सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक आह्वान गरेको छ।
सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले अव्यवहारिक विषयहरु संसोधन नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सबैमा आग्रह गरेको हो।
महासंघको विज्ञप्तीमा भनिएको छ, ‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरुबिचको छलफल संवादकाबीच देखिएका अव्यवहारिक विषयहरुको संशोधन र सुधारविना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट यस्ता खाले इम्बोस्ड नम्बर प्लेट जडान नगर्नु हुन सबैमा हार्दिक अनुरोध छ।’
जबरजस्ती प्लेट जडान गर्न खोजिए हुने विरोध र दबाबका गतिविधिप्रति स्वयं यातायात मन्त्रालय मातहतका निकाय नै जवाफदेही हुने भन्दै महासंघले चेतावनी दिएको छ।

नेपाली भाषाको देवनागरी लिपी लोप हुने तथा आवश्यक पूर्वाधारविना नै नागरिक र सिंगो यातायात व्यवसायमा आर्थिक भार हुने गरी एक पक्षीय रुपमा भएको सरकारको निर्णयका कारण नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने महासंघको ठहर छ।








