१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

नयाँ गन्तव्यको सम्भावना: ‘सरजु–शिवालिक अपल्याण्ड इको–ट्रेल’ !


२७ पुस २०८१, शनिबार  



आफ्नो सुगन्ध थाहा नपाएर जंगल चाहारेको हरिणको कथा जस्तै छ, दाङको सम्भावनाहरुको विषय पनि । प्राकृतिक, पुरातात्विक, धार्मिक र संस्कृतिको अनुपम गन्तव्य भएपनि दीगो पर्यटनको दूरदृष्टि नहुँदा धेरै सम्भावनाहरु छायाँमै परेका छन्। एकातिर पूर्वाधारको उस्तै समस्या छ, भने अर्काेतिर पर्यटकीय सम्भावनाको खोज तथा अनुसन्धानसंगै प्रवर्वधनकाे विषयमा चासो नहुँदा यस्ता महत्वका विषयहरु ओझेलमा परेका हुन्।


पछिल्लो समय घोराही उपमहानगरपालिका वडा नम्बर १ को अगुवाइमा सरजु नदीको उद्गम स्थलको प्रचारप्रसार गरी धार्मिक पर्यटनलाई विकास गर्न भन्दै केही प्रयासहरु गरिएका छन् । हजारौ वर्षदेखि सरजु नदीको उद्गमस्थलको विषयप्रति कसैले चासो नदिएको बेला राम मन्दिर स्थापना गरी प्रवद्र्धनको अभ्यास थालिएको छ।

पर्यटनको विषय एक अर्कासंग अन्तरनिहित मात्रै छैन, यो क्षेत्र बृहत पनि उस्तै छ।सरजु नदीको किनार धारापानीमा पाण्डवेश्र धाम भनेर पूर्वाधार र प्रवद्र्धनमा लगानी गरिएको छ, राज्यको भन्दा बढी दाताहरुको साथ र सहयोगबाट यसले नयाँ उचाइ बनाएको हो । यसलाई पनि सरजु नदीसगै जोडेर अघि बढाउनुपर्ने संस्कृतिविद् सुन्दर गौतम बताउँछन्। उनी भन्छन्,”सरजु नदीको उद्गमस्थलदेखि अयोध्यासम्मको महत्वलाई विश्व बजारमा पुराउन सक्ने हो, भने यहाँको पर्यटनको नयाँ नयाँ सम्भावनाहरु खुल्दै जानेछन्। पछिल्लो समय स्थानीयहरुकै पहलमा सरजु नदीको उद्गम स्थलको प्रवर्धानात्मक काममा जनप्रतिनिधिको नेतृत्वमा भएको छ। यसले केही सकारात्मक परिणामहरु देखिन थालेको छ।”


पक्कै पनि गएको केही वर्ष यता दाङको पर्यटनको लागि नयाँ सम्भावनाको रुपमा सरजु नदीको उद्गम स्थलको प्रवर्धानात्मक विकास हुँदै गएको छ। योसंगै यस क्षेत्रको पर्यटनको नयाँ सम्भावनाको रुपमा सरजु–शिवालिक अपल्याण्ड इको–ट्रेलको उत्तिकै सम्भावना पनि देखिन्छ। यहाँको पर्यटनको क्षेत्र विस्तारका लागि यो नयाँ पदमार्ग कोसेढुंगा सावित हुन सक्छ।


सरजु नदीको उद्गम स्थलदेखि शितलपुरसम्मको पदमार्गलाई रेखाँकन गर्न सक्ने हो, भने यहाँ पर्यटकहरुलाई दाङमा धेरै बसाल्न सकिन्छ, त्यसको लागि पदमार्गको रेखाँकन पहिलो शर्त हो। त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंगै निजी क्षेत्रको पनि चासो बढ्नु उत्तिकै जरुरी छ। सरकारले वातावरण बनाइदिन सक्ने हो, भने निजी क्षेत्रले लगानी गर्न अघि सर्ने निजी क्षेत्रका अगुवाहरु बताउँछन्।

धारापानीको अहिले जे जति विकास भएको छ, त्यो करिब एक दशकको अथक मेहनत र प्रयासले भएको हो। त्यसैगरी पछिल्लो समय सरजु नदीको उद्गम स्थलको विस्तारै प्रचार प्रसार भइरहेको छ। स्थानीयको सक्रियतासंगै सञ्चार क्षेत्रको योगदानले यसको महत्व उजागर भएको स्थानीय अगुवा खेमराज खनाल बताउँछन्।


२०७३ साल भदौ २४ गते सरजु नदीको मुहानको खोजी भएको थियो, बदिया र दाङका अगुवाहरुको पहलमा यो विषय बाहिर आएको थियो, त्यस यता स्थानीय अगुवाहरु अघि सरेपछि यसको महत्वले क्रमश उचाइ पाउन थालेको हो ।

सरजु नदीको मुहानको पानी निकै पवित्र छ, यस पवित्र जल शरीरमा सिंचन गरेमा भगवान रामप्रतिको श्रद्धा पूर्ण हुने धार्मिक विश्वास रहेको घोरोही उपमहानगरपालिका १ का वडाध्यक्ष राममणी पाण्डे बताउँछन्। सरजुको मुहान नै दाङमा भएकोले यसलाई अयोध्यासंग जोडेर यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने योजना भएको पनि उनी बताउँछन्। उनी भन्छन्, “सरजुको मुहानको पवित्र जललाई ब्राण्डिङ गर्ने गरी योजना अघि बढेको छ। सबैको साथ र समर्थन रहेमा धार्मिक पर्यटन विकास गर्ने उदेश्य हासिल हुनेछ ।”

नदीको मुहान अवलोकसंगै भगवान रामको दर्शन गर्ने पाइनेछ, यहाँ । स्थानीय परिकारदेखि सत्कार र संस्कार पनि उत्तिक राम्रो छ। घोराही बजारदेखि करिब १० किलोमिटर पूर्व पर्ने भएकोले पनि यो भूमि अत्यन्तै पावन्य छ। जंगलको बीच भागबाट नदीको उत्पत्ति हुने भएकोले पनि यो आफै निकै रमणीय भएको हो । यही रमणीय र आध्यात्मको गन्तव्यलाई प्रस्थान विन्दु राखेर पदमार्गको रुपमा विकास गर्न सकिने प्रवल सम्भावना देखिन्छ। विशेष गरी चुरेका उपल्लो खण्डलाई जोडेर पदमार्गको रुपमा विकास गर्न सकिने सम्भावना देखिएको हो ।

सरजु नदी उदग्म स्थल सिमलटारादेखि बंगलाचुलीका विभिन्न गाउँहरु हुँदै धिमधिमेलेक भएर शान्तिनगरको सुइकोट पुग्न सकिन्छ, सुृइकोटदेखि दंगीशरण हुँदै शितलपुरबाट टरिगाउँ विमानस्थलसम्म पुग्न सकिन्छ। यसरी पदमार्गको रेखाँकन हुन सक्यो भने पर्यटकका लागि दाङ बसाइ एक हप्ताको हुने देखिन्छ। यही रुटलाई योजनामै पारेर काम गर्न सकिने बंगलाचुली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष र्मैते पुन मगर बताउँछन्। उनी भन्छन्, “बंगलाचुलीका धेरै यस्ता बस्तीहरु समेटेर पदमार्र्ग बनाउन सक्ने हो भने यसले ग्रामीण अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ।” ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने यो अभियानको शुरु हुनपर्नेमा उनी जोड दिन्छन्।
वडाध्यक्ष पुनले भने जस्तै निकै सम्भावना भएको नयाँ अवधारणाहो, सरजु शिवालिका इकोट्रेल । यदी यो प्रस्तावित पदमार्गको रेखाँकनसंगै प्रवद्र्धन हुन सकेमा सरजु नदीको दर्शनपछि पहाडी मनोरम बस्तीमा रैथाने परिकार र संस्कृतिको अनुभव गर्नुको साथै प्रकृतिको अनुपममा छटामा पैदल यात्राको फरक अद्भुत आनन्द लिन सकिन्छ।

यसको लागि नयाँ सम्भावनाको रुपमा सरजु–शिवालिक इको–ट्रेलको अवधारणालाई नीति तथा कार्यक्रममा समेटेर अघि बढाउन सकेमा यस क्षेत्रको आर्थिक उनयन् हुने घोराही उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष डुल्लुराम पोखरेल बताउँछन्। उनी भन्छन्, “यस क्षेत्र विकासको दृष्टिकोणले मात्रै पछि परेको छैन, अथाह सम्भावना भएरपनि पर्यटकीय महत्वले पनि ओझेलमा परेको छ। राज्यले नयाँ सम्भावनाको रुपमा विकास गर्ने गरी नीति तथा कार्यक्रम बनाउने हो, भने यस क्षेत्रको मुहार फेरिने थियो ।”


उनका अनुसार सिमलटारदेखि धिमधिमे लेक,मौलाकोट, मारोकोट,घुगुटे,श्रीचौर, भल्डाँडा, गौधारा,छाप, गूरौ, ताचलादेखि तुल्सीपुर उपमहानगरपालिकाको छिल्लीकोटसम्म पुग्न सकिन्छ। त्यहाँबाट शान्तिनगर गाउँपालिकाको सुइकोटदेखि दंगीशरण अनि शितलपुरसम्म रुट बनाउन सकिने सम्भावना देखिन्छ। यो सम्भावनालाई टेकेर खोज तथा अनुसन्धान गर्ने हो, भने दाङको पर्यटनमा ठूलो टेवा पुग्ने पनि वडाध्यक्ष पोखरेलले बताए ।


पक्कै पनि चुरेको माथिल्लो यो खण्डभित्र दर्जनौ बस्तीहरु छन्, यो चुरेको श्रृंखला र यही श्र्रृखलामा रहेका ग्रामीण बस्तीहरु निकै लोभलाग्दा छन्। उत्तरतिर हेरे धवलागिरी हिमश्रृंखलामा पर्ने धवलागिरी हिमालदेखि पश्चिममा सिस्ने हिमालसम्मका दृष्य हेरेरै थाक्दैन आँखा ।

दक्षिण फर्कियो भने दाङ र देउखुरीको सुन्दर बस्तीहरु । पूर्वबाट पश्चिम बग्दै गएको राप्ती नदी देउखुरीको धर्ती छिचोल्दै अघि बढ्छ। नदी किनारका राप्ती गाउँपालिका , लमही नगर र गढवापालिका बस्तीहरु देखिन्छन्। दक्षिण अवलोकन गर्दा दाङको विशाल फाँट र यी फाँटमा फैलिएका मनोरम शहरउन्मुख घोराही, तुल्सीपुर, शान्तिनगर, दंगीशरण लगायतका बस्तीहरुले सबैलाई मोहित बनाउन सक्छन्।

चुरेका उपल्लो खण्डका घना वन जंगल, बाह्रै महिना चलिरहने शितल हावा, अनि गृष्मकालीन ऋतु, साँच्चिकै स्वर्गको आनन्द दिन्छ यस धर्र्तीले। शरद ऋतुको बेलामा पनि उत्तिकै सुन्दर र रमाइलो छ, यो ठाउँ । अकाश खुलेको बेला निलो आकाशमुनि उत्तरतिर लहरै फैलिएका हिमश्रृखला र दक्षिणतिरका मैदानी भागको मजाले अवलोकन गरेर पर्यटकले दिन बिताउन सक्छन्, भने रातमा मौलिक नाँच गान अनि रैथाने परिकारको स्वादसंगै बिहानीको सूर्यको किरणसगै स्पर्श गर्दै गन्तव्य पूरा गर्न सक्छन्। यति ठूलो सम्भावनालाई नीतगत तहमा बस्नेहरुले गहिरो गरी मनन् गर्ने हो भने दाङको आर्थिक संवृद्धिका लागि यो एउटा गज्जबको कोशेढंगा बन्ने थियो कि ?

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ९ : २८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित