२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

सत्ता र शक्तिमा हुँदा हाइहाइ, आपत् पर्दा बाइबाइ !


२६ आश्विन २०८२, आइतबार  



अहंकारमा टिकेको सत्ता र शक्ति क्षणभंगूरमै विनाश हुन्छ ।अभिमान र प्रतिशोधका बिखालु नंग्रा पनि नकाम हुन्छन्। शक्तिको मैमत्ताताले क्षणिक उत्तेजना त दिन्छ, तर, त्यो अन्ततः पश्चतापको आगोमा डढेर खरानी बन्न सक्छ ।

सत्य विरुद्ध शक्तिले टिकाएको सत्ताको आयू छोटो मात्रै होइन, अन्ततमा पछुतोको लप्काले पल पल पोलिरहन्छ । यो यथार्थता विद्यमान कलियुगमा मात्रै होइन, प्राचीन कालदेखि पटक पटक सिद्ध भइ आएका तथ्य हुन् ।

पूर्वीय सभ्यताका महाभारत र रामायण जस्ता धार्मिक ग्रन्थमा उल्लेख गरिएका कथाहरुबाटै पनि प्रष्ट हुन्छकी मान्छेले जीवन कालमा आर्जेको शक्ति, वैभव, ज्ञान वा संगठन स्थायी हुदैनन्।

महाभारतमा दुर्याधनको अहंकार युद्धबाट भाग्दा पनि ढलेको थिएन । युद्धपछि कृष्णले सोध्दा युद्धबाट हारेको होइन, आराम गरेको हुँ भन्ने दुर्याधनको अहंकारी प्रतिक्रिया होस्, या रामायणमा वर्णन गरिएको कथामा रावणमा शक्ति, वैभव र सम्पत्तिले मैमत्त भएको र त्यही कारण रावणको विनाश भएको सन्दर्भ विद्यमान नेपाली राजनीतिका शीर्ष हस्तीहरुसंग ठ्याक्कै मिल्छ ।

घरले जा जा र वनले आइजा आइजा भन्ने बेलासम्म पनि पार्टी र सत्ताको नेतृत्वमा गरिएको लोभ र लालसाले अन्तमा सत्ताबाट लघारिनुपर्यो, घरमै कुटाइ खानु पर्यो त कोही लुक्दै हिड्न परेको थियो । अहिलेसम्म पनि निर्धक्कसंग सडकमा हिड्न अवस्था छैन ।

यस्तो हुनुको कारण सत्ता र पार्टी नेतृत्वमा बारम्बार दोहोरिने र बुढो गोरु झै भकारो ओगट्ने प्रवृत्तिले बुढ्यौलीमा यो नियति भोग्न परेको हो । पटक पटक सत्तामा पुग्ने अकुत धन संकलन र शक्तिमा रहीरहने प्रवृत्तिकै विरुद्ध नयाँ पुस्ताले विद्रोह गर्यो । नाती पुस्ताकै हातबाट सत्ताच्यूत हुनेदेखि भकुरी माग्नु पर्यो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना गर्दासम्मका समय सहज पक्कै थिएनन्।

त्यो बेलाको निरंकुश शासन व्यवस्थामा पनि डटेर संघर्ष गर्नु पक्कै पनि अप्ठ्यारो थियो । गणतन्त्र त्यत्तिकै आएको पक्कै होइन, यसमा ओली देउवा र पैचण्डको ठूलो योगदान छ, जुन कुरा इतिहासले विर्सन पनि सक्दैन । तर, यसको अर्थ आर्यघाट नजाउन्जेल सत्तामै जुको झै लिप्पिकै टाँसिने भने पक्कै होइन ।

यद्यपि पद,प्रतिष्ठा र पैसाकै लोभले यी सबै नियति बेहोर्ने बनायो । परिवार, पैसा र प्रतिष्ठा दीगो र स्थायी हुँदो रहिनछ । जुन कुरा आज मात्रै होइन, त्रेता युगमा राजा दशरथले भोगेको कथा रामायणमा उल्लेख छ।

राजा दशरथ सबै कुराले सम्पन्न थिए। उनका चार पुत्र थिए । राम, लक्ष्मण, भरत र शत्रुघ्न उनीहरुको समयमा अत्यन्त शक्तिशाली र आदर्श पात्र मानिन्थे । तर, दशरथको अन्तिम समय स्मरण गर्दा देखिन्छ, तीमध्ये कुनै पुत्र पनि साथमा थिएनन् ।

राजा भएर, पुत्र भएर, शक्ति र सम्मान भएर पनि अन्तिम क्षणमा दशरथ असहाय भएर प्राण त्याग्नुपर्‍यो । शक्ति, सन्तान वा पद अन्ततः अस्थायी हुन्छन्, जीवनको अन्तिम सत्य एक्लोपन हो भन्ने यसैबाट स्पष्ट हुन्छ ।तर, यी तीन शीर्षहरुमा अझै पनि आफू नभए आकाश खस्छ भन्ने भ्रममा छन्। हुँटिट्याउँले रातपरेपछि आकाश खस्छ भन्दै आकाशतिर खुट्टा फर्काएर आफूले आकाश थापको धक्कु लगाए झैको अवस्था छ।

काँग्रेसमा लामो समयसम्म एकलौटी चलाए देउवाले । उनले समितिहरूमा मनपरी निर्णय गरे । कार्यकर्तालाई केवल पाँडेपजनी गर्ने भूमिकामा सीमित पारे तर, अन्तिममा नातिपुस्ताले रक्ताम्य बनाउँदा एक्ला भए । न कार्यकर्ता आए, न संरक्षणको आवाज कतै उठ्यो ।

सत्ता र शक्तिमा हुँदा शेरबहादुर दाइ भन्दै अवसर लिएकाहरु कही कतै देखिएनन्। घरमै भकुरिदा पनि उनको पक्षमा कोही उभिएन । आखिरीमा दुःखमा कोही हुँदो रहिनछ । देशकै पुरानो र ठूलो दलको नेता र यो मुलुकको पाँच पाँच पटक प्रधानमन्त्री भएको हालत यस्तो भयो । त्यो सत्ता र शक्ति अनि सम्पत्ति काम लागेन । यी सबै फगत भए ।

देउवाको भन्दा अझै कष्टकर र अप्ठ्यारो छ, एमाले अध्यक्ष केपी ओलीको । सरकारको सुरक्षा संयन्त्र कमाण्ड गरेर बसेका उनी पनि बालुवाटारबाट भाग्न पर्यो। सेनालाई हारगुहार गरेर शिवपुरको जंगलमा गएर लुक्न पर्यो । भदौ २३ मा १९ युवाको हत्या गरेको नरसंहारको कलंकित टीका लगाउनु पर्यो । गोलीले अर्कैले चलाएपनि नैतिकरुपले जिम्मेवारी लिनै पर्यो। घटनाको जिम्मेवारी नलिएपनि नरसंहारको कंलको टीका अब मेटिनेवाला छैन ।

त्यही कलंकैकारण सत्तामा बस्न सकिएन । भदौ २४ मा राजिनामा बुझाएर भाग्न पर्यो । धन्न भक्तपुरमा महेश बस्नेत भन्ने कार्यकर्ता भएर उनले आश्रय स्थल पाए । सचिवालय बैठकमा बहादुर भनेर ओलीले तारिफ पनि गरे । दुईतिहाईको सरकार चलाएका, शक्तिशाली प्रधानमन्त्रीका रूपमा चिनिएका ओलीका पनि खास कोही देखिएनन् ।

महेश बस्नेत बाहेक उनका लागि काँध थाप्ने पात्र अरु कोही भेटिएनन् । करिब पचास वर्ष राजनीति गरेका ओलीको त्यही महेश बस्नेत बाहेक को आयो र उनलाई म छु भनेर साथ दिन ? के ओलीको यतिलामो राजनीतिक कालमा महेश बस्नेत मात्रै हुन् दुख पर्दाका खास सारथि । अरु सबै शक्ति र सत्तामा भएको बेला अवसर लिने मात्रै भएनन् र ?

उता, प्रचण्डको अवस्था पनि उस्तै टीठ लाग्दो छ। हिजो प्रचण्डले गोडा चाल्दा पनि धर्ती हल्लिनथ्यो। विरोधीहरु उनी खोक्दा पनि थरर मुटु कमाउँथे। प्रचण्डको त्यो गर्जनको कम्पन चानचुने थिएन। उनका अघि पछि बटालियन हुन्थे । उनी सुप्रिमो, कमाण्डर, आदि इत्यादिले बलशाली थिए । प्रचण्ड उभिएको स्थानमा लाखौ मानिसहरु उभिन्थे । उनले दिएको कासनमा लाखौ युवा मार्न र मर्न तयार हुन्थे ।


शान्तिकालीन समयको शुरुवातमा सिंह झै गर्जिने प्रचण्ड आजभोलि स्याल झै भएका छन्। उनका अभिव्यक्ति र कदमहरु फिक्का लाग्ने गर्दछन् । प्रचण्डको त्यो प्रचण्डीय तेज यतिबेला मधुर बत्ती झै छ। निभ्नै आँटेको बत्तीबाट नयाँ पुस्ताले आशा र अपेक्षा गर्ने कुरा पनि भएन।मुलुकको तीन पटक प्रधानमन्त्री भएका उनी निकै शक्तिशाली थिए, वैभवशाली थिए। तर, कालान्तरमा उनी युद्धबाट पराजित सिपाही जस्ता भएका छन् ।

हिजो जयजयकार गर्ने सहकर्मी र कार्यकर्ता छैनन् ।देउवा, ओली र प्रचण्डपछि जसरी लाखौं मान्छे पछि लाग्थे। अहिले अप्ठ्यारो पर्दा कोही छैनन् र हुन्नन्। जीवन राजनीतिका नाममा बेधर्मलाई सहजै मरन पनि नहुन सक्छ। देश र जनता माथि गरिएको षड्यन्त्र र छलकपटको पाप बेस्सरी लाग्न सक्छ। पार्टी र सत्ताको धागो पूर्णरूपमा चुँडिएको आफू कोही नहुन सक्छ।यस्तो नियति यी तीन नेताले भोग्ने पक्का छ।

यसर्थ सत्य के हो भने सत्ता, शक्ति, सम्पत्ति र सन्तान हुँदैमा कोही स्थायी हुदैन । यी सबै भ्रम हुन्। अहंकार र अभिमानका पोका हुन्। जुन दिन यी सबै नकाम हुन्छन्। त्यत्तिबेला मानिस एक्लो हुन्छ ।

मृत्यु सत्य हो । एकदिन मर्नुछ भने बाँचुन्जेल शक्ति, सम्पत्ति र वैभवको ध्वाँस देखाएर कुनै अर्थ छैन । जुन अहिलेको समाज मात्रै होइन प्राचीन कालदेखि सिद्ध हुँदै आएको तथ्य हो ।


सत्यविरुद्ध टिकेको शक्ति क्षणभरमै ध्वस्त हुन्छ । जनताको समर्थन बिना पद असहाय हुन्छ । कार्यकर्तालाई केबल प्रयोग गर्ने प्रवृत्तिले संकटमा नेतालाई एक्लो बनाउँछ । विवेक, न्याय र सहकार्य बिना कुनै पनि बल दीर्घकालीन हुँदैन ।

रामायण र महाभारतले सिकाएको जस्तै आजको नेपाली राजनीतिमा पनि शक्ति दम्भ, असत्य र मनपरी नेतृत्व अन्ततः पतनतर्फ धकेलिन्छ ।शक्ति भएर मात्र हुँदैन भन्ने कुरा इतिहास र वर्तमान दुवैले देखाएका छन् । शक्ति, विवेक, न्याय, समय र सहकार्यको सन्तुलन नै वास्तविक बल हो ।

यही वास्तविकतलाई बोध गरी यी तीन शीर्ष नेताहरूर्ले आत्मसात् गर्न सके भने अझै पनि सम्मान पाउन स्थान रहन सक्छ । यदि त्यसो नगरी अझै पनि पार्टी र सत्तामा फर्किने लोभ गर्ने हो भने महाभारत र रामायणका वीरहरुले जे जस्तो नियती भोगे, उनीहरुको जे जसरी अत्यन्तै दुर्दान्त भोगे । त्यस्ते ओली, देउवा र प्रचण्डले पनि भोग्नेमा कतै द्धिविधा नहोला की ?

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : १९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित