स्रोतका अनुसार पोखरा फाइनान्सलाई १५ दिनको समय दिएर किन शीघ्र सुधारात्मक कारबाही नगर्ने ? भन्ने व्यहोराको पत्र पठाइएको छ ।

यस्तो छ उच्च निगरानीमा रहेका विकास बैंकहरुको वित्तीय अवस्था:

नारायणी विकास बैक

यसअघि समस्याग्रस्त घोषणा भएर समस्याग्रस्त सूचीबाट २०७७ साउनमा हटेको नारायणी डेभलपेमन्ट बैंक निरन्तर राष्ट्र बैंकको उच्च निगरानीमा रहेको छ । बैंकमा नयाँ व्यवस्थापन आएपछि राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको थियो । चालु आवको पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा ४२.५३ प्रतिशत तथा प्राथमिक पुँजी कोष अनुपात १.३५ प्रतिशत मात्र छ ।

बैंकले ५९ करोड ९२ लाख निक्षेप संकलन गरेर ४० करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ६८.१३ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ४४.७५ प्रतिशत तथा वैधानिक तरलता अनुपात ४४.४६ प्रतिशत रहेको छ । यही माघ ३ गते बिहीबार नारायणी डेभलपमेण्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ । जसको सेयरमूल्य बिहीबार ४५ रुपैयाँले बढेको हो ।

सप्तकोशी डेभलपमेन्ट बैक

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सप्तकोशी डेभलमेन्ट बैंकको खराब कर्जा १४.७७ प्रतिशत तथा प्राथमिक पुँजी कोष अनुपात ७.७८ प्रतिशत छ । बैंकले ७ अर्ब १२ करोड निक्षेप संकलन गरेर ५ अर्ब ६३ करोड कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७.५२ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ३०.६९ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३४.९८ प्रतिशत रहेको छ । माघ ३ गते बिहीबार सप्तकोशी डेभलमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ । जसको सेयर मूल्य २७ रुपैयाँ ८० पैसाले घटेको छ ।

एक्सेल डेभलपमेन्ट बैक

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा ११.७३ प्रतिशत तथा प्राथमिक पुँजीकोष अनुपात ९.९९ प्रतिशत छ । बैंकले यस अवधिमा १४ अर्ब ३३ करोड निक्षेप संकलन गरेर ११ अर्ब ५७ करोड कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८२.०७ प्रतिशत रहेको छ । बैंकको खुद तरलता २९.०१ प्रतिशत तथा वैधानिक तरलता अनुपात २६.१४ प्रतिशत रहेको छ । माघ ३ गते बिहीबार एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य ५ सय ८७ रुपैयाँ रहेको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १२ रुपैयाँँ ६० पैसा घटेको छ ।

सिन्धु विकास बैक

गएको असोजसम्ममा सिन्धु विकास बैंकको खराब कर्जा अनुपात ११.२९ प्रतिशत तथा प्राथमिक पुँजी कोष ५.५३ प्रतिशत मात्र रहेको छ । बैंकले सो अवधिसम्ममा ५ अर्ब ६५ करोड निक्षेप संकलन गरेर ४ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.७६ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ३२.८१ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३४।७२ प्रतिशत रहेको छ । माघ ३ गते बिहीबार सिन्धु विकास बैंकको प्रतिकित्ता सेयर मूल्य १ हजार ९२ रुपैयाँ कायम भएको छ । जसको मूल्य ७ रुपैयाँँ १० पैसाले बढेको हो ।

साल्पा विकास बैक

यस्तै, एक जिल्ले विकास बैंक साल्पा विकास बैंकको खराब कर्जाको अंक ९.४३ प्रतिशत पुगेको छ । असोज मसान्तसम्म बैंकको प्राथमिक पुँजी कोष अनुपात २९.४३ प्रतिशत रहेको छ । सो अवधिमा बैंकले १ अर्ब ११ करोड निक्षेप संकलन गरी ८७ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७५.९६ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ३७.०४ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३८.८१ प्रतिशत रहेको छ । यो बैंक नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत छैन ।

ज्योति विकास बैंक

यस्तै, उच्च खराब कर्जा हुने बैंकको सूचीमा ज्योति विकास बैंक पनि रहेको छ । बैंकको खराब कर्जा अनुपात पनि तोकिएको भन्दा माथि नै रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ज्योति विकास बैंकको खराब कर्जा अनुपात ५.५९ प्रतिशत तथा प्राथमिक पुँजी कोष अनुपात ८.५ प्रतिशत छ । बैंकले यस अवधिमा ६१ अर्ब ८ करोड निक्षेप संकलन गरेर ११ अर्ब ५ करोड कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८३.८२ प्रतिशत रहेको छ । बैंकको खुद तरलता २३.६९ प्रतिशत तथा वैधानिक तरलता अनुपात २३.०८ प्रतिशत रहेको छ । माघ ३ गते बिहीबार ज्योति विकास बैंकको प्रतिकित्ता सेयर मूल्य ३ सय ४९ रुपैयाँ कायम भएको छ । यसको मूल्य ६ रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकका अनुसार राष्ट्रियस्तरका विकास बैंकले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार ८.५ प्रतिशत पुँजी कोष कायम गर्नुपर्छ । अन्य विकास बैंकले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २००७ अनुसार पुँजीकोष अनुपात ६ प्रतिशत कायम गर्नुपर्छ । माथि उल्लेखित विकास बैंकहरुमा ज्योति विकास बैंक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । त्यस्तै, पुँजी कोष अनुपात क्षेत्रीयस्तरका विकास बैंकको ८ प्रतिशत र राष्ट्रियस्तरका विकास बैंकको ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । पुँजी कोष अनुपातसम्बन्धी निर्देशिका पालना नगर्ने बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्ने व्यवस्था छ ।

उच्च निगरानीमा रहेका फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था

पोखरा फाइनान्स

नारायणी डेभलपमेण्ट बैंकलाई जस्तै जानकी फाइनान्स र पोखरा फाइनान्सलाई केन्द्रीय बैंकले निरन्तर निगरानीमा राखिरहेको जनाएको छ । पोखरा फाइनान्सलाई राष्ट्र बैंकले सुधारात्मक कारबाहीको चेतावनीसमेत दिएको छ । चालु आवको असोजसम्ममा पोखरा फाइनान्सको खराब कर्जा अनुपात ४१.०७ प्रतिशत रहेको छ । जसको प्राथमिक पुँजी कोष अनुपात ८.७५ प्रतिशत नकारात्मक रहेको छ ।

फाइनान्सले १२ अर्ब ४१ करोड निक्षेप संकलन गरेर ८ अर्ब ३७ करोड कर्जा लगानी गरेको छ । यसको कर्जा निक्षेप अनुपात ६८.३८ प्रतिशत रहेको छ । जसको खुद तरलता ४०.०२ प्रतिशत तथा वैधानिक तरलता अनुपात २८.९२ प्रतिशत रहेको छ । माघ ३ गते बिहीबार पोखरा फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ४ सय ३३ रुपैयाँ कायम भएको छ । जसको सेयर भाउ प्रतिकित्ता ४८ रुपैयाँ १० पैसाले घटेको हो ।

यसले सार्वजनिक गरेको वित्तीय विवरणभन्दा राष्ट्र बैंकको अध्ययनले कहालीलाग्दो तस्वीर देखाएपछि फाइनान्समाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही थालेको छ । पोखरा फाइनान्सको अवस्था निक्कै बिग्रेको पाइएपछि कारबाही अगाडि बढाएको राष्ट्र बैंकले बताएको छ।

जानकी फाइनान्स

केन्द्रीय बैंकका अनुसार चालु आवको पहिलो त्रैमासमा जानकी फाइनान्सको खराब कर्जा ३८.४४ प्रतिशत छ । यस अवधिमा फाइनान्सको प्राथमिक पुँजी कोष अनुपात १.७६ प्रतिशत छ । फाइनान्सले गत असोजसम्म ४ अर्ब ४४ करोड निक्षेप संकलन गरी ३ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको कर्जा निक्षेप अनुपात ७०.८७ प्रतिशत रहेको छ । जसको खुद तरलता ४८.५५ प्रतिशत तथा वैधानिक तरलता अनुपात ४९.८ प्रतिशत रहेको छ । माघ ३ बिहीबार फाइनान्सको प्रतिकित्ता सेयर ५६० रुपैयाँमा अन्तिम पटक किनबेच भएको छ । जसको मूल्य प्रतिकित्ता ५८ रुपैयाँले घटेको छ ।

समृद्धि फाइनान्स

समृद्धि फाइनान्सको वित्तीय अवस्था पनि कमजोर पाइएको छ ।चालु आवको असोजसम्ममा फाइनान्सको खराब कर्जा कुल कर्जाको २३.४४ प्रतिशत छ, जसको प्राथमिक पुँजी कोष अनुपात ११.५१ प्रतिशत रहेको छ । फाइनान्सले गएको असोज महिनासम्म २ अर्ब ६१ करोड निक्षेप संकलन गरी १ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । यस फाइनान्सकोे कर्जा निक्षेप अनुपात भने ७१.५५ प्रतिशत रहेको छ । जसको खुद तरलता ४२.०७ प्रतिशत तथा वैधानिक तरलता अनुपात २८.४६ प्रतिशत रहेको र बिहीबार यस फाइनान्सको प्रतिकित्ता सेयर ५८८ रुपैयाँ छ । यसको सेयरमूल्य ४५ रुपैयाँले घटेको हो ।

गुहेश्वरी मर्चेन्ट बैकिङ तथा फाइनान्स

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खराब कर्जा पनि उच्च रहेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा फाइनान्सको खराब कर्जा कुल कर्जाको १३.५६ प्रतिशत छ, जसको प्राथमिक पुँजी कोष अनुपात १५.२१ प्रतिशत रहेको छ । फाइनान्सले गत असोजसम्म ८ अर्ब ६३ करोड निक्षेप संकलन गरी ५ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको कर्जा निक्षेप अनुपात ६६.९६ प्रतिशत रहेको छ । जसको खुद तरलता ४१.४३ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३२.८२ प्रतिशत रहेको छ । बिहीबार यो फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ४८० रुपैयाँ छ । यसको भाउ ३९ रुपैयाँले घटेको हो ।

गोर्खाज फाइनान्स

गोर्खा डेभलपमेन्ट बैंक २०६७ चैतमा समस्याग्रस्त घोषणा भएको थियो । तल्कालीन गोरखा डेभलपमेन्ट बैंक काठमाडौं फाइनान्ससँग मर्जमा गई घटुवा भएर हाल गोरखा फाइनान्सको रुपमा संचालनमा रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गोर्खाज फाइनान्सको खराब कर्जा १३.४५ प्रतिशत छ । जसको प्राथमिक पुँजी कोष अनुपात १०.८४ प्रतिशत छ । फाइनान्सले गत असोजसम्म ९ अर्ब ७८ करोड निक्षेप संकलन गरी ७ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसको कर्जा निक्षेप अनुपात ७९.०७ प्रतिशत रहेको छ । जसको खुद तरलता ३२.२७ प्रतिशत तथा वैधानिक तरलता अनुपात २०.९१ प्रतिशत रहेको छ । बिहीबार यो फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ६२० रुपैयाँ छ । जसको मूल्य १७ रुपैयाँ ६० पैसाले घटेको हो ।

नेपाल फाइनान्स

२०७१ चैतमा समस्याग्रस्त घोषणा भएको ललितपुर फाइनान्स २०७४ मंसिरमा समस्याग्रस्तबाट मुक्त भएपछि नेपाल फाइनान्समा गाभिएको हो । केही समय अघि समस्याग्रस्तबाट फुकुवा भएको नेपाल फाइनान्सको खराब कर्जा १०.२६ प्रतिशत छ । यस अवधिमा फाइनान्सको प्राथमिक पुँजी कोष अनुपात ३१.३५ प्रतिशत छ । फाइनान्सले गत असोजसम्म ३ अर्ब ५ करोड निक्षेप संकलन गरी २ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सकोे कर्जा निक्षेप अनुपात ७९.९८ प्रतिशत रहेको छ । जसको खुद तरलता ४९.३७ प्रतिशत तथा वैधानिक तरलता अनुपात २१.२७ प्रतिशत रहेको छ । माघ ३ गते बिहीबार यो फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ८०३ रुपैयाँ छ । यसको सेयर मूल्य ४८ रुपैयाँले घटेको हो ।

सेन्ट्रल फाइनान्स

यसैगरी सेन्ट्रल फाइनान्सको पनि खराब कर्जा ८.७१ प्रतिशत रहेको छ । जसको प्राथमिक पुँजी कोष अनुपात १५.५७ प्रतिशत छ । फाइनान्सले गएको असोज मसान्तसम्म ७ अर्ब ७० करोड निक्षेप संकलन गरी ४ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सकोे कर्जा निक्षेप अनुपात ६४.३६ प्रतिशत रहेको छ । जसको खुद तरलता ४४.५ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३५.९८ प्रतिशत रहेको छ । बिहीबार यो फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ५५८ रुपैयाँ छ । जसको सेयर मूल्य ३१ रुपैयाँले घटेको पाइएको छ।

रिलायन्स फाइनान्स

यसै अवधिमा रिलायन्स फाइनान्सको पनि खराब कर्जा अनुपात उच्च हुनेको सूचीमा पाइएको छ । यस फाइनान्सको खराब कर्जा अनुपात ८.५८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । रिलायन्सको प्राथमिक पुँजी कोष अनुपात १०.१८ प्रतिशत छ । फाइनान्सले गत असोजसम्म ८ अर्ब ६५ करोड निक्षेप संकलन गरी ६ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सकोे कर्जा निक्षेप अनुपात ७७.६२ प्रतिशत रहेको छ । जसको खुद तरलता ३१.८४ प्रतिशत तथा वैधानिक तरलता अनुपात २७.५ प्रतिशत रहेको छ । माघ ३ गते बिहीबार यो फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ५२५ रुपैयाँ छ । जसको भाउ ४३ रुपैयाँले घटेको हो ।

यो अवधिसम्ममा केन्द्रीय बैंकले नेपाल सेयर मार्केट र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेर सुधारका लागि आफ्नै व्यवस्थापनमा सञ्चालन गरिरहेको छ । नेपाल सेयर मार्केटको खराब कर्जा ९८.५२ प्रतिशत तथा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खराब कर्जा शतप्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । नेपाल सेयर मार्केटको प्राथमिक पूँजी कोष अनुपात १७.५३ प्रतिशत तथा क्यापिटल मर्चेन्टको प्राथमिक पुँँजीकोष अनुपात २३.१५ प्रतिशत रहेको छ ।

केन्द्रीय बैंकका अनुसार फाइनान्स कम्पनीले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २००७ अनुसार पुँजीकोष अनुपात ६ प्रतिशत तथा पुँजी कोष अनुपात ८ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था रहेको छ । वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकको प्राथमिक पुँजी कोष ८.५ प्रतिशत तथा पुँजी कोष अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

न्यूनतम पुँजी कोष अनुपात सीमाको ७५ प्रतिशतभन्दा धेरैले कम भएमा संस्थालाई समस्याग्रस्त घोषणा गरी कारबाही गर्ने व्यवस्था छ । समस्याग्रस्त घोषणा गरेको ६ महिनासम्म पनि तोकिएको न्यूनतम पुँजी कोष अनुपात कायम नभएमा बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिसन प्रकृया सुरु गर्ने वा लाइन्सेन्स रद्द गर्ने वा खारेजीको प्रकृया सुरु गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ८ : ५६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित