२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

माओवादी पुनर्जीवनको औजार, ‘आन्तरिक लोकतान्त्रिकरण’


४ आश्विन २०८२, शनिबार  



संविधान माओवादीको दस्तावेज हो । जहाँ पूर्ण लोकतन्त्रदेखि जनतामा निहित सार्वभौम अधिकार सम्पन्न समावेशी गणतन्त्रको व्यवस्था गरिएको छ ।

संविधान आफैमा बलिदानको गर्भबाट जन्मिएको प्रगतिशील दस्तावेज हो । जहाँ हजारौ उत्पीडत, दमित, बहिस्कृत र अपहेलित वर्गको अस्तित्व, अपनत्व अधिकार लिपिवद्ध छन् ।

यति धेरै अधिकारहरु संविधानमा स्थापित हुनु दश वर्षे माओवादी जनयुद्धको ठूलो उपलब्धि हो । यो कसैले स्वीकारोस् या नस्विकारोस् यो इतिहासको वस्तुवादी यथार्थता हो ।

कुनै पनि आन्दोलनले सतप्रतिशत उपलब्धि कहिल्यै हासिल गर्र्दैन । क्रान्ति पनि एउटै तरिका र प्रक्रियाबाट कहिल्यै सम्पन्न हुँदैन । क्रान्तिका रुपहरु हुन्छन्, उदेश्य विद्यमान समाजको आमूल परिवर्तन गर्ने हुन्छ । तर, त्यो महान लक्ष्य हासिल गर्न विश्व समाज र परिवेश अनुसार बदलिन्छन् र अघि बढेका हुन्छन् । माओवादी जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु पनि क्रान्तिको तरिकामा क्रमभंगता हो । जसलाई माओवादी सुप्रिमो प्रचण्डले निरन्तरतामा क्रमभंगता भनेर व्याख्या गरेका थिए ।

पक्कै पनि क्रान्ति भनेको आजको भोलि भैहाल्ने कुरा पनि होइन । यो निरन्तरताको क्रमभंगता हो । यो कुनै एउटा नेताले मात्रै पूर्ण गर्ने विषय पनि होइन । उदाहरणका लागि चीनमा सांस्कृतिक क्रान्ति माओले सन १९४९ सम्पन्न गरे । त्यो जनवादी क्रान्तिको पहिलो चरण थियो । क्रान्तिको उदेश्य भनेको रुपमा मात्रै होइन, सारमै बदल्नु हो । माओले चिनियाँ समाजको रुप बदले । त्यो रुपलाई सारमा बदल्न सन १९७८ मा देङ स्यायोपिङ नेतृत्वमा आए । उनले बिरालो कालो होस् या सेतो मुसा मार्नुपर्छ । उनको यो भनाइ वा सिद्धान्त संसारभर प्रख्यात छ । यथार्थ पनि यही हो ।

देङ स्यायोपिङले सोभियत संघको जस्तो समाजवादी मोडल असफल हुँदै गएको पनि देखे र अध्ययन पनि गरे भने पश्चिमा मोडलको भूमण्डिलीय पूँजीवादको जागरण र पुनर्जीवन कसरी भइरहेको छ ? कसरी उसले आफूलाई अघि बढाइरहेको छ ? अमेरिकी नेतृत्वको साम्राज्यवादी अर्थव्यवस्थाको उनले पनि राम्रोसंग बुझे । उनले परम्परावादी कम्युनिष्ट दर्शनबाट मात्रै चीनलाई विकासको नयाँ चरणमा पुराउन सकिदैन भन्ने कुरा राम्रोसंग बुझेका थिए । त्यही कारण बिरालोको रङ होइन, मुसा मार्छ या मार्दैन भनेर उनले भनेका हुन् । यही वास्तविकतालाई उनले बोध गरी चीनलाई उदारीकरणको बाटोमा अघि सारे ।

हालका राष्ट्रपति सीको नेतृत्वसम्म आइपुग्दा चीन संसारकै सुपरपावर अर्थात महाशक्ति भैसकेको छ । सन १९४९ देखि सन १९८० सम्म चीन विश्वका गरिब देशहरुको सूचिमा थियो । जनवादी क्रान्ति सम्पन्न भएपनि आर्थिक क्रान्ति विना चिनियाँ समाजको सपना पूरा हुनेवाला थिएन ।

यही कुरा नेपालको माओवादी आन्दोलनमा पनि ठ्याक्क लागू हुने कुरा हो । तर, गएको तीस वर्षमा माओवादी युद्धदेखि शान्तिको बाटोबाट अघि बढ्यो । माओवादी आन्दोलन जडतामा होइन, सिर्जनशीलतामा अघि बढ्नुपर्ने कुरामा कतै हेक्काको राखेको देखिन्न । शान्ति प्रक्रियाको करिब बीस वर्षमा माओवादी हिजोको जस्तो सैन्यवादी पनि रहन सकेन । संविधान अनुसार पूर्ण प्रजातान्त्रिकीकरण पनि हुन सकेन । माओवादी यस्तो भयो कि, यताबाट हेर्दा ‘गाई’ जस्तो,अर्काेतिरबाट हेर्दा ‘उँट’ जस्तो ।

वास्तवमा माओवादी के हो भन्ने अन्यौलता अझै छ । माओवादी सैन्यवादी संगठन होकी,प्रजातान्त्रिक शक्ति ? द्धिविधा जस्तो छ । प्रजातान्त्रिक शक्ति हो, भनौ भने अहिलेसम्म पार्टीको लोकतान्त्रिकरण भएकै छैन । ३६वर्षदेखि प्रचण्ड टीके अध्यक्ष छन् । वडादेखि पेरिसडाँडाको नेतृत्व गर्नेहरु भनसुन र मनसुनका भरमा पार्टीको जिम्मेवारीमा छन् । नेतृत्व विकासमा प्रजातान्त्रिक प्रणाली र पद्धतिबाट छनौटको अभ्यास भएकै छैन ।

प्रचण्डको वरिपरि परिक्रमा गर्नेहरुले पार्टीको ठूलो पदको जिम्मेवारी पाएका छन् । ती जिम्मेवारी पाएकाहरुले उस्तै परे वडा जित्ने हैसियत राख्दैनन् । पार्टीभित्र प्रत्यक्ष मतदानबाट नेतृत्व छान्ने हो भने आफ्नो मत बाहेक अरुको मत पाउने स्थिति समेत छैन । शान्ति प्रक्रियापछि पनि माओवादीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासै भएको छैन र गरिएको छैन । त्यसयता महाधिवेशनको आयोजना धेरै भए। सबै महाधिवेशनमा खल्तीबाटै पद बाँडफाँड गरिने कुप्रथा कायमै राखियो । संगठनमा माओवादीको चेहरा कहिले गाई जस्तो त, कहिले उटँ जस्तो देखियो । देशमा यति ठूलो लोकतान्त्रिक परिवर्तन ल्याउने माआवादी स्वयं आफू भने लोकतान्त्रिक हुनै सकेन ।


गाई बनाउन खोजिएको माओवादी यतिबेला उँट जस्तो भएको छ । भन्नुको तात्पर्य के हो भने माओवादी आन्दोलनको उदेश्य सही थियो र छ । तर, संगठन उँट जस्तो र आचरण कुम्भकर्ण जस्तो अल्छि । कतिसम्म भयो भने एकताका त चार हजार माओवादीका केन्द्रीय सदस्य थिए । कुनै हैसियत नभएकाहरुलाई पनि केन्द्रीय सदस्य बनाइयो । अहिले केन्द्रीय सदस्य भएकाहरु पनि त्यस्तै छन्। तिनलाई कसैले चिन्दैनन्। किनकी उनीहरुको सक्रियता र सिर्जनशीलता छैन । पद ओगटेर कुम्भकर्ण झै मस्त छन् । पिरामिड शैलीको पार्टी संगठन, छाता जस्तो बनाइयो र अहिले पनि उस्तै छ ।


यहाँ मुल प्रश्न के हो भने माओवादीले संविधानमा पूर्णलोकतान्त्रिक संरचनाको व्यवस्था त ग¥यो । समावेशीसहित समानुपातिकको व्यवस्था गर्न पनि सफल भयो । जसको परिणामहरु पनि देखिन थालेकाा छन् । उपेक्षित, दमित, अपहेलित शोषित र बहिस्कृत वर्ग राज्यको मुल प्रवाहमा आइपुगेको छ । आफ्नो अधिकार र अस्तित्वको लागि लड्न सक्ने भएको छ । यो हुनु माओवादी जनयुद्धको मुख्य देन हो । दुर्भाग्य राजकीयदेखि प्रशासनीक क्षेत्रमा अझै पनि टाठाबाठाहरुको वर्चश्व छ । तर, उपेक्षित वर्ग निरन्तर हस्तक्षेप गरिरहेको छ । आफ्नो अधिकार र अस्तित्वको आवाज उठाउन माओवादीले दीक्षित गरेको हो ।

यद्यपि संसदमा आरजु, मन्जु खाँण, मेनक पोखरेलदेखि नारायणी शर्मा , ज्ञानु बस्नेत, उमा माझी पौडेलहरु नेताकै परिवारभित्रका पात्रहरुले अवसर पाए । वास्तविक उपेक्षितहरुले अझै पनि पर्याप्त अवसर नपाएको यथार्थता पनि छ । पछिल्लो समय जेनजी विद्रोह हुनुको कारण यो पनि हो । यति मात्रै होइन, नेताका छोराछोरीको ऐश आराम र सुख सयल र मुलुकमा मौलाएको चरम भ्रष्टाचारले युवा शक्तिले विद्रोह गरेको हो । सत्ता र शक्तिको दुरुपयोग गर्दा मुलुकले ठूलो क्षति बेहो¥यो । माओवादी जनयुद्धपछि अब कहिल्यै मुलुकभित्र विद्रोहहरु नहुन् भनेर संविधानमा सबैको हक र अधिकार सुनिश्चित गरिएको हो । नेतृत्वले समावेशी र समानुपातिक प्रणालीलाई सही उपयोग गर्न नसकेपछि यस्तो परिस्थितिको विकास भएको हो ।


हामीले भुल्न नहुने उज्यालाका पाटाहरु पनि छन् । मुलुकमा विकृति मात्रै छैन, राम्रो संस्कृतिको पनि शुरुवात भएको छ । भौतिक विकास मात्रै होइन, मानवीय विकास पनि भएको छ । धेरै परको कुरा पनि होइन । २०६३ अघि रोल्पामा लाहुेर संस्कृति थियो । मगर बाहुल्य क्षेत्रमा छोरा जन्मिएपछि लाहुरे बन्ने प्रचलन जस्तै थियो । अधिकांश बेलायती र भारतीय सेनामा भर्ती हुने प्रथा नै थियो ।अहिले पनि पूर्णरुपमा बन्द भएको त छैन । तर,पछिल्लो पुस्ता अधिकांश निजामती क्षेत्रमा छ । हिजो शिक्षकहरु समेत बाहिरबाट ल्याउनुपर्दथ्यो । अहिले लोकसेवादेखि शिक्षक सेवा आयोगमा रोल्पाबाट अब्बल व्यक्तिहरु छनौट हुन्छन् ।

हिजो रोल्पालाई अविकास र दुर्गमको परिचय दिइन्थ्यो । अहिले भौतिक तथा मानवीय विकासमा सम्भवतः साविकको राप्तीमा रुकुमपछि दोश्रो स्थानमा आउँछ । राजनीतिक क्षेत्रमा त छदैछन्, नेताहरु । निजामती क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । उहिले लाहुरेको तयारी गर्ने नयाँ पुस्ता अहिले लोकसेवाको तयारी गर्दछ ।

यो सन्दर्भ हाम्रै दाङमा पनि लागू हुन्छ,हिजो जमिनदारको घरमा दासी जीवन जिएका भूमिपुत्र थारूहरुको जीवन बदिलिएको छ। राजनीतिदेखि प्रशासनिक क्षेत्रमा उनीहरुको जबजस्त उपस्थिति छ । पेशा, व्यवसाय, इलम र उद्यमबाट उनीहरु आत्मनिर्भर भएका छन् । उनीहरुको राजनीतिक सामाजिक चेतनामा मात्रै ठूलो परिवर्तन आएको छैन, आर्थिक जीवन बदलिएको छ । यी उदाहरण मात्रै हुन्। समग्रमा नेपालीको राजनीतिक सामाजिक चेतना र आर्थिक उन्नति भएको छ । भलै हामीले अपेक्षा गरे अनुसार नभएको पनि पक्का हो । अहिलेसम्म जे जति परिवर्तन भएको छ। यसको मुख्य श्रेय माओवादी हो । अपितु माओवादी अहिले रक्षात्मक अवस्थामा छ ।यो परिवर्तन माओवादीले नै ल्याएको हो । यसको जस लिने पनि उसैले हो ।

दुर्भाग्य राम्रो कामको प्रवर्धन गर्ने माओवादीहरुमा कला छैन, गला पनि छैन । शान्ति प्रक्रियापछि कुनैपनि शक्ति महाअल्छि छ भने ,त्यो हो माओवादी । यस्तो भयो किन ? माओवादीभित्रका आफूलाई बौद्धिक भन्नेहरु कहिल्यै विचार, विमर्श र बहस गर्दैनन्। विचारद्वारा पार्टी नेतृत्वलाई सच्याउन र जनतालाई शिक्षित गर्न त्यो तप्का कहिल्यै सक्रिय भएको देखिन्न । प्रेस सेन्टर लगायत कर्मचारी, शिक्षक र बुद्धिजिवीहरुको ठूलो पंक्ति पनि छ पार्टीभित्र । तर, प्रचण्डको भक्तिगान गरेर राजनीतिक नियुक्ति खान बाहेक उसले गरेको केही देखिन्न । पार्टी जीवनमा यो तप्काको ठूलो योगदान हुन सक्छ । अझ अहिलेको भर्चुअल दुनियाँमा सत्य कुराको वकालत गर्न धेरै सहज पनि छ । विचारहरु संप्रेषण गर्न हिजो जस्तो किताबको ठेलीहरु पनि चाहिन्न । मुल कुरा अध्ययन हो , त्यही कुरा माओवादीभत्र शून्य छ । सक्रियता पटक्कै छैन । पार्टीलाई सक्तत बनाउन निरन्तर उर्जा दिने वर्गको हालत यस्तो छ ।


माओवादी एक हिसाबले मृत भएको शक्ति हो । जीवन्त शक्ति सशक्त हुन्छ। तर, कुम्भकर्णहरुले भरिएको माओवादीबाट प्रचण्डले समाजवादको परिकल्पना गरेका छन् । यो उनको महाभुल हो । पार्टीको लोकतान्त्रिकरण र सशक्तिकरण विना पुर्नर्जिवन सम्भवै छैन । पार्टीको पुनर्जीवन विना माओवादी माओवादी जस्तो पनि बन्न सक्दैन । अझै पनि नेताका परिवारका सदस्यले पार्टी कब्जा गर्ने, अनि खल्तीबाट नेता छान्ने कुप्रथा कायम राख्ने हो भने माओवादी बौरिने कुनै सम्भव छैन ।

हालको पार्टीको सबै तह र तप्का विघटन गरी निर्वाचनको विधिबाट नेतृत्व छनौटको प्रजातान्त्रिक विधिको निशर्त लागू गरिनुपर्छ । प्रचण्डले आफू त्याग गरेर भएपनि तेश्रो पुस्ता लेखनाथ न्यौपाने र हिमाल शर्मा जस्ता युवाहरुलाई लोकतान्त्रिक विधिबाट पार्टीको जिम्मा लगाउने र आफू सर्वमान्य संरक्षक भएर बस्ने हो, भने माओवादीमा युवाको ठूलो आकर्षण बढ्न सक्छ । माओवादीबाट बाहिरिएका लाखौ शुभचिन्तकहरु पार्टीमा फर्कनेछन् ।

जब माओवादीले जनताको विश्वास हासिल पुनः गर्नेछ। तब उसले कुनै पनि दलसंग गठबन्धन गरेर अस्तित्व जोगाउनुपर्ने छैन ।पार्टी एकता गरौं भनेर दैलो -दैलो चाहार्नु पर्दैन । माओवादीलाई नेताको बथान चाहिएको होईन, जनता र धारिला कार्यकर्ता चाहिएको हो। जनताको बलमा बनेको विशाल संगठन भएको पार्टी चाहिएको हो।यसर्थ पार्टी एकता र गठबन्धन गरौ, भन्दै प्रचण्ड हिड्नु निरीहताको पराकाष्ठा हो, अब यो भूल प्रचण्डले दोहोर्याउनु हुन्न। बलियो पार्टी भए मुल प्रवाहमा निशर्त मिसिन आउँछन्।बलियो पार्टी भए,बरु, एमाले कांग्रेसलाई अस्तित्व जोगाउन मश्किल हुन सक्छ । यत्ति कुरा माओावदी भित्र लागू भए २०६४ भन्दा पनि ठूलो दल माओवादी बन्नेमा द्धिविधा नहोला की ?

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ९ : ३७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित