२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

इम्बोष्ड नम्बर जडान न्यायोचित छैन : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ


९ भाद्र २०८२, सोमबार  



यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले सोमबार प्रेस विज्ञप्ति जारी गरी देशभर रहेका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट लगाउने प्रविधिको विकास नभएकाले तत्काल उक्त निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

‘नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय गरी कार्यान्वयनमा जाँदा आमरुपमा विरोध पश्चात इम्बोस्ड नम्बर लगाउने कार्य स्थगित भएको अवस्थामा पुनः यसलाई लगाउने निर्णय न्यायोचित छैन,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले इम्बोस्ड नम्बर प्लेट लगाउने विषयमा सर्वोच्च अदालतबाट भएको फैसलालाई भने स्वागत गरेको छ ।

वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारीका साधनका व्यवसायीले पुरानै नम्बरमा कर तिर्ने कागजपत्र नवीकरण गर्ने र इम्बोस्ड नम्बरको राजस्व मात्र लिएको र भौतिक पूर्वाधारविना राजस्व असुली गर्ने कार्य न्यायोचित नभएको हुँदा तत्काल जारी गरिएको सूचनालाई पुनःमूल्याङ्कन गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित