लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाको धन्दा बाहिरिएको छ । आफूलाई रोज राणा भनेर चिनाउने यी मन्त्री पछिल्लो समय विवादमा तानिएका छन् ।
बजेट निर्माणको समयमा गोली हान्ने धम्की दिएर विवादित बनेका मन्त्री थापाले व्यक्तिगत जग्गा प्लटिङमा सरकारी बजेट खर्च गर्नेदेखि श्रीमतीलाई स्वकीय सचिवको सुविधा दिनेसम्मका अनेक धन्दा गरको आरोप छ ।
चलचित्र क्षेत्रमा रोज राणा भनेर चिनिने यी मन्त्री थापाले कुनै समय डान्सबारहरुमा नग्न नृत्य गराउने गरेको समेत खुलेको थियो । अहिले मन्त्री हुँदा पनि उनको रवाफ भने कम भएको देखिन्न ।
राजनीतिमा पनि गुण्डाराज शैलीमा प्रस्तुत हुने मन्त्री थापाले आफ्नो आमा नमीदेवी थापाको नाममा रहेको जग्गाको प्लटिङका क्रममा बाटो बनाउनका लागि सरकारी बजेटको दुरुपयोग गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।
लुम्बिनीको सहरी विकास तथा खानेपानी मन्त्री रहेका थापाको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित खेतमा प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा सडक निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यसको लुम्बिनी प्रदेशका सांसदहरुले नै चर्को विरोध गरेका छन् । त्यसैगरी उनको अर्को काण्ड भनेको उनले आफ्नो श्रीमतीलाई नै स्वकीय सचिव बनाएर जनताको करबाट उठेको रकमबाट तलब सुविधा उपलब्ध गराइरहेको पनि पाइएको छ ।
लामो समय काठमाडौंमा गुण्डागर्दी गरेको आरोप लागेका थापा २०७९ को निर्वाचनमा प्यूठानबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । आरजु राणाको निकट मानिने थापालाई संगठनमा रहेर काम गरेकाहरुलाई बाइपास गर्दै उम्मेदवार बनाइएको थियो ।
उनै थापाले पार्टीमा लामो समय लागेका विज्ञहरु हुँदाहुँदै पनि श्रीमतीलाई नै स्वकीय सचिव बनाएर सरकारी सुविधाको दुरुपयोग गरिरहेको आरोप लागेको छ। डन मन्त्रीको रुपमा समेत चिनिने यीनीको राजनीतिक योगदान भन्दा पनि बाहुबली धेरै भएका नजिरहरु छन् ।
यसले लुम्बिनी प्रदेशका विभिन्न तहमा रहेर संगठन निर्माण गरेका कांग्रेस कार्यकर्ताहरुमाथि ठूलो अन्याय भएको भन्दै विरोधहरु भइरहेका छन् ।
नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीको कार्यकर्ता भएर आफ्नो निजी स्वार्थपूर्तीमा लागेका थापाजस्ता पात्रका कारण पार्टी नै बद्नाम हुने स्थिति सिर्जना भएको छ ।
यस्तै पात्रका कारण भ्रष्टाचार बढेको भन्दै सिंगो सरकारी संयन्त्र खरानी हुने गरी भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । यद्पि जेनजीले सत्ता परिवर्तन गरे पनि भ्रष्टाचारका संयन्त्रहरु पनि यथावत रहेको र अहिलेको सरकारले पनि भ्रष्टाचारलाई नै प्रश्रय दिइरहेको देखिन्छ ।








