१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

कांग्रेस नेता डा. प्रकाशशरण महत भन्छन्, ‘विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिउँ’


३० श्रावण २०८२, बिहिबार  



नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन् ।

उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हाल्न खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ति गर्नुपर्ने बताएका हुन् ।

बिहीबार संसद्को अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धीमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विदेशमा पनि विदेशीहरूले नै कम्पनीहरूको नेतृत्व गर्ने गरेको र त्यसबाट ती कम्पनीहरू सबल हुने गरेको बताए । नेपालमा अनेक बहानामा विदेशीहरूसहित त्यहाँ रहेका नेपालीहरूलाई बन्देज लगाउन खोजिनु उचित नभएको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री महतले भने, ‘नीतिगत निर्णय भएपछि सीईओले कार्यान्वयनमा लैजाने हो । अमेरिका, युरोपमा ट्रिलियन डलरका कम्पनीहरू बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, इन्डियनहरुले चलाइरहेको छ । योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि । सीईओले दायाँबायाँ गर्ने बित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ । त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दैछौँ । हामी नयाँ प्रबन्ध गर्न खोजिरहेका छौँ ।’

महतले वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि नियुक्त हुने सीइओ, देश विदेश बुझेको हुनुपर्ने बताए । उनकाअनुसार वित्त कोषको सीईओको सवालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, त्यो पनि हेर्नुहुँदैन । नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रिन कार्ड होल्डर पनि हुनसक्छ, त्यस्ता सबैलाई स्विकार्न उनले प्रस्ताव गरे ।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार  ४ : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित