२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

रवीन्द्र मिश्रले न्यायाधीश समक्ष भने,’निर्दोषलाई थुनेर सरकारलाई निद्रा लाग्छ होला ?’


१४ बैशाख २०८२, आइतबार  


गएको चैत १५ गते राजावादी समूहले गरेको विध्वंससमा पक्राउ परेका रवीन्द्र मिश्रले आफू निर्दोष भएको न्यायाधीश समक्ष दाबी गरेका छन् ।

विध्वंस मच्चाएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र अहिले प्रहरी हिरासतमा छन् ।

पक्राउ परेका मिश्रलाई आईतबार अदालतमा उपस्थित गराइएको थियो । यसअघि गरिएको ३ दिनको म्याद थप सकिएसँगै आइतबार दिउँसो काठमाडौँ जिल्ला अदालतमा उनलाई उपस्थित गराएको थियो । त्यसक्रममा मिश्रले राज्यले चाह्यो भने एउटा नागरिकलाई जेरी घुमाएजस्तो घुमाइदिने बताएका थिए। बयानका क्रममा उनले न्यायाधीश समक्ष राज्यका अन्य सबै अंगहरु क्षयीकृत हुँदा पनि न्यायालय अटल, विवेकशील र निष्पक्ष भयो भने सिंगो राज्यलाई थेग्न सक्छ भन्ने विश्वासका आधारमा केही कुरा राख्न चाहन्छु भनेका थिए ।

म अलिकति कन्फ्युज्ड भइरहेको छु श्रीमान । यो राज्य, राज्य भनेर मैले राजनीतिक नेतृत्वलाई भन्न खोजेको, प्रहरी–प्रशासन, न्यायाधीवक्ता कार्यालय लगायतलाई होइन, राज्यले चाह्यो भने एउटा नागरिकलाई जेरी घुमाएजस्तो घुमाइदिन्छ ।

त्यो घुमाइएको गाँठो फुकाउन सक्ने भनेको एउटा न्यायालय मात्र हो । मेरो हकमा भन्नुपर्दा बयान सकियो । ११ दिनपछि तेस्रो बहसमा ममाथि अनुसन्धान गर्न जति दिन चाहिन्छ एकैचोटि थप्नुस भनेँ । १५ दिन थपियो । १५ दिनको बीचमा गएको चैत ३१ र वैशाख २ गते गरी मेरो बयान क्लोज भयो । १० गते फेरि यहाँ आइयो ।

१० गते आउँदा छुट्छु होला, मुक्ति पाउँछु होला भन्ने लागेको थियो । तर, त्यो दिन पनि छोडिएन । मविरुद्ध अरु कुरा कहीँ केही छैन । नाकै अगाडि अश्रुग्यास खसेपछि आँखाबाट आँशु तरतर झारेर नवराज सुबेदीलाई बचाएर फर्किएपछि म अलिकति आवेगमा आएकै हो ।

आमसभामा गएको व्यक्ति ध्यान गरेर त बस्दैन नि, अवश्य बोलिन्छ । सबैजना छरिएको देखेँ । एक ठाउँ आउनुस, अगाडि बढ्नुस भनेँ । अगाडि बढ्नुस भन्नुको अर्थ मैले प्रहरीमाथि जाइलाग भनेको हो रु संसदमा आगो लगाउँ भनेको हो रु घरमा ढुंगा हान भनेको हो रु

आन्दोलनमा आएको नेता बोल्छ । सहभागीको मनोबल बढाउन मैले अगाडि आउनुस भनेँ । त्यति भनेको भरमा एक महिनाभन्दा बढी हिरासतमा राख्ने रु यो न्याय भएन भन्ने अनुभूति हो श्रीमान । म यो देशमा केही गर्छु भनेर लागेको मान्छे हो । आजसम्म इमानको धरातलमा टेकेर कयौं प्रतिकुल अवस्थामा पनि नाक ठाडो पारेर हिँडेको छु । ५९ वर्षको भएँ । कति वर्ष बाँच्छु थाहा छैन । बाँकी जीवन नाक काटेर मर्न चाहन्न ।

यो मैले अघि भन्याजस्तै राज्य र राजनीतिक तह नै दोषि छ । जसले सरकारको प्रतिनिधित्व गर्छ, उहाँहरुमा पनि अलिकति विवेक त हुन्छ होला । एउटा निर्दोष मान्छेलाई हिरासतमा राखेर उहाँहरुलाई राति निद्रा लाग्छ होला र रु

श्रीमान यो दुर्भाग्यपूर्ण भयो । सबै घटनालाई एउटै बास्केटमा राखेर फैसला गर्नु न्याय हुन्छ जस्तो मलाई लाग्दैन । पञ्चायतकालमा अराष्ट्रिय तत्व भनेर जेलमा राख्नु र यो गणतन्त्रकालमा आस्थाको बन्दी बनाएर यसरी राख्नुमा केही फरक छैन ।

अन्त्यमा म अघिल्लो बेन्चमा बोलेको कुरा दोहोर्‍याउँछु । मेरो ८२ वर्षको गम्भीर बिरामी आमा, जो डिमेन्सीया रोगबाट ग्रस्त हुनुहुन्छ। र मलाई कहिले चिन्नुहुन्छ कहिले चिन्नुहुन्न, उहाँको कसम खाएर भन्छु, मैले राज्य विरुद्धको कसुर हुने, संगठित अपराध हुने कुनै काम गरेको छैन । आज आमाको मुख हेर्न दिन हो । १० गतेको बेन्चको आदेश अनुशरण गएर आज मलाई मुक्ति दिइन्छ र आमाको मुख हेर्न पाउँछु भन्ने विश्वास लिएको छु श्रीमान ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ३८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित