२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भदौ २४ मा जेलबाट भागेका ६० किलो सुनका चिनियाँ तस्कर फरार, चीन पुगेको अनुमान


३० आश्विन २०८२, बिहिबार  


ब्रेक प्याडमा लुकाएर ल्याइएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका अधिकांश चिनियाँ तस्कर कारागारबाट फरार भएको खुलेको छ ।


जेनजी आन्दोलनको क्रममा गएको २४ भदौ राति कारागार तोडफोड तथा आगजनी गर्दै देशका विभिन्न कारागारबाट कैदी फरार भएका थिए । सुन तस्करीमा जोडिएका चिनियाँ कैदी पनि त्यही मौकामा फरार भएका हुन् ।

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकलाई ललितपुरस्थित नख्खु कारागार र सुन्धारास्थित जग्गनाथदेवल (केन्द्रीय) कारागारमा राखिएको थियो ।

यी दुई कारागारका अधिकांशजसो कैदीबन्दी फरार भएका थिए । यिनै कारागारबाट १० चिनियाँ सुन तस्कर फरार भएको खुलेको हो ।

कारागार व्यवस्थान विभागका सहससचिव तथा प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार फरार हुने चिनियाँ कैदीको संख्या २५ छ । तीमध्ये १० जना ६० किलो सुन तस्करीमा पक्राउ गरेर कारागार चलान भएकाहरू रहेका छन् ।

फरार हुनेमा रोल्पाकी अमला रोकासँग विवाह गरेका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ भनिने निमा तामाङसहितका व्यक्ति छन् । दावालाई तस्करी गरेर काठमाडौं भित्रिएको सुनको सम्पूर्ण व्यवस्थापन गर्ने मुख्य नाइकेको रूपमा दावा रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

फरार भएको एक महिना भइसकेकाले उनीहरूले नेपाल छाडिसकेको हुनसक्ने आशंका गरिएको छ ।

सुन प्रकरणको अनुसन्धानमा संलग्न सीआईबीका तत्कालीन एसपी ९हाल एसएसपी० सञ्जयसिंह थापाले दावा मुख्य व्यवस्थापक रहेको बताएका थिए । दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करी समूहको नेपालमा व्यवस्थापन गरेको थापाले त्यतिबेला बताएका थिए ।

उनै दावा आरोपीहरूलाई होटलमा बस्ने प्रबन्धसमेत गर्थे । दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन् । अमलाको नाममा ठमेलमा होटल भियना छ । चिनियाँ समूहले त्यही होटलमा बसेर सुन तस्करीको योजना बनाउने गरेको प्रहरीले बताउँदै थियो ।

माओवादी नेतृसँग विवाह गरेका कारण दावाको माओवादी नेताहरूसँग पनि राम्रो हिमचिम थियो । अनुसन्धान चलिरहेका बेला अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र दावाको म्यासेजको विवरणसमेत भेटिएको थियो ।

दावाले काभ्रेबाट नेपाली नागरिकता र राहदानीसमेत लिएका थिए । यो प्रकरणा दावाविरुद्ध नागरिकता र राहदानी कीर्ते कसुरमा काभ्रेबाट मुद्दा चलेको थियो ।

झुटा विवरण पेस गरेर नागरिकता लिएको कसुरमा ५ वर्ष कैद १ लाख रुपैयाँ जरिवाना र राहदानीको कसुरमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । राहदानी, नागरिकता दिने कर्मचारी पनि दोषी ठहर भएका थिए ।

दावाको राजनीतिक र प्रहरीका उच्चपदस्थ व्यक्तिसँग राम्रो हिमचिम थियो । सुन तस्करीका साथै उनी अनलाइन जुवा, क्रिप्टो, अवैध कल सेन्टर धन्दामा संलग्न हुँदै आएका थिए ।

फरार रहेका को को हुन् ?


यही सुन तस्करीमा जोडिएपछि १ भदौ २०८० मा चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचेङ पनि पक्राउ गरेका थिए । उनको दावासँग कनेक्सन भेटिएको थियो । उनीसँग चीनका साथै भारत र नेपालको नागरिकता समेत भेटिएको थियो । उनले काभ्रेबाट नागगरिकता लिएका थिए । उनी पनि फरार भएका छन् ।

पहिलो चरणमा २०८० भदौ ३१ मा ९ चिनियाँ नागरिकसहित २९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । दावा र याओ पुचेङसहित लि वेन टिसुङ, रोगर भनिने लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन र मी टीएन ९ चिनियाँ नागरिक थिए ।

त्यतिबेला मुद्दा चलाइएकामध्ये टासी भनिने थुप्तेन छिरिङ बाहेक सबै फरार रहेको कारागार व्यवस्थापन विभागको रेकर्डमा देखिन्छ । उनीहरू अधिकांश नख्खु र जग्गनाथदेवल कारागारमा थिए ।

त्यस्तै ६० किलो सुन तस्करीकै दोस्रो चरणको अनुसन्धानमा थप ९ चिनियाँ नागरिकसहित पहिलाका चिनियाँसहित २९ जना गरी ६० जनालाई प्रतिवादी बनाउँदै २०८१ असार १७ मा मुद्दा दायर भएको थियो ।

दोस्रो चरणका ९ चिनियाँ प्रतिवादीमध्ये राजु बा र कुंगा टासी शेर्पा भनिने जिन जाङ्ग र सोनाम भनिने शेरब ग्याल्मो पक्राउ परेका थिए । बाँकी ७ चिनियाँलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । दोस्रो पटकमा पक्राउ गरेका यी दुवै चिनियाँ सुन तस्कर जेनजी आन्दोलनको मौकामा कारागारबाट फरार भएका छन् ।

कुंगा सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानको क्रममा २०८१ जेठ १२ मा उनी बौद्धबाट पक्राउ गरेका थिए । यिनको साथबाट नेपाली नागरिकता, राहदानी र लाइसेन्स भेटिएको थियो ।

त्यतिबेला सीआईबीले यिनीबाट ७ राउन्ड गोली लोड भएको जर्मन अटोमेटिक पेस्तोलसमेत बरामद गरेको थियो । उक्त पेस्ताल सुन तस्करीमै प्रयोग गरेको हुनसक्ने प्रहरीले बताएको थियो । सुन नलुटियोस् भन्ने हिसाबले कुंगाले पेस्तोल बोक्ने गरेको प्रहरीको बुझाइ थियो ।

६० किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँसँग नेपाली पासपोर्ट पनि


उनको कोठाबाट २७ लाख नगद पनि सीआईबीले बरामद गरेको थियो । उक्त रकम सुन कारोबारकै रहेको सीआईबीले निष्कर्ष निकालेको थियो । हतियार राखेरै सुन तस्करीको धन्दा चलाएका उनै कुंगा अहिले भने फरार छन् ।

दोस्रो चरणकै अनुसन्धानको क्रममा २०८१ असार २ गते राति कपनबाट चिनियाँ नागरिक सोनाम भनिने शेरब ग्याल्मोलाई पक्राउ गरेको थियो । कपनमा कोठा लिएर बसेका उनी ६० किलो सुन तस्करीमा जोडिएपछि तत्कालीन सीआईबीले उनलाई पक्राउ गरेको थियो । त्यतिबेला सीआईबी प्रमुखमा एआईजी श्यामलाल ज्ञवाली थिए । शेरबको कोठाबाट ६ किलो सुन र ४८ लाख नगद भेटिएको थियो भने मुस्ताङबाट जारी भएको नेपाली नागरिकता पनि भेटिएको थियो ।

सोनाम गुरुङको नाममा उनले नेपाली नागरिकता लिएका थिए । उनी सन् २०१८ देखि फ्ल्याट भाडामा लिएर काठमाडौंमा बस्दै आएका थिए । उनी पनि फरार भएको खुलेको छ ।

यस्तो छ,६० किलो सुन तस्करी प्रकरण

चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरूपमा ल्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले सुन २ साउन २०८० मा बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा टोखामा सुन पगाल्ने कारखानासमेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्ने मेसिन बरामद भयो । १३ साउनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ समातिए, जो तस्करीको सुन व्यवस्थापक थिए ।

दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरूसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठायो ।

एमालेले आयोग गठनको माग गरिरहेका बेला राजस्व अनुसन्धान विभागले संगठित कसुरमा अनसन्धान गर्नुपर्ने देखिएको भन्दै साउन २० गते सीआईबीले अनुसन्धानको जिम्मा पायो ।

सुनकाण्डका एक आरोपीसँग भेटियो तीन देशको नागरिकता


अनुसन्धानपछि सीआईबीले भदौ २७मा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गर्दै २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

जसमध्ये ठमेलको भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेका २६ जनामध्ये रुक्मणी सुब्बा मात्रै ५ लाख धरौटीमा छटेकी थिइन् ।

लि वेन टिसुङ, रोगर भनिने लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी ९ चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

सुन तस्करका आरोपित दावाको नागरिकता(राहदानी कीर्ते, कर्मचारी पनि दोषी ठहर
यही सुन प्रकरणको अनुसन्धानमा प्रश्न उठेपछि दलीय सहमतिका आधारमा सरकारले असोज १४मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी ९तस्करी० सम्बन्धी ४ सदस्यीय जाँचबुझ आयोग गठन भयो ।

आयोगले २०८० चैत १ मा ४८५ पृष्ठ लामो प्रतिवेदन बुझायो । उक्त प्रतिवेदनको सिफारिसका आाधारमा प्रहरीले सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढायो ।

यो चरणमा सुन कारोबारको रकम सजिलो पे र पेवेल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ८ जना र सुन तस्करीकै प्रत्यक्ष जोडिएको आरोपमा १२ जना गरी २० जना पक्राउ परे ।

उनीहरूमाथिको पनि अनुसन्धानपछि सीआईबी तस्करी भएको सुन ३६२ किलो ७७८ ग्राम नभई ३ हजार १९४ किलो ६६८ ग्राम अर्थात् करिब ३१ क्विन्टल भएको निष्कर्षमा निकाल्यो ।

यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपैयाँ कायम गरी सोही अनुसारको बिगो मागदाबी गर्दै १७ असार २०८१ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भयो । अहिले यो मुद्दा विचाराधीन अवस्थामै छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ७ : १८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित