१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

घोराही उपमहानगरपालिकाद्वारा संघ र प्रदेश अनुदान कानुन विपरीत करिब ४९ लाख एनजीओलाई भुक्तानी


११ असार २०८२, बुधबार  


संघ तथा प्रदेशबाट प्राप्त अनुदान घोराही उपमहानगरपालिकाले पालिकाभित्रका विभिन्न नामधारी एनजीओलाई कानुन विपरीत पैसा भुक्तानी दिएको पाइएको छ। महालेखा परीक्षकको बैसठ्ठी औ प्रतिवेदन अनुसार पालिकाले कानुन विपरीत करिब ४९ लाख रकम बाँडेको पाइएको हो ।

संघबाट प्राप्त रकम स्थानीय पूर्वाधार विकास र दीर्घकालीन पूँजी निर्माण हुने कार्यमा खर्च गर्नु पर्ने कानुनी व्यवस्था छ।

तर, पालिकाले प्रचलित कानुनको बर्खिलाप हुने गरी आफूखुशी एनजीओ तथा सहकारीलाई ४८ लाख ८२ हजार ९७० बाँडिएको पाइएको छ। महालेखा परीक्षकले पालिकाले नाफा कमाउने उदेश्यले स्थापना भएका यस्ता संघ संस्थालाई रकम बाँड्न नहुने भन्दै प्रश्न गरेको छ।

महालेखा परीक्षककाे कार्यालयले पालिकाबाट प्राप्त विवरण अनुसार कानुन विपरीत यस्ता प्रकारका रकम बाँडिएकोले यो आर्थिक अनियमितता भएको ठहर गरेको छ।

पालिकाबाट यसरी कानुन विपरीत रकम लिनेमा अनुग्रह सुसमाचार मण्डलीले ५ लाख, रोल्पाली समाज ६ लाख,धर्ना साना किसान सहकारी संस्था १ लाख ५० हजार, थारु कल्याणकारी सभा ५ लाख, नगरपालिका संघ १५ लाख,पत्रकार महासंघ ३ लाख,डाङडुङे समाज २ लाख ९१ हजार,नेपाल पूर्व प्रहरी संगठन १ लाख ९२ हजार,दाहाल प्रतिष्ठान ३ लाख ४ हजार ९७० र सुनौलो भैसीपालन कृषक समूहले १ लाख ४५ हजार रुपैया लिएका छन्।

कानुन विपरीत बाँडिएको रकमको विवरण महालेखा परीक्षकले तयार पारेको घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१को आर्थिक प्रतिवेदनको बुँदा नम्बर ११ को नाफामूलक संस्थालाई लगानी शीर्षकमा उल्लेख छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : २२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित