२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

घुस प्रकरणमा मुछिएका भूमि मन्त्री अधिकारीद्वारा उपत्यकाका तीन मालपोत अधिकृतको सरुवा


१७ श्रावण २०८२, शुक्रबार  


घुस प्रकरणमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारले उपत्यकाका तीन मालपोत प्रमुखको सरुवा गरेका छन्।


पोखराको लिची बगैँचाको १३५ रोपनी जग्गा प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखहरूको सरुवा गरेका छन् । प्रक्रियसमेत मिचेर उनले हतार–हतारमा गएको बुधबार सरुवा गरेका हुन्।

मालपोत कार्यालय ललितपुरमा उपसचिव अशोक भट्टराई, भक्तपुरमा माधव घिमिरे र कलंकीमा रविन ढकालको सरुवा गरिएको छ । उनीहरूलाई ती कार्यालयमा सरुवा गराउन एक बिचौलिया सक्रिय थिए । तिनै व्यक्तिको प्रस्तावअनुसार मन्त्री अधिकारीले मालपोत प्रमुखको सरुवा गरेको पाइएको छ।

लिची बगैँचा प्रकरणमा उनका परिवारका सदस्यले पैसा लिएको प्रमाण बाहिरिएपछि मन्त्री अधिकारीको पद संकटमा छ । अख्तियारले समेत सो प्रकरणमा उनलाई सोधपुछमा बोलाउने तयारी छ।

सोही प्रकरणमा आफू हट्ने संकेत पाएका मन्त्री अधिकारीले चलखेलका आधारमा मालपोत प्रमुखको सरुवा गरेको पाइएको छ। मन्त्रालयमा सल्लाहसमेत नगरी उनले एक्कासि तीन मालपोत प्रमुखको सरुवा गरेकाले यसमा पनि मन्त्रीको नियतमाथि प्रश्न उठेको छ।

निजामती सेवा नियमावलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा कार्यालय प्रमुखको काजसरुवा गर्ने प्रावधान छ। मन्त्री अधिकारीले सहमतिसमेत नलिई सरुवा गरेका हुन्।

यसअघि मन्त्री अधिकारीले भक्तपुर मालपोतमा पठाएका उपसचिव कुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको थियो।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार  ७ : ०७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित