यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट आफु अनुकूल जडान गर्न आग्रह गरेको छ। इम्बोष्ड प्लेट नम्बरको विषयमा भ्रम उत्पन्न भएको भन्दै तत्काललाई कुनै दण्ड–जरिवाना नहुने प्रष्ट पारेको छ ।
असोज १गतेदेखि जडान नगरे तुरुन्त कारबाही हुने भ्रम उत्पन्न भएको भन्दै विभागले तत्काललाई कुनै दण्ड–जरिवाना नहुने बताएको हो।
इम्बोस्ड नम्बर प्लेट क्रमशः जडान गर्दै लैजाने निर्णय भएको उल्लेख गर्दै विभागले मंगलबार प्रेस विज्ञप्तिमार्फत भनेको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्द लैजाने निर्णय भएको, तर २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रमसमेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड–जरिवाना नगरिने व्यहोरासमेत स्पष्ट पारिन्छ।’

विभागले आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वस्फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेसन कार्यमा सहयोग गर्न आग्रह गरेको छ।
इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाका सम्बन्धमा समेत विभागले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको फैसला उल्लेख गर्दै स्पष्टीकरण दिएको छ। विभागले ‘इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सम्झौतामा उल्लेख भएबमोजिम अंग्रेजी लिपि प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटि नदेखिएको भनी २०७६र०८र२७ गते फैसला भई रिटहरू बदर भएको’ उल्लेख गरेको छ।
साथै सवारीचालक अनुमतिपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतमा समेत अंग्रेजी लिपि प्रयोग भएको विभागको तर्क छ।







