जब आर्थिक वर्षको अन्त्य नजिकिँदै जान्छ । तब सरकारले बजेट रकमान्तरलाई निकै जोड दिन्छ। यस्तो प्रवृत्ति अहिलेको सरकारको अर्थमन्त्रीले मात्रै होईन विगतका अर्थमन्त्रीले पनि यस्तै गर्दथे।
बजेट प्रस्तुत हुँदा एउटा आयोजनाका नाममा छुट्याइएको रकम पछि राजनीतिक एवम् प्रशासनिक शक्ति हुनेहरुले अर्कै आयोजनामा खर्च गर्ने यस्तो प्रक्रियालाई रकमान्तर भनिएको हो ।
राजनीतिक शक्तिको आडमा यस प्रकारको गतिविधि हुँदै आएको छ । सार्वभौम संसदले पारित गरेको विनियोजन विधेयकलाई सरकारले मनपरी ढंगले उलटफेर गर्नु वित्तीय अनुशासनका दृष्टिले पनि गम्भीर गल्ति ठानिन्छ ।
तर, नेपालमा यस्तो काम पहिलेदेखि नै लगातार रुपमा हुँदै आएको छ । पछिल्लो दशकमा त यसरी रकमान्तर गर्दै शक्तिशाली नेताहरुले आफ्नो क्षेत्रमा पैसा लैजाने कोसिस बढाउँदै लगेका छन् ।
यही विकृतिलाई रोक्न पूर्व अर्थमन्त्री डा। प्रकाशशरण महतले रकमान्तरमाथि अंकुश लगाउने व्यवस्था गरेका थिए । तर,त्यो व्यवस्था पनि लामो समय कार्यान्वयनमा रहन सकेन ।
नेपालमा राजनीतक अस्थिरताको असर रकमान्तरमा पनि देखिएको जानकार बताउँछन् । एउटा दलको नेतृत्वमा सरकार हुन्छ, एक जना अर्थमन्त्रीले बजेट ल्याउँछ । तर त्यसको कार्यान्वयन गर्ने क्रममा अर्थमन्त्री नै फेरिइसक्छ । कतिपय अवस्थामा त प्रधानमन्त्री नै बदलिन्छन् ।
कहिले प्रधानमन्त्री उही व्यक्ति भए पनि सरकारको गठबन्धन बदलिन्छ । लगातार गठबन्धनको सरकार सञ्चालन गर्नुपर्ने भएकाले अर्थमन्त्रीहरु चाहेरै पनि वित्तीय अनुशासनलाई थेगिराख्न अक्षम हुन्छन् । प्रधानमन्त्री र अर्थमन्त्री भिन्न दलका व्यक्ति हुँदा प्रधानमन्त्रीको दबाब रहन्छ ।
एउटै दलको हुँदा बेलाबखत ‘मनलाग्दी’ गर्ने गरेको पनि देखिन्छ । यस्ता अनेक कारणले नेपालमा बजेटको यथोचित कार्यान्वयन हुन सकेको छैन ।
कहिलेकाहीँ चाहीँ नेतृत्वको दबाबमा तयारी नै नभएका आयोजनामा रकम विनियोजन गर्नुपर्ने र त्यो पैसा खर्च हुन नसकेर अर्को आयोजनामा सार्नुपर्ने अवस्था समेत रहेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
यसरी हुने रकमान्तरको छोटो विगत हेर्ने हो भने विभिन्न कालखण्डमा भिन्नभिन्न मन्त्रीहरुले रकमान्तर घटाएको र बढाएको देखिन्छ ।
गएको ६ वटा आर्थिक वर्षमा पाँच जना नेता सात पटक अर्थमन्त्री भए ।आर्थिक वर्ष २०७५/७६ मा डाक्टर युवराज खतिवडा अर्थमन्त्री थिए । यश वर्ष कुल बजेटको झन्डै २७ प्रतिशत रकम रकमान्तरण गरेका थिए। यसैगरी उनले आर्थिक वर्ष २०७६/ ७७ मा २२ प्रतिशत रकम रकमान्तरण गरेका थिए। डाक्टर खतिवडा पछि २०७७/७८ मा विष्णु पौडेल अर्थमन्त्री भए । उनले पनि यही गलत प्रथालाई निरन्तरता दिए। उनले यश वर्षमा ४० प्रतिशत रकम रकमान्तर गरे। २०७८ असार २८ गते ओ ली सरकार ढलेपछि देउवा नेतृत्वको सरकारको अर्थमन्त्री जनार्दन शर्मा भए । उनले पनि यही प्रथालाई कायम राख्दै कुल बजेटको १२ प्रतिशत रकम अर्को तिर हुत्याए।यस्तै गरि २०७९/८० मा तीन जना अर्थमन्त्री भए । जनार्दन शर्मा ,विष्णु पौडेल र डाक्टर प्रकाश शरण महतले ६ प्रतिशत रकमान्तरण गरे।
यस्तै गरी २०८०/८१ मा अर्थमन्त्री डाक्टर प्रकाशशरण महत भए । उनले पनि उसैगरी २५ प्रतिशत रकमान्तर गरेर तेश्रो भए । पहिलोमा डाक्टर युवराज खतिवडा ,दोश्रोमा विष्णु पौडेल र तेस्रोमा डाक्टर महत रहेका छ। हाल एमाले कांग्रेस गठबन्धनको अर्थमन्त्रीमा विष्णु पौडेल छ। उनले पनि विगतको गलत प्रथालाई निरन्तरता दिन खुट्टा उचालेको अर्थ मन्त्रालय अधिकारीहरू बताउँछन् ।








