अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।
गएको भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनले सम्बोधनमा गएको भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गतेको तोडफोड र आगजनी, त्यसको पुनर्निर्माण तथा तत्कालीन सरकार पक्षबाट भएको दमनलगायत विषय समेट्नेछिन्।
यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति घोषणा गरेको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन राजनीतिक दलबीच सहमति र समझदारी आवश्यक रहेको बताउँदै सबैलाई आह्वान गर्ने तयारी गरेकी छन्।
उनको सम्बोधनमा आन्दोलनका क्रममा निधन भएका ७४ जनाका परिवारलाई राहत, घाइतेहरूको उपचारलगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
सरकारले यसअघि नै प्रतिमृतक परिवारलाई १५–१५ लाख रुपैयाँ राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ।








