-देविका कुँवर
वर्तमान समाज सत्य र आदर्श भन्दा पर पुगेको छ। न्यूनतम मानवीय चेतना गुमाउँदे आफ्नो मूल्य मान्यता चटक्कै विर्सेको छ। सार्थक र मूल्यवान जीवनलाई भाइरल बन्ने विकृतिजन्य होडमा आफूलाई कुरुप र दुर्गन्धित बनाएको छ। सर्वश्रेष्ठ प्राणी दाबी गर्ने उसले देखाउने प्रदर्शन निकै नग्न छ। स्वतन्त्रताको नाममा सामाजिक बथानमा उसले देखाउने विकृतिजन्य भाउँतो हेर्न नसकिनेछ । यही विकृतिजन्य भाउँतोमा उ रमाइरहेको छ। आधुनिक समाज हो, स्वतन्त्र समाज हो भन्दै तर्क गरेर आफ्नै मूल्यमान्यता र परम्पराको गला निमोठ्ने प्रवृत्ति ऐजेरु झै झाँगिएको छ ।
सूचना प्रविधिको तीब्र विकासको उपयोगबाट समाज र देशलाई योगदान दिनुपर्ने नयाँ पुस्ता अश्लिल शब्द र दृष्यका सामग्री निर्माण गर्नेदेखि हेर्नेहरुको ठूलो ताँती छ। सामाजिक सञ्जाल टिकटकदेखि फेसबुकका भित्ताहरुमा छरपस्टै देखिने यी दृष्यहरु परिवारसंग बसेर पनि हेर्न सकिन्न। नग्नता, अश्लिता, छाडा र उदण्डता, अशिष्ट र अमर्यादित यस्ता सामग्रीप्रति समाजको मोह र प्यास अस्वभाविक मात्रै छैन, भ्यूज बढाउन र डलर कमाउने नाममा यौनजन्य क्रियाकलाप समेटिएका यस्ता सामग्री हेर्नेहरुको ठूलो ताँती छ। यौनका कुराको अत्यधिक मसला प्रयोग गरिएपछि मानिसहरु खोजी खोजी दृष्य हेर्ने होड नै छ। उनी (महिला)हरू छोटा -वस्त्र र गोप्य अंगको खुलेआम प्रदर्शन गरेर प्रडुसरको साधन बनिरहेका छन्, यस्तो प्रवृत्तिमा दुरुपयोग हुनेको संख्या महिलाहरु नै छन् बढी । यीनै दृष्यहरुमा कामुक बन्दै रमाइरहेको छ, आधुनिक भनेको पुस्ता।
सञ्जालको विकास र विस्तारपछि मानिसहरुको पहुँच सहज भएको छ, जुन विकासको दृष्टिकोणले एउटा युगान्तकारी परिवर्तन हो । तर, सञ्जालको भित्तो आज फोहोरी भएको छ। सभ्य र शिष्ट मानिसले हेर्न नसक्ने अवस्थामा पुगेको छ। समाजलाई बर्बादीतिर लैजाने सामग्री प्रदर्शनमा रोकावट कही कतैबाट भएको देखिन्न। बरु, स्वतन्त्रताको हवाला दिएर हौसाउने गरिएको पाइन्छ।
उदाहरणका लागि तीजको गीतमा ठूलो विकृति देखिन्छ।तीज गीत हो,या रत्यौली बडो अलमल हुन्छ,हर कोहीलाई । तीज हजारौ वर्षदेखि महिलाहरुका कथा बुनिएको एउटा लोकश्रुतीमा आधारित मौलिक सिर्जना हो। महिलाका संघर्ष, कथा र व्यथाको मौखिक संग्रह हो। तर, पछिल्लो समय तीज गीत सम्बन्धि प्रशारित सामग्री रत्यौली भन्दा फरक हुन्नन्। बरु मिलियन भ्यूजका नाममा यस्ता सामग्री उत्पादन गरिन्छ। तीज आयो, भन्ने बित्तिकै, माइत गइ दिदी बहिनी, साथी संगीसंग भेला भइ पूजा व्रत बस्ने गरिन्छ। यही व्रतको मौकामा दुख -सुखका कुरा गीत मार्फत सुनाइन्छ र सुनिन्छ, नाँचिन्छ रमाइलो पनि गरिन्छ।महिलाहरुको संघर्षको गीती कहानीमा मनोरन्जन लिने चाडलाई तीजको रुपमा लिइनुपर्ने हो । विडम्बना, आजभोलि तीज भन्ने बित्तिकै दर सम्झन्छन्, एक दुइ महिना अगाडि देखि दरको नाउमा, पार्टी प्यालेसमा ह्युस्कि र बियरसंगै रमाइ रहेको छाडा भिडियो संजालमा खुबै देख्न सकिन्छ ।गहना र कपडाको प्रदर्शनी त सामान्य कुरा जस्तै भो । दरको नाउँमा नखानेकुरा खाएर प्रदर्शन गरि भाइरल हुने लहडमा अधिकांश महिला दिदीबहिनी आफ्नै अस्तित्व र अस्मिताकै ख्याल गरेको देखिन्न ।
भाइरल हुने सन्दर्भमा निर्माण भएका यस्ता तीजको गीत हेर्ने हो, भने महिलाको इज्जतलाई कति हदसम्म गिराइएको छ, भन्ने कुरा सहजै बुझ्न सकिन्छ। महिलालाई कुनै वस्तु झै उपयोग गरिएको छ, हरेक उत्पादनमा । उसलाई नंग्याएर यौनिक मनोरन्जन लिइरहेको छ, समाजले । स्वयं महिला पनि भाइरल हुने रहर र लहडमा आफ्नो अस्तित्व नै दाउँमा राखेर क्यामेराका अघि नांगो बन्न तयार हुन्छिन् ।सामाजिक मूल्य मान्यता र मर्यादा भन्दा पनि उनलाई भाइरल बन्ने रहर धेरै हुन्छ।समाजलाई व्यस्थित गर्ने राज्यले हो, राज्यको कानूनबाट हरेक समाज बाँधिएको हुन्छ,तर, राज्य चलाउनेहरुको रमिता पनि उस्तै छ।
अर्काेतिर उनीहरु देश नंग्याई रहेका छन् भने,भाइरल हुने होडबाजीमा कला संस्कृति पनि नांगिदै गएको छ। अश्लिलता र छाडापनले एउटा छुट्टै अश्लिल समाज र अराजक समाज निर्माण गरेको छ ।यहाँ जीवन उपयोगी विचार र दृष्टिकोण सुन्न चाहादैन समाज । बरु तिनै भाइरल बन्नेहरुको चित्र र चरित्र हेरेर आनन्द मानिरहेको छ, विद्यमान समाजले । यस्तो विकृतिजन्य प्रथा जे जसरी समाजमा जरो गाड्दै गएको छ। यसलाई बेलैमा मर्यादित र व्यवस्थित गर्न सकिएन भने भोलिको पुस्ताले धिर्काने छ।
सूचना प्रविधिको उपयोग गरौ, सार्थक र मर्यादित समाज निर्माण गरौ। मान्छे भएर मान्छेकै तहमा जीवन जिउन र भविष्य बनाउन प्रयत्न गरौ। भाइरल बन्ने नाउँमा विकृतिजन्य भाउँतोबाट समाजलाई सधै टाढै राखौ, सभ्य मानव बनेर इतिहास रचौ।
7:12 AM