जनताको चेतना त्यस्तो गतिशील ज्वाला हो । जो आगोको लम्का झै दन्किन्छ । मुक्ति या मृत्युको कसम खाँदै विद्रोहको मसाल बालेर शासकहरुका महल र पजेरोहरु क्षणभरीमा डढाउन सक्छ । मानव सभ्यताको इतिहासका पानाहरुमा यस्ता विद्रोहका ज्वालाहरु निकै दन्किए। मै हुँ भन्ने शासकहरु पनि सोत्तर मात्रै भएनन्,उनीहरुको राजकाजका सबै महलहरु गल्र्यामगुर्लम ढले । जनता अजय शक्ति हो । जो धर्ती मुनिको ज्वालामुखी झै उम्लिन्छ । असन्तोषको आँधी बेहेरी तुफानी झै फैलिएर क्षणभरमै सत्ताको महल खाक बनाउन सक्छ र बनायो पनि ।
त्यसैको पछिल्लो उदाहरण हो, गएको भदौमा उम्लिएको युवा विद्रोहको ज्वालामुखी । जो यतिबेला शान्त छ । निर्वाचनको माध्यमबाट आफ्नो भावना र मत जाहेर गरेको छ जनताले । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह प्रति जनताले औधि विश्वास गरेका छन् । १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ १२५ सीट जितेको रास्वपाका अधिकांश उम्मेदवार समेत नचिनेका मतदाताले बालेनकै नाममा घण्टी चुनाव चिन्हमा आँखा चिम्म गरेर मतको विश्वास दिए । बालेनकै फेसले रास्वपाले अभूतपूर्व मत पाएको हो । यद्यपि त्यसको लागि रवि लामिछानेको नेतृत्वमा वैकल्पिक शक्तिको राष्ट्रिय स्वतन्त्र पार्टीको निर्माण भएको कुरा कदापि विर्सन मिल्दैन ।
तत्कालीन शासकहरुको निर्लज्जताले सिर्जित नेपाली मनोविज्ञान भ्रष्टहरुलाई मतद्वारा दण्डित गर्न चाहान्थे । त्यसको नेतृत्व गर्ने राजनीतिक शक्ति जनताले खोजिरहेका थिए । यही जनताको चाहनाकै बीचमा रविले रास्वपा नामको पार्टी बनाए । २०७९ को निर्वाचनमा मत विद्रोहको रास्वपाले संकेत दिएको थियो । तर, भदौको युवा विद्रोहले तीन वर्षकै बीचमा निर्वाचन हुने स्थिति बन्यो । यही निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सा¥यो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई दिए जसरी जनताले करिब ७० प्रतिशत मत दिए । नेपालको इतिहासमा यो अभूतपूर्व मत धेरै पछिको ऐतिहासिक परिघटना बन्यो । यति धेरै मतदाताले विश्वास गरेकी देश बनाउने योग्यता र क्षमता बालेन बाहेक अरु कुनैमा पनि छैन ।
त्यसैकारण चुपचाप घण्टीमा छापले देशभरी अप्रत्याशीत लहर ल्याइदियो । यो लहरको भित्री कहानी ३६ वर्षदेखिको कुशासन र भ्रष्टाचारबाट सिर्जित परिदृष्य हो । जब शासन सत्तामा पुग्नेहरुको जनताप्रतिको बाचा र बचन विर्सेर निरो बन्ने कोशीस गर्दछन् । तब जनतामा यसरी विद्रोहको ज्वालामुखी उम्लिन थाल्छ । जनता आगो हुन्, ज्वालामुखी बनी उम्लन्छन्। जनता पानी पनि हुन् । धेर्य पनि गर्छन् । अनि शान्त पनि हुन्छन्। त्यहीमा प्रलय पनि ल्याउँछन्। यो शाश्वत सत्य कुरा इतिहासका निर्मम र कठोर परिघटनाहरुले भन्छन्,।
जब–जब शासकहरुमा अस्वभाविक अहंकार, दम्भ, प्रतिशोध, बदलाव र स्वेच्छाचारिताले सीमा रेखाहरु मिच्न थाल्छ । जनअधिकारको प्रत्याभूत खोजी रहेका निर्दाेष नागरिकमाथि सत्ताको क्रूर बुट बजारिन थाल्छ। तब निश्चिरुपमा त्यहीबाट अकल्पनीय सुनामी आउँछ । विध्वंस मच्चाउदै सत्ताधारीहरुलाई भुत लखेटेझै लखेटिन्छन् । यो इतिहासको शाश्वत सत्य अनुभवजन्य उदाहरण हो । यही समयक्रम अनुसार भएका विद्रोहरुको चेतना र जागरणले ल्याएका उथलपुथलकारी घटनाको पछिल्लो उपज हो, रास्वपाको देशभरको दिग्विजय । यो ऐतिहासिक दिग्विजयलाई जनताको जीवन बदल्ने शासन सत्ताका आर्किटेक्चरको रुपमा रास्वपाले बालेन्द्र साहलाई अघि सारेको छ।
यस अघि तीन वर्ष काठमाडौ महानगरमा नमुनायोग्य काम गरेर औधि लोकपृयता कमाएका बालेनप्रति जनताको अथाह भरोसा र विश्वास छ । उनीप्रति जनताले गरेको यो अभूतपूर्व विश्वासलाई परिणाममा बदल्न सबैको साथ र समर्थन जरुरी छ । उनी अब खास अग्निपरिक्षामा जुट्दैछन्। उनको यो परिक्षाले देशको भाग्य र भविष्य बदल्नेछ । तसर्थ उनको नेतृत्वमा बन्न थालेको दुई तिहाइको सरकारलाई स्वतन्त्र र निस्फिक्रीढंगले बन्न र चल्न दिनुपर्छ ।
उनको कामको परिणाम जनताले क्यालेण्डरमा खोजेका छन्। उनका अल्पकालीन र दीर्घकालीन कामको क्यालेण्डेर आउनेछन् । क्यालेण्डर अनुसार कामका परिणामहरु पनि देखिनेछन् । त्यसका लागि प्रारम्भमा सरकार गठन, अनि सरकारले अघि सार्ने कार्यक्रम र ती कार्यक्रमको सोसियो इकोनोमिक इम्प्याक्टको आधारमा प्रश्न गर्दै जाउँला । सरकार निर्माण नहुँदै गरिने हलुका र पूर्वाग्रही टिप्पणीले सत्ता गुमेको तुस फाल्ने मेसो बाहेक अरु पो के होला र ? ००००००








