२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

परराष्ट्रमन्त्री आरजु भन्छिन् – ‘देश रित्तिएको गलत भाष्य बनाइयो’


२९ श्रावण २०८२, बुधबार  



देउवा पत्नी तथा ओली सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले देश रित्तिएको गलत भाष्य बनाइएको बताएकी छिन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनले गलत भाष्य बनाएर नकारात्मकता फैलाएको बताएकी हुन्।

परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले युवा वर्ग देशको ठूलो पूँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छिन्।

अहिले नेपालको जनसंख्याको ठुलो हिस्सा युवाको रहेकाले अहिले मुलुकको विकासका लागि उपयुक्त अवसर रहेको पनि उनको भनाई छ।

‘युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्छ,’ मन्त्री राणाले भनिन्। युवाहरू सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण भएकोमा पनि उनले चिन्ता व्यक्त गरिन्।

‘म युवाहरू विदेश जानै हुँदैन भन्ने पक्षमा छैन,’ उनले भनिन्, ‘म भन्छु यहाँहरू विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस्। हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ ।’

स्वदेश फर्किएका कैयौँ युवाहरूले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएको उनको दाबी छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  ६ : ०६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित