असार १५,यो पूर्खाले मानेको तिथि र पर्व हो। अनि किसानको स्वाभिमान र गर्व हो।उनै पूर्खाले प्रकृति र संस्कृति जोडेको। कृषि ज्ञान र सीप छोडेको। मानवीय जीवन पद्धति हो, कृषि संस्कृति हो।माटोसंगै हुर्केको। माटोमै लडिबुडी गरेको महाउत्सव हो, किसानको।मानो रोपेर मुरी फलाउन।वर्षदिनलाई अन्न पुराउन । पसिनाका मोती रोपेर सुनका ताँती झुलाउन।
पवित्र कर्म हो।धर्ती पाल्ने धर्म हो।जीवनभर माटोसंग खेलेर । दुख र अभाव झेलेर।धर्तीका सारालाई बचाउने ।खेतका गह्लामा धान झुलाउने। कृषि कला हो। यही कलामा गला मिलाउदै असारे गीत घन्काउने बेला हो।
कृषि युगको प्रारम्भदेखि चलि आयो। धान दिवस हरेक वर्ष फर्कि आयो। रोपारा ,बाउसे अनि हलीले। छुपु छुपु रोपिन धान परीले। खेतका गह्रामा गाउँदै रोपारा । घन्कियो नदी खोला किनारा।
यही आदिम उत्सवलाई सरकारले धान दिवस भन्दियो। धान रोप्न अजंगका र अनौठा ज्यान पुगे। हिलो देख्दा पिलो आउनेले कृषककै गफ चुटे।खेतको बीचमा डिच्च दाँत देखाएर,खिचाए फोटो। कहिल्यै हिलो नछोएकालाई लाग्ने भो अनौठो।
कसैका घाँटीमा धानको बीउको माला। कसैको खेतमा रत्यौलीको देखियो चाला । सुटिङ कि हुटिङको हो, बुझ्न कसले सकोस्। ३६५ दिनमा १ दिन खेतमा झरेर गफ चुट्नमा कसले यहाँ जित्न सकोस्। हलो ,अनो र जुवा थाहा छैन, उसलाई । धानबाट चामल छुटाउन चिन्दैन भुसलाई।किसानको पसिना गन्हाउछ उसलाई । एकदिन खेतमा पस्यो, वर्ष दिन पुग्यो फेसबुकलाई।
न त यिनीहरूसंग कृषि ज्ञान छ। न त किसानको दर्दमा ध्यान छ। रमिता देखाउँदै नक्कली किसान बनेका । किसानकै नाममा एकदिने किसान बनेका । देशका धमिरा। तर, किसानको समस्या कहिल्यै नसुन्ने बहिरा। यीनलाई छ, धान दिवसमा चटारो।लोकलाई देखाउन, फेसबुकमा पोस्ट्याउन यीनलाई छ, हतारो ।
मलमा सरकारले फेरि गर्यो झेल। समयमै मल दिन नसक्ने उस्तै कृषि मन्त्रीको खेल।माफिया र जग्गा दलालले पल्टिङमै सकाए ,खेतका गह्रा। एकदिन धान दिवसका दिन किसानलाई भन्छ, कठै बरा। धानको मूल्य तोक्न सक्दैन सरकार ।
विचौलियाले धानमा कमिसन खान छोड्दैन हर साल।मल, बीउ र बजारमा माफियाकै खेलो। किसान मारी सरकार विचौलियालाई सधैं भन्छ हेलो। चुनावमा भोट माग्न नेताले दिन्छ, गफ ।किसान मारी कमिसन र घुस सबका सब।खेतका गह्रा गह्रा भो चिराचिरा सुन फल्ने खेतलाई दलालले पल्टलिङ गरायो आखिर।
मुखमा सरकारको कृषिमा आत्मनिर्रभरका कुरा। विचौलिया र दलालसंग मिलि हान्छ, किसानलाई छुरा। उर्वर माटो भरि प्लटिङ , रातो र तातो रगत भएका युवा भरि पलायन । खेत बाझै राखेर भारतबाट हरेक वर्ष धान चामल चलान।
एक दिन खेतमा गएर नेता र कर्मचारीको बथान। स्वाभिमान किसानको गर्छौं किन अपमान रु किसान देख्दा घिनाउने । तर एक दिन खिचाएर फोटो कसलाई हो चिनाउने । जसको पसिनाले भरियो तिम्रो पेट । उसलाई अर्को सालको धान दिवसमा दिन्छौं होला भेट।माटो मल चिन्न नसक्ने,तिमी । एकदिन खेतमा पसेर हुदैनौ किसानी । मूल्य छैन,तिम्रो यो खेतमा ।अर्थ छैन,तिम्रो वर्ष दिनको भेटमा ।
एकदिनको तिम्रो चटकले फल्दैन धान । एक दिन खेतमा चटक देखाएर कृषिको आउँदैन कुनै पनि ज्ञान। खेतमा जाउ हर दिन माटोसंग खेल। बगाउ पसिना अनि फलाउ धान अनि हिड बजार । अनि थाहा पाउछौ, किसानकाृे चीत्कार। अनि पाउछौ, किसानको चीत्कार। नेता र चटकलाई लाग्छ पक्कै पनि धिक्कार ।








