२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

केपी ओली र अति महत्त्वकांक्षी चाउचेस्कुको दुर्दान्त अन्त्य उस्तै- उस्तै !


१३ आश्विन २०८२, सोमबार  


अति महत्त्वकांक्षाले मान्छेलाई कसरी भस्म बनाउँछ भन्ने कुरा इतिहासमा हिटलरदेखि चाउचेस्कुसम्मका दुर्दान्त अन्त्यको वास्तविक कथाहरूबाट धेरै थाहा लाग्छ।

संसारको राजनीतिक इतिहासमा अझ आफूलाई कम्युनिस्ट भन्नेहरू जसरी सत्तामा पुग्छन् ,त्यसैगरी उनीहरूको आफ्नै अति महत्त्वकांक्षा र अहंकारले कहालीलाग्दो गरि अन्त्य भएको पाइन्छ ।

त्यस्तै इतिहासका एक चर्चित पात्र हुन् , पूर्वी युरोप रोमानियाका तत्कालीन कम्युनिस्ट शासक निकोलाई चाउचेस्कु । अति महत्त्वकांक्षाले बदनामी इतिहास बनाएका उनै चाउचेस्कु र एमाले अध्यक्ष केपी ओलीबीच धेरै प्रवृत्ति मिलेको पाइन्छ । यहाँ उनै कम्युनिस्टहरू सत्तामा कसरी पुग्छन् र पतन कसरी हुन्छन् भन्ने कुरालाई खास तुलनात्मकरूपले दर्शाउन खोजिएको हो।
गरिब परिवारबाट राजनीतिमा छिरेका निकोलाइ चाउचेस्कु र एमाले अध्यक्ष केपी ओलीको राजनीतिका उडान र पतनमा प्रवृत्तिगत घटनाहरू धेरै मिल्छन्।


चाउचेस्कु, रोमानियाका कम्युनिस्ट शासक हुन्।उनी परिवारमा जन्मिएका मानिस होइनन्, उनी अत्यन्तै गरिब परिवारमा जन्मेका थिए ।चाउचेस्कुले गरिबीको कारण राम्रोसँग पढ्न पनि पाएका थिएनन्। उनले ४ कक्षा मात्र पढेका थिए। गरिबीकै कारण चाउचेस्कु करिब १२ वर्षकै उमेरमा घरबाट भागेका थिए। घरबाट भागेर रोमानियाको राजधानी बुखारेस्टमा जुत्ता सिलाउने काम सिक्न थाले।

जुत्ता सिलाउने सीप सिक्नेक्रममा उनी बिस्तारै कम्युनिस्ट राजनीतिमा संलग्न हुन थाले । जब चाउचेस्कु जेल परे । तब उनलाई उनका साथीहरुले उनको कम पढाईको कारणले खुबै हेप्ने गर्थे । उनको त्यो दयनीय अवस्था देखेर रोमानियाका त्यस बखतका ठूला कम्युनिस्ट नेता घोरघे घोरघियुले आफ्नो शरणमा लिए। जब दोश्रो विश्वयुद्ध पछि जर्मनीका सैनिकलाई लखेट्दै सोभियत लाल सेना रोमानिया पुग्यो,तबदेखि त्यहाँ घोरघे घोरघियुको नेतृत्वमा कम्युनिस्ट सासन स्थापित भयो। सन १९६५ मा घोरघे घोरघियुको निधन भएपछि चाउचेस्कु रोमानियाका शासक बने ।उनी अत्यन्तै धुर्त थिए ।उनी आफ्नै चलाखी र काकताली परेर रोमेनियाका शासक बने।

चाउचेस्कुलाई आफुले ४ कक्षा मात्रै औपचारिक अध्धयन गरेकोले उनलाई पनि डिग्रीको ठूलै भोक थियो । चाउचेस्कुले राजनीतिशास्त्र र अर्थशास्त्रको मानार्थ पीएचडी ग्रहण गरेका थिए । उनका लेख रचनाका २८ वटा मोटा मोटा संकलित रचनाका ठेलीहरु प्रकाशित भएका थिए । चाउचेस्कुको लेखन राष्ट्रवाद र मार्क्सवादको विरोधाभास पूर्ण मिश्रित विचार थियो । त्यस्तै रोमानियाको सार्वभौमसत्ता सम्बन्धी विचारलाई चाउचेस्कु डक्ट्रिनको नाम दिईयो । रोमानियाका सडक, गल्ली र चोक चोकमा चाउचेस्कुको तस्वीर टाँस्न जबर्जस्ती अनिवार्य गरियो । हरेक स्कुलका पाठ्यपुस्तकमा चाउचेस्कु दम्पतिको फोटो अनिवार्य छाप्नु पर्ने नियम बनाएका थिए ।

चाउचेस्कु जम्मा ५ फिट ४ इन्च मात्र अग्ला थिए । तर उनलाई आफु अग्लो छु भनेर देखाउनु पर्थ्यो। जसकाकारण उनको फोटो विशेष कोणबाट मात्र फोटोग्राफरले खिच्नु पर्थ्यो । त्यस्तै चाउचेस्कुलाई दिनमा पटक पटक हात धुने मानसिक रोग थियो। उनी दिनमा कमसेकम २० चोटी रक्सीले हात धुन्थे । केही छोए पछि वा कसैसँग हात मिलाएपछि उनलाई हात धुनु पर्थ्यो।

सन् १९७४ मा निकोलाई चाउचेस्कु रोमानियाको पूर्ण कार्यकारी अधिकार सहितको रास्ट्रपति बने । यस अवसरमा उनले राजाहरुले जस्तै राजदण्ड ग्रहण गरे । यो कामलाई व्यंग गर्दै प्रख्यात चित्रकार सालभडोर डालीले टेलिग्राम पठाए। चाउचेस्कुले त्यो व्यंग्य लाई बुझ्न सकेनन र त्यसलाई कम्युनिस्ट पार्टीको मुखपत्रमा प्रकाशित गरे।

अन्तर्रास्ट्रिय क्षेत्रमा चाउचेस्कुको मुख्य काम हुन्थ्यो सोभियत संघ र त्यहाँका नेता लियोनिद ब्रेझनेभलाई दुःख दिनु । उनले सन् १९६८ मा चेकोस्लाभाकियामा भएको सोभियत संघले गरेको हस्तक्षेपको खुलारूपले विरोध गरे । जसका कारण पश्चिमी देशहरुमा चाउचेस्कु लोकप्रिय बनेका थिए। अमेरिकी रास्ट्रपति रिचार्ड निक्सनले भनेका थिए– चाउचेस्कु कम्युनिस्ट हुनसक्छ तर उ हाम्रो कम्युनिस्ट हो।

चाउचेस्कुले सन् ७० को दशकमा देशको औद्योगीकरण र विकास गर्न पश्चिमी देशहरुबाट अरबौं डलरको ऋण लिए। उनको औद्योगीकरणको सपनाले सोचे अनुसार उदेश्य हासिल गर्न सकेन । त्यो ऋणको ब्याज रोमानियाको लागि भारी पर्न थाल्यो। आफ्नो गल्ती सुधार्न चाउचेस्कुले सबै विदेशी ऋण तिर्ने प्रण गरे । यसका लागि रोमानियाको सबै कृषि र औद्योगिक उत्पादन विदेश निर्यात गर्न थालियो । यसले गर्दा देश भित्र खाद्यान्न र अत्यावस्यक सामानको अभाव हुन थाल्यो। त्यसका साथै उनको मितव्ययिताको नीतिका कारण खाद्यान्न, बिजुली, पानीमा कटौतीका कारण सामान्य जनताको जीवन कस्टकर बन्दै गयो। चाउचेस्कुले आफ्नो हत्या हुनु भन्दा केही महिना अघि सबै विदेशी ऋण चुक्त्ता गरे।

चाउचेस्कुलाई आफ्नो औकात भन्दा ठुलो कुरा र काम गर्न मनपर्थ्यो । उनले राजधानी बुखारेस्टमा संसारकै सबै भन्दा ठुलो घर जन दरबार अर्थात पिपुल्स प्यालेस बनाउन थाले । अर्बौ डलर खर्च गरेर यस दरबार बन्न थाल्यो। यश भवन निर्माण गर्न १५ हजार मजदुर ३ शिफ्टमा काम गर्थे । तर ती कामदारहरुको लागि दिसा(पिसाब गर्न एउटा पनि शौचालय थिएन। मजदुरहरु जहाँ अँध्यारो कुनो देख्थे त्यही दिसा(पिसाब गर्थे । त्यो जनदरबारको निर्माणको निरीक्षण गर्न चाउचेस्कु हप्तामा ३ चोटीसम्म निर्माण स्थलमा पुग्थे । चाउचेस्कु आउने भन्ने खबर पाएपछि मजदूरहरुले उनी जाने ठाउँको सफाई गरिदिन्थे। एक दिन चाउचेस्कु तोकिएको क्षेत्र भन्दा अलिकति बाटो बिराएर बाहिर पुगे । उनको खुट्टा दिसा(पिसाबको रासमा गाडियो। मजदुरहरु हाँस्न थाले ।तर गार्डले घुरेर हेरेपछि डरले मजदुर चुप लागे त्यसपछि गार्डहरुले उनको जुत्ता पुछपाछ गरेपछि चाउचेस्कु केही नबोली आफ्नो कार तर्फ फर्के।

हजार कोठा भएको यस जनदरबार पुरा हुनु अघि नै रोमेनियामा क्रान्ति भयो। आफ्नो जीवनको दोश्रो अन्तिम भाषणको क्रममा चाउचेस्कुले भने– रोमानियामा परिवर्तन त्यसबेला मात्र आउँछ । जब स्याउको रुखमा नासपाती फल्न थाल्छ । भोलि पल्ट देखि विद्यार्थीहरुले रोमेनियाको राजधानी बुखारेस्टका सबै रुखहरुमा नासपाती झुन्डियाई दिए । रोमानियामा व्यापक विद्रोह सुरु भयो। चाउचेस्कुले यस विद्रोह हिंसात्मक रूपमा दबाउन खोजे। तर, सफल भएनन् र भाग्दा भाग्दै उनी पक्राउ परे। अन्तमा चाउचेस्कु दम्पतिलाई सन् १९८९ मा गोली हानेर हत्या गरियो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनपछि संसारकै दोश्रो ठुलो भवन मानिने यश ‘जनदरबार’ उनको मृत्युको कैयौं वर्ष पछि तयार भयो। अहिले त्यो दरबारमा रोमानियाको संसद बस्छ । निर्माण भएको २५ वर्ष पछि पनि उक्त्त दरबारका ७० प्रतिशत कोठा अझै पनि खाली छन्।
नेपालमा पनि केपी ओलीको राजनीतिक उठान र पतन उनै अति महत्त्वकाँक्षी कम्युनिस्ट शासक चाउचेु्कुसंग मिल्दो देखिन्छ ।
एमालेको नवौ महाधिवेशनबाट नेतृत्वमा अत्यन्तै चलाखीपूर्ण ढंग २०७१ ओली आए । र २०७२ असोज २५ ओली पहिलोपटक प्रधानमन्त्री भए । वाकपटुतायुक्त नेताका रूपमा विशेष पहिचान बनाएका ओली विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए ।
भक्तपुरको बालकोटका स्थायी वासिन्दा रहेका ओली २००८ साल फागुन ११ गते इवा–२ तेह्रथुममा जन्मिएका हुन् । ओली परिवारपछि रणामती–६, झापामा बसाइँ सरेको थियो । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले डेढ वर्ष उमेरमै आमा गुमाएका थिए । गरिब परिवार र आमाको वात्सल्यसमेत गुम्न पुगेकाले बाल्यकाल यिनको अत्यन्त दुःखपूर्ण रूपले बित्यो ।

लामो समय जेलनेल भोगेका ओलीको राजनीतिक यात्रा झापाबाटै शुरु भएको हो । चर्चित झापा विद्रोहका एक मुख्य पात्र केपी ओली एक जीवित नेता हुन् ।

तत्कालीन नेकपा ९माले०को संस्थापक मध्येका एक खड्गप्रसाद ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । यही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका पात्र हुन् ।

बुर्जुवा शिक्षाको विरोध भन्दै शैक्षिक प्रमाणपत्र च्यात्ने समूहका सदस्य ओलीको शैक्षिक डिग्री कमजोर रहेको छ । झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमै पूरा गरेका थिए भने झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा उनले प्रवेशिका परीक्षा ९एसएलसी० पास गरेको भनिन्छ । तर,उनले कक्षा ८ मात्रै अध्यय गरेको भन्नेहरू पनि छन् । राम्रो अङ्ग्रेजी बोल्ने ओलीले जेलमै ‘डिक्सनरी’ रटेका थिए भनिन्छ । उनी भाषण गर्दा उखानटुक्कालाई प्रयोग गरेर हाँस्यरस मिसाउन खप्पिस छन् ।

२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपालसँगको प्रतिस्पर्धा जितेर पार्टीको अध्यक्ष भएका उनी २०७० माघ २१ मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी दलको नेता भएका थिए ।
पहिलोपटक २००७१ मा एमालेको अध्यक्ष भएयता ओली पार्टी र सत्ता राजनीतिको धुरीमा छन् । २०७२ मा पहिलोपटक प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको डटेर प्रतिवाद गरेका थिए। भारतसंग नडगेको भन्दै उनलाई राष्ट्रवादी नेताको रूपमा चिनिन्थ्यो। २०७४ मा माओवादीको साथले दोश्रो पटक प्रधानमन्त्री भए ।झण्डै दुईतिहाइको सरकारका प्रधानमन्त्री भएका उनमा अति महत्त्वकांक्षा देखियो।सुखी नेपाली समृद्ध नेपाल भन्दै सडकका पोलमा चाउचेस्कुले झै आ फ्ना फोटा झुन्ड्याउन थाले। उनीमा यति धेरै महत्त्वकांक्षा बढ्यो,अरूलाई उनले सुन्न छाडे।ऋण काढेर चाउचेस्कुले झै गर्न थाले ८ खर्बको सरकारी ऋण १९ खर्ब पुग्यो।शक्तिको आ डमा संसद विघटन दुई पटक गरियो। सधैं सत्तामा तर, सत्ता अराजकले उनी मैमत्त बन्दै गए। चाउचेस्कुले जस्तै टावर बनाउन थाले। झापाको दमक टावर लगायत देशभर भ्यू टावरै भ्यू टावर बनाइए। जनताको आ वश्यता अर्कै थियोे ।तर, उनको महत्त्वकांक्षा बेग्लै थियोे । यीनै महत्वकाँक्षी ,अहंकार शासक यो देशमा चार पटक प्रधानमन्त्री भए । भ्रष्टाचार बेथिति र विकृतिका मुल रचनाकार बनेका ओ ली गएका भदौ २३ र २४ को जेनजी विद्रोहबाट सत्ताबाट लखेटिए । जेनजी आ न्दोलनमाथि बर्बर दमन गरे। भदौ २३ मा १९ जना युवाको अनाहकमा ज्यान गयो।ओ ली अहंकार र महत्त्वकांक्षाले देशमा ठूलो क्षति भयो । विकास र समृद्धिका कुरा गएको १० वर्ष त्यतिकै खेर गयो। अन्ततः नेपाली संस्करणको निकालाइ चाउचेस्कु सेनाको हेलिकप्टर चढेर भाग्न पर्यो। दस दिन सेनाको व्यारेकमा लुकेर बसेका उनी यतिबेला गुण्डुमा छन् । मुल कुरा के भने महत्त्वकांक्षा र अहंकारले अन्तिममा मै हुँ भन्ने शासक आ फ्नै जनताबाट लखेटिनुपर्छ भन्ने यो गज्जबको दृष्तान्त हो।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ५ : ४१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित