९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

नागढुंगा सुरुङमार्गमा सवारी साधनबाट वार्षिक ३५ करोड उठाउने सरकारी लक्ष्य


३० बैशाख २०८२, मंगलबार  


बहुचर्चित राष्ट्रिय गौरवको आयोजना नागढुंगा – सिस्नेखोला सुरुङमार्गबाट सरकारले वार्षिक ३५ करोड उठाउन लक्ष्य राखेको छ।

सुरूङ मार्ग यही आउँदो कार्तिक महिनादेखि सवारी सञ्चालन गर्ने गरि सरकारले सवारी साधनको शुल्क निर्धारण प्रक्रिया अघि बढाएको छ । सडक विभागले सुरुङ सञ्चालन खर्चअनुसार शुल्क प्रस्ताव गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको थियो ।

मन्त्रालयले शुल्कको प्रस्ताव सडक बोर्ड नेपालमा पठाएको छ । बोर्डले शुल्क स्वीकृतिका लागि बिहीबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी गरेको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि शुल्क निर्धारण हुने सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए । उनी भन्छन् ‘सडक विभागले तय गरेको शुल्कबारे भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएको थियो,’ विभागले तोकेको शुल्कलाई नै स्वीकृत गराउन बिहीबारसम्म मन्त्रिपरिषद् पठाइसक्छौं ।’ सुरुमा कायम भएको शुल्क दुई वर्षसम्म परिवर्तन नहुने गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराइनेछ।’

मन्त्रालयले बोर्डमा पठाएको शुल्क सवारीअनुसार फरक–फरक छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रो बसलाई उपत्यका भित्रिँदा ७५ र बाहिरिँदा ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने आयोजनाको अनुमान छ ।

मिनी बस, मिनी ट्रक र टिपरलाई भने उपत्यका भित्रिँदा १ सय २५ र बाहिरिँदा १ सय रुपैयाँ शुल्क तय गरिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाको अनुमान छ ।

बस र ट्रकलाई उपत्यका छिर्दा २ सय ५० र बाहिरिँदा २ सय रुपैयाँ शुल्क लाग्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी ९लरी० साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ५ सय र बाहिरिँदा ३ सय रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
यी सवारी दिनको ५ सय ९६ भित्रने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान छ ।

अहिले मुख्य राजमार्गबाट गुड्ने सवारीमध्ये ६० प्रतिशतले सुरुङ प्रयोग गर्ने अनुमानसहित तथ्यांक निकालिएको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख विजय जैसीले जानकारी दिए ।

तेस्रो पक्ष छनोट गरेर सुरुङ सञ्चालनको जिम्मा दिइने सडक विभागले जनाएको छ । यसका लागि विभागले ‘सेवा–प्रदायकमार्फत सार्वजनिक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्नेसम्बन्धी निर्देशिका–२०८१’ तयार गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ भने जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुई पांग्रे, तीन पांग्रे सवारी साधन र नन मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ ।

१८ मिटर लम्बाइ वा २।५ मिटर चौडाइभन्दा ठूला सवारीसाधन सुरुङभित्र चलाउन नपाइने जनाइएको छ । मालवाहक सवारीको भारबहन नियमन निर्देशिका, २०७४ र सडक विभाग तथा यातायात व्यवस्था विभागबाट जारी भारबहनसम्बन्धी निर्देशिकाले तोकेको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनलाई सुरुङमार्गमा निषेध गरिएको छ ।

सुरुङमार्गमा एक महिनादेखि प्रहरी सुरक्षामा काम भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा रहेका बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटीपाखाका स्थानीयले आफूहरूका माग आयोजनाले पूरा नगरेको भन्दै गत चैत ३ देखि ३० सम्म काम ठप्प पारेका थिए । वार्ताका लागि पटक–पटक बोलाउँदा पनि नआएपछि आयोजनाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत प्रहरी सुरक्षामा रोकिएको काम पुनः सुरु गरेको हो ।

यति बेला प्रहरी सुरक्षामै बलम्बुको किसिपिडीमा फ्लाईओभर, सडक, सुरुङभित्रको काम र धादिङतर्फको सुरुङको मुखमा पहाड सुधारको काम भइरहेको छ । ९० प्रतिशत निर्माणको काम सकिइसकेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।

अहिले सुरुङभित्र लाइटिङ, फायरफाइटिङ, भेन्टिलेसन र कंक्रिट सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुरुङभित्र राखिएका उपकरण चलाउन विद्युत् जडान गर्ने काम थालिएको छ ।

२०८२ कात्तिकभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाको दाबी छ । २०७६ कात्तिक ४ मा निर्माण सुरु भएको सुरुङमार्ग ४२ महिनाभित्र सकिनुपर्ने थियो । तर काम भने ६६ महिना बित्न लाग्दा पनि सकिएको छैन ।

सिस्नेखोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्ने आयोजनाको भनाइ छ । तर, सुरुङमार्ग सञ्चालनमा आएपछि ७ मिनेटमै सिस्नेखोलाबाट बलम्बुको किसिपिडी आइपुगिने आयोजनाले बताएको छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् । बलम्बुको किसिपिडीबाट सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २।३०७ किमि सडक दुई लेनमा कालोपत्रको काम भइसकेको छ ।

मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । परियोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ, जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङ निर्माणमा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले काम गरिरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित