२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

हिमालकी छोरी टाशीमाथि खनिएको खतरनाक नश्लीय दृष्टिदोष !


२६ आश्विन २०८२, आइतबार  


हामीमा यति धेरै खतरानाक नश्लीय चिन्तनले ग्रस्त छौकी, कालो वर्णको मधेशको नागरिक भए, विहारी भन्छौ, हिमालको नाक थेप्चो भए टिबेतियन ठान्छौ । यस्तो नश्लीय चिन्तनलाई पहाडे अहंकारवाद पनि भनिन्छ । पछिल्लो समय खतरानक यो नश्लीय चिन्तनबाट शिकार भएकी छिन्, हुम्लाकी टाशी ल्हाजोम ।

हुम्लाकी यी युवा आदिवासी जलवायु अभियन्ता हुन् । टाशी ल्हाजोम सुशीला कार्की नेतृत्वको सरकारको मन्त्री बन्ने चर्चा भएसंगै उनलाई गैर नेपाली नागरिक भएको आरोप लगाइएको छ । यस्तो आरोप लगाउने राप्रपाका नेता ज्ञानबहादुर शाही भएको चर्चा छ । तथ्य भन्दा पनि कथ्य बनाएर झुटलाई सत्य झै बनाउने कलाका माहिर व्यक्ति हुन्, ज्ञानबहादुर शाही ।

अध्ययन र अनुसन्धानमा निकै कमजोर शाहीले यस अघि पनि राजाको पालामा सुन तीन हजार तोला भएकोमा गणतन्त्रका कारण दुई लाख रुपैया तोला भएको भन्दै व्यवस्थालाई दुत्कारेका थिए । जबकी सुनको बजार मूल्य कुनै व्यवस्थासंग साइनो राख्दैन । एकताका भारतीय सेनाको हतियारको लेखा परीक्षण गरेको दाबी गर्दै चर्चामा आएका शाही मिथ्या कुरा गर्न सिपालु छन् ।


उनै शाहीले टाशी मन्त्री बन्ने चर्चा भएपछि हल्ला फैलाएका हुन् । उनले कुनै प्रमाणबिना टाशी “तिब्बती एजेन्ट” भएको आरोप लगाएको भाइरल भएको छ । यद्यपि टाशी ल्हाजोम कुनै समाचार शीर्षकको नाम पनि होइन । उनी नेपालको हिमालकी सन्तान हुन्। हुम्लाको नाम्खा गाउँपालिका–लिमी हाल्जी गाउँमा जन्मिएकी उनी साहु कुतु तामाङकी नातिनी हुन् । उनीहरूको पूर्खा र सभ्याताको जरा नेपालको ट्रान्स–हिमालय क्षेत्रको माटोसँग शताब्दीयौँ अन्योन्याश्रित छ । आजका मितिसम्म पनि उनका बाबु त्यही पुख्र्यौली घरमै बसोबास गर्छन् र त्यही धर्तीमा वर्तमान र भविष्य देखेका छन् ।


टाशीले दिल्ली विश्वविद्यालयबाट राजनीतिक विज्ञानमा अध्ययन गरिन् र त्यसपछि आफ्नो जीवनलाई हिमाली संस्कृति र जलवायु संकटको संरक्षण गर्ने अभियान चलाएकी हुन् । उनी अमेरिकी दूतावासको युवा परिषद् सदस्य पनि रहिन् । जुन नेतृत्व–मञ्च हो, कुनै राजनीतिक संगठन होइन । टाशी वास्तवमा त्यो समुदायको प्रतिनिधित्व गर्छिन्। जसमा नेपालले गर्वका साथ आफूलाई चिन्ने अधिकार पनि राख्छ । शिक्षित, स्पष्टभाषी र विश्व–सचेत हिमालकी छोरी हुन् उनी । जसले आफ्ना समुदायको आवाज मात्र होइन, नेपालको पहिचानको प्रतिष्ठा पनि बोकेकी छिन् ।

अमेरिकी दूतावासको युवा परिषद् सदस्य हुनु उनीहरुकै एजेन्ट हो, भन्ने अर्काे गलत भाष्य छ । जबकी क्षमता भएकाहरु यस्ता परिषद्को सदस्य हुन सक्छन् र हुन्छन्, त्यो संसारले पत्याएपछि हुने हो । क्षमता नहुनेहरुले हो, टाशी जस्ता अभियान्ताको प्रमाण विना टिबेतीयन एजेन्ट भएको आरोप लगाउने पनि । संयुक्त राष्ट्रसंघ वा अमेरिकी दूतावासबाट मान्यता प्राप्त गर्नु देशद्रोह होइन । बरु, त्यो मुलुकको लागि गौरवको चिन्ह हो ।

टाशी ल्हाजोमको वातावरणीय अभियानले नेपालका नाजुक हिमाली वातावरणतर्फ विश्व चिनाउन सफल भएको छ। जलवायु परिवर्तनको सबै भन्दा सिधा मार हिमाली क्षेत्रमा परेको छ । जुन कुरा प्रत्यक्षरुपमा उनले भोगेकी र देखेकी छिन् । पर्यावरणीय संकटले मारमा परेको हिमाली क्षेत्र जोगाउने अभियानमा रहेकी टाशी ल्हाजोममाथि लगाइएको मिथ्या आरोपले कुनै पनि देशभक्त नेपालको शीर ठाडो होइन,बरु निहुरिन्छ । यसर्थ रङ र शारीरिक बनोटको आधारमा विभेद र अपमान नगरौ,यो देश सबैको साझा हो, बहुजाति बहुधार्मिक र बहुसांस्कृति देशमा नश्लीय चिन्तन र प्रवृत्तिको बेलैमा अन्त्य गर्ने कि ? ०००००

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ४० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित