ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरूङलाई उन्मुक्ति दिइने भएको छ।
महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट सहकारी ठगी प्रकरण धनराजलाई उन्मुक्त दिने गरि अनुसन्धान प्रतिवेदन बुधबार सहकारी वकिल कार्यालय, काठमाडौंमा पेस गर्ने तयारी भएको छ ।
यस घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छ ।
सीआइबीका अनुसार यस प्रकरणमा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, ज्योति गुरुङ, हितमान थापा र प्रकाश थापालाई प्रतिवादी बनाइएको छ ।
तर, घटनामा संलग्न रहेको आरोप लागेका सत्तारूढ दल कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङलाई भने प्रतिवादी नबनाई उन्मुक्ति दिइएको हो । प्रतिवादी बनाइएकाविरुद्ध बिगो रकम चार अर्ब रुपैयाँ नाघ्ने सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताएका छन् ।
उनको अनुसार यस घटनाको अनुसन्धान लगभग सकिएको छ । बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी भएको छ।
प्रतिवादीमध्ये ज्योतिबहादुर, सुवास र सुरेश पक्राउ परेका छन् । बाँकी अभियुक्तविरुद्ध २०८१ असोज ६ गते नै पक्राउ पुर्जी जारी भए पनि फरार नै छन् । सीआइबीका अनुसार कांग्रेस उपसभापति धनराज प्रतिवादी छैनन् । उनको संलग्नता नदेखिएको हुँदा प्रतिवादी नबनाइएको सीआइबीका एसएसपी होबिन्द्र बोगटीले बताएका छन् ।
सीआइबीले ५६ दिनदेखि ठगी तथा संगठित अपराधअन्तर्गत घटनाको अनुसन्धान गरिरहेको छ । ठगीमा ज्योतिबहादुरसहित सुवास मुख्य योजनाकार रहेको सीआइबीको निष्कर्ष छ ।
उनीहरू सहकारी ठगीसहित क्रिप्टो र हुन्डी कारोबारमा समेत संलग्न थिए । यस क्रममा सुवासले मात्रै चार अर्ब रुपैयाँभन्दा धेरै रकमको हुन्डी र क्रिप्टो कारोबार गरेका छन् ।
सुवास २०७३ असार १० मा हुन्डी कारोबारको ३६ लाख रुपैयाँसहित पक्राउ परेका थिए । त्यसबाहेक उनी नक्कली नोटको कारोबारमा पनि संलग्न थिए । उनलाई प्रहरीले १० लाख रुपैयाँ नक्कली नोटसहित २०८१ कात्तिक ७ मा पक्राउ गरेको थियो ।
ठगिनेमा मितेरीका अध्यक्ष कुम्भराज ९केबी० गुरुङ र घटनाका फरार ज्योतिसमेत रहेको अनुसन्धानबाट देखिएको छ । उनीहरूबाट मात्रै सुवासले २२ करोड रुपैयाँभन्दा धेरै रकम लगेको अनुसन्धानबाट खुलेको छ । सीआइबीका अनुसार ज्योति गुरुङले आफ्नोसहित माइतीको समेत घरजग्गा बेचेर उक्त रकम जुटाएकी थिइन् । त्यस्तै, केबीले पनि निजी घर बेचेर उक्त रकम जुटाएको अनुसन्धानबाट खुलेको छ ।
ज्योति अहिले अमेरिकामा छिन् । ज्योति कांग्रेस उपसभापति तथा सांसदसमेत रहेका धनराज गुरुङकी पूर्वपत्नी हुन् । धनराज र ज्योतिबिच २०७६ फागुन २९ मा सम्बन्धविच्छेद भएको थियो । ज्योतिले त्यसअघि नै ज्योतिबहादुरलाई तीन करोड रुपैयाँ दिएकी थिइन् । उनले त्यहीआसपास सहकारीको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिएकी थिइन् । अपचलन भएको सोही रकममा ब्याज जोडेर सहकारीले लिनुपर्ने रकम १४ करोड ८१ लाख रहेको भन्दै आएको छ ।
पछिल्ला दिन ज्योति गुरुङको सम्बन्ध ज्योतिबहादुरसँग झाँगिएको थियो । यही सम्बन्धको फाइद उठाउँदै ज्योतिबहादुर र सुवासले उनीबाट रकम लिएको अनुसन्धानबाट खुलेको छ । सहकारीले भने धनराज र ज्योतिबिचको सम्बन्धविच्छेद कागजी रहेको बताउँदै आएको छ । यसका लागि सहकारीले मुख्य आधार ३ फागुन ०७७ मा धनराजले सहकारीबाटै लिएको १२ लाख रुपैयाँ ऋणलाई मानेको छ । किनकि ऋणपत्रमा धनराजले हकवाला भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । ऋणपत्रमा धनराजकै हस्ताक्षर छ ।
यो तथ्यलाई सांसद सूर्य थापाको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले पनि स्वीकार गरेको छ । त्यसैलाई आधार मानेर समितिले धनराजविरुद्ध पनि छानबिन गरिनुपर्ने भन्दै सरकारसमक्ष सिफारिस गरेको थियोे ।








