२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

बंगलादेशको,”शहरी युवा विद्रोह”


२३ श्रावण २०८१, बुधबार  


शेख हसिनाको निरकुंशता र अत्याचारको गर्भबाट उदाएको हो, बंगलादेशको युवा शहरी विद्रोह । जुन विद्रोहको नेतृत्व युवा विद्यार्थीहरुले गरे। नेपालको विद्यार्थी आन्दोलन लगभग मृत्यु शैयामा गएको बेला बंगाली युवाहरुको विद्रोहले हसिनाको निरंकुश सत्ता ढल्यो । जब युवाहरुको आन्दोलनको तुफानी हसिनाको दरबार कब्जा गर्न तिर अघि बढ्यो ,तब शेख हसिना स्वदेशमा टिक्न सकिनन्। अनि छिेमेकी भारतमा शरण लिन पुगिन्। जसले मत दिएर सत्तामा पुराएका थिए, उनले मात लागेपछि लघारे सत्ताबाट ।

युवाले आँट गरे संसार जित्न सकिन्छ, भन्ने स्पष्ट सन्देश दिएको बंगाली युवाहरुको विद्रोहले नयाँ पुस्ता स्वतन्त्रताको पक्षपाती हो, उ कुनै दलपतिको दास भएर होइन, आफ्नो स्वतन्त्र विवेकबाट देशका निम्ति केही गर्न चाहना राखेको हुन्छ भन्ने प्रष्ट भाव देखिन्छ। यति मात्रै होइन। एक महिना बढीदेखि चलेको शहरी आन्दोलनले हसिनाको सत्ताच्यूतपछि दुइवटा कुरामा अडान लिएको देखिन्छ। पहिलो अडान शासनसत्ता सेनाको हातमा जानुहुन्न।, त्यो अस्विकार छ, त्यो कदापि स्वीकार हुन्न । दोश्रो पुराना धमिरा लागेका, सडेगलेका भ्रष्ट नेताहरुको नेतृत्वमा अन्तरिम सरकार बन्न सक्दैन । उनीहरुको यी अडानले दर्शाएको यथार्थ कुरा के हो भने नयाँ पुस्ता शेख हसिना शासनको निरंकुशता र कुशासनका बिरुद्ध हौं,तर त्यसको बदलामा त्यो भन्दा पनि खराब सैनिक शासन वा सेनाको एसम्यानको सत्ता चाहेका होइनौ । यसरी उनीहरुले अघि सारेका अडानबाट स्पष्ट हुन्छकी, बंगाली युवाहरु अग्रमनसहितसहित स्वतन्त्रताको पक्षपाती हुन् भन्नेमा कुनै सन्देह देखिन्न ।

उनीहरुले आफ्नो सर्तमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्वका लागि अघि सारे । युनुसले पनि युवाहरुको प्रस्ताव सहजै स्वीकारे। विद्रोहको राप र तापका बेला सेना र पुराना दलका नेताहरुले पनि त्यो प्रस्तावलाई सहजै असहजै स्वीकार्न बाध्य भए । यसले बंगाली युवा पुस्ताले देशका लागि जे गर्न सक्थे, त्यही गरे । उनीहरुले अघि सारेका प्रस्तावबाट यो प्रष्ट हुन्छकी बंगलादेशमा लोकतन्त्रसहितको उन्नत बंगलादेशको उनीहरुको चाहना हो ।
दक्षिण एशियाली मुलुकमा निरंकुश शासकहरु लघारिएको पछिल्लो घटना हो, बंगलादेशको शहरी विद्रोह । त्यस अघि श्रीलंकामा तत्कालीन राष्टपति गोटाबाया राजापाक्ष आफ्नै नागरिकबाट लखिेटिएका थिए। २०७९ असारको महिनामा उनीहरुको परिवार सहितले देश छोडेका थिए। त्यस अघि अपगानीस्तानमा पनि राष्टपतिले देश छोडेर हिडेका थिए। शासकहरुमा पलाउने अहंकार, निरंकुशता र ज्यादतीले अन्ततः उनीहरु स्वदेशमा समेत बस्न सक्दैनन्। सत्तामा रहँदा गरेका भयानक ज्यादतीकै कुकर्मले उनीहरुको अवसान पनि त्यही तरिकाबाट हुने गरेका उदाहरण हुन् यी।


नेपालमा पनि शासकीय चरित्र र प्रवृत्ति शेख हसिनाको भन्दा खासै पृथक देखिन्न। संविधान जारी यता ८ पटक यो देशले प्रधानमन्त्री अदलबदल गरेको अनुभव गरेको छ। प्रदेशका मुख्यमन्त्री फेरिने र फेर्ने बाहेक अन्य काम त्यस्तो खासै देखिन्न। प्रदेशका सबै सांसद मन्त्री बन्ने अवसर पाएका छन्। संसदको पाँच वर्षे कार्यकालमा सबैलाई मन्त्री बनाउने उदेश्य लगभग पूरा हुने देखिन्छ। प्रदेशहरुले गर्ने आम्दानी पाँच अर्बको हाराहारी छ, तर, खर्च चालिस अर्बको देखिन्छ। यही तौरतरिकाले प्रदेशको राजनीति चल्दै जाने हो, भने मुलुक आर्थिकरुपले कंगाल त हुन्छ नै। औचित्यहिन प्रदेश संरचनाकै कारण जनतामा आक्रोश र असन्तुष्टिको विस्फोट हुने खतरा उत्तिकै छ। संघमा होस्,या प्रदेशमा भएको राजनीतिक गन्जागोलसंगै भ्रष्टाचार, कुशासन र बेथितिले लपेटिदै गएको छ।

विद्यमान राजनीतिक नेतृत्वप्रति जनताको पूर्णरुपमा घृणा र आक्रोश छ। जुन आक्रोश विस्फोट भएर विद्रोहमा बदलिने छ, त्यत्तिबेला शेख हसिनाले भोगको नियती भोग्नुपर्ने दिन चाँडै आउनेछ। यति भनिरहँदा नेतृत्व असक्षम र नालायक भएकै कारण जनतामा आक्रोश र असन्तुष्टि चुलिएको हो। व्यवस्थाप्रति जनताको गुनासो देखिन्न। यसर्थ यही व्यवस्थालाई थप उन्नत बनाउन नयाँ युवा शक्ति आउन जरुरी छ। प्रतिगमन र पुनरुत्थानवादीहरुको हातमा मुलुकको सत्ता जाने कुरा कल्पना मात्रै हुन्। बंगाली युवाले जस्तै अदम्य साहस र वीरता देखाउन सके यो देशमा पनि त्यस्तै उथलपुथलकारी विद्रोह हुन सक्छ। जसले नयाँ पुस्ताको हातमा मुलुकको बागडोर पुग्नेछ र नवीन र उन्नत नेपाल बन्ने दिन अवस्य उदाउनेछ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ११ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित