दशैं भन्नासाथ मासुलाई महत्त्वपूर्ण परिकारकाे रूपमा लिईन्छ। मासु विना दशै सम्भवतः खल्लो जस्तै हुने गर्दछ।
दशैमा मासुलाई महत्त्व दिने धेरै छन् । यद्यपि दशै मानेपनि मासु नखानेहरू नभएको पनि हाेईनन्। यति मात्रै हाेईन, बलि दिएर देवी खुशी हुन्निन् भनेर एकथरीले विरोध पनि गर्दै आइरहेका छन् ।
बलि प्रथाकाे प्रारम्भ कहिलेदेखि र कसले शुरूवात गर्याे, यसकाे एकिन इतिहास त भेट्टिन्न ।यद्यपि पुस्ताैदेखि हिन्दुहरूले देवी खुशी पार्न बलि दिने गरेका छन् ।
यस्तो ठिक या बेठीक भन्ने बहस चलिरहेको बेला बलिकाे बाेलकबाेल पनि उत्तिकै चर्चामा छ। आज महाअष्टमीकाे दिन देशभरका शक्तिपीठमा बलि दिईदैछ। दशैको नवमीमा बली चढाइने सरकारी प्रचलन छ।
बलिका लागि सरकारले नै खर्च गर्ने गरेको छ। यही सन्दर्भमा सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल गरिएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि र चार लाख ७१ हजारको बोलकबोल भएको हो।
बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो। करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गरेको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ।
बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो। अन्तिममा लिखित रुपमा भएको बोलकबोल भण्डारीको पक्षमा गएको थियो।
सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुङ्गो लगाइएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिए।
गत वर्षको नवमीमा एकेन्द्र भण्डारीले सबैलेभन्दा धेरै तीन लाख ३० हजार रकम तिरेर सरकारी मार हानेका थिए। यस क्षेत्रकै शक्तिपीठ मानिने भगवती कोतमा यसअघि २०७९ सालको नवमीमा तीन लाख १५ हजार, २०७८ सालको दशैको नवमीमा भगवतीमा तीन लाख, २०७६ सालको दशैमा दुई लाख ८० हजारमा मार हानेका थिए।
नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ल बताउँछन् ।
भगवती कोत मन्दिरमा कालरात्रिमा कोटमन्दीरमा सर्वसाधारणको बीचमा खुल्ला बोलकबोल गर्ने परम्परागत छ। कोत मन्दिरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ।
तत्कालीन बाइसे/चौबीसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने चलन छ। नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ।
यसरी बलि दिने चलन देशभरका शक्ति पीठहरूमा हुने गर्दछ। बलि हान्ने प्रतिस्पर्धा हुने गर्दछ। बलि दिदा देवी मनाेकाँक्षा पूरा मान्यता छ।यद्यपि निर्दाेष पशुकाे निर्मम हत्याबाट देवी खुशी भएर मनुष्यले फल प्राप्त गरेको कतै तथ्य प्रमाण भने छैन।
संस्कृतिविद् डाक्टर जगमान गुरूङ आ दिम कालदेखि प्रचलनमा रहेको बताउँछन्। उनी भन्छन्,”पशुलाई मुक्ति मार्गमा जा भनी एकै पटकमा छिनाएर बलि दिईने चलन शास्त्रीय नियम अनुसार हाे।”
अर्का संस्कृतिविद् दीर्घ राज घिमिरेले मासु खानेहरूले देवतालाई चढाएर खाने प्रचलन आदिम भएको बताउँछन् ।याे प्रचलन देवतालाई खुशी राखी शक्तिकाे आर्जन गर्न हाे भन्छन्,उनी। घिमिरे थप्दै भन्छन्,हामी दाल भात खानु अघि पनि देवतालाई चढाउछाै, त्यस्तै हाे बलि दिने चलन पनि।”
तर, यस विषयमा विश्व जागरण अभियानका संयाेजक प्राध्यापक विनाेद शर्मा तान्त्रिक परम्परा हटेकोले बलि प्रथा कायम रहनु गलत भएको बताउँछन्। उनी भन्छन् , “मध्यकालमा तान्त्रिक विधि अनुरूप उपासनाका लागि शुरू भएको बलि प्रथा अहिले तान्त्रिक समुदायबाट हटेकोले बलि प्रथा पनि हटाउनु पर्ने पर्दछ।”