शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहालीपछि प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले सचिवहरूसँग पनि बैठक गरेका थिए । प्रधानमन्त्री कार्यालयको हलमा प्रदेशका प्रमुखसचिवसहित नेपाल सरकारका लगभग सबै सचिवहरू सम्मिलित बैठकमा शाहले छोटो निर्देशन दिएका छन् ।
बैठकमा सहभागी सचिवहरूका अनुसार प्रधानमन्त्री साहले अब बहानाबाजी नचल्ने स्पष्ट बताएका छन् । राजनीतिक नेतृत्वको गतिसँग हिँड्न पनि उनले सचिवहरूलाई निर्देशन दिए । परिवर्तनका लागि हाम्रो गतिमा हिँड्नुस्,’ ‘कुद्न सक्नुहुन्न भने मार्गप्रशस्त गरिदिनुस् । नयाँ आउँछन् ।’
प्रधानमन्त्री साहले लोकसेवाको कठिन परीक्षा र अनुभवी कर्मचारीको योग्यतामाथि आफूले शंका नगर्ने र सिकाउनुपर्ने अवस्था नरहेको बताएका थिए । मन्त्रीहरू पनि राम्रै पढेलेखेका र योग्य रहेकाले सँगै अघि बढ्नुपर्ने उनले बताए ।
अब कानुनले मिल्दैन भन्ने बहानाबाजी नचल्ने पनि प्रधानमन्त्री साहले सचिवहरूलाई बताएका थिए । ‘अब कानुनले मिल्दैन भनेर बहाना गर्न पाइँदैन । कानुनले मिल्दैन भने संशोधन गर्ने हो । त्यो हामी गरौँला । त्यसको सुविधाजनक अवस्था छ,’ बैठकमा प्रधानमन्त्रीले भनेका थिए ।
प्रधानमन्त्री बालेन कर्मचारीप्रति केही नरम रूपमा समेत प्रकट भएका थिए । अब विगतको जस्तो अवस्था नहुने उनले बताए । ‘हिजोको सरकारले विभिन्न किसिमको गतिविधिमा समावेश गराएर तपाईंहरूलाई घुमाइराखेको पनि थियो । अब त्यसलाई शून्यमा राखेर नयाँ सुरुवात गरौँ,’ उनले भनेका थिए । सुशासनको अनुभूति हुने गरी, नागरिककेन्द्रित सेवालाई ध्यान दिन प्रधानमन्त्री बालेनले सचिवहरूलाई निर्देशन दिएका थिए । अन्त्यमा ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’को आफ्नै गीतको शब्द उनले सचिवहरूलाई सुनाएका थिए ।








