२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

प्रधानमन्त्री ओलीलाई निम्तो दिन नरेन्द्र मोदीका दुत नेपाल आउँदै


१ भाद्र २०८२, आइतबार  



भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार नेपाल आउँदै छन् ।

परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार मिश्रीको भ्रमण तालिका सार्वजनिक गरेका छन् । विदेशसचिव भएपछि उनी दोस्रोपटक नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विदेशसचिव मिश्रीका अधिकांश भेटवार्ता आइतबारै हुनेछन् । आइतबार नै नेपाल र भारतका परराष्ट्रसचिवहरूबिच औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक अन्य विषयलगायत नेपाल–भारत साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशसचिव मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सचिव मिश्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । प्रधानमन्त्री ओली यही भदौ अन्तिममा भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ ।

ओलीले अनौपचारिक निम्तो पाइसकेका छन् । औपचारिक निम्तोका लागि विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भ्रमणको कार्यतालिका सार्वजनिक नगरे पनि प्रधानमन्त्री कार्यालयले ३१ भदौदेखि असोज १गतेसम्म प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तय भएको छ ।

प्रधानमन्त्री ओली भदौको दोस्रो साता चीन जाने भएका छन् । चीनको बन्दरगाह सहर तियान्जिनमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)को शिखर सम्मेलनमा ओली सहभागी हुने भएका हुन् । चीनमै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता हुने भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित