२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

के एमालेको भावी अध्यक्ष विद्या भण्डारी हुन् त ?


१० असार २०८२, मंगलबार  


एमालेमा करिब एक दशक एकल वर्चश्व कायम गरेका प्रधानमन्त्री केपी ओलीको विकल्पमा विद्या भण्डारी भावी अध्यक्षको रुपमा अघि सर्ने संकेत गरेकी छिन्।

ओली र विद्याबीच बाहिर गुटबन्दी जस्तो देखिएपनि भित्रभित्रै भावी अध्यक्षका लागि सहमतिको वातावरण बन्दै गएको एक नेताले बताए । दोस्रो विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिएसँगै एमालेमा ७० वर्षे ‘उमेरहद’ बहस पेचिलो भएको छ।

यही बहसबाटै नेताहरुले ओलीको बहिर्गमन खोजेको देखिन्छ। यद्यपि केही महिना अघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अझै बीस वर्ष आफ्नो विकल्प नखोज्न अभिव्यक्ति दिएका थिए ।

चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि एमालेभित्र प्रतिस्पर्धालाई निषेध गरेर ओली शक्तिशाली अध्यक्षको रुपमा देखिएका थिए । तर, अहिले भण्डारीले पार्टी राजनीतिमा फर्कने तयारी गरेसँगै भण्डारीलाई एमालेकै नेताहरुले भावी अध्यक्षका रुपमा हेरिरहेका छन् । त्यसैले होला भण्डारीले चीन भ्रमणपछि कोशी प्रदेशका कार्यकर्तासँग भेटघाट गर्दै पार्टीको कमाण्ड सम्हाल्ने प्रष्ट संकेत गरिसकेकी छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञावाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल ओलीको स्वभावबाट आजित भइसकेका छन् । उनीहरुले पार्टीमा नेतृत्व बदल्नेगरी उपयुक्त पात्र खोजी गरिरहेको यही अवस्थामा भण्डारीलाई ल्याएर नेतृत्व जिम्मा लगाउने संकेत देखिएको छ।


नेतृत्व परिवर्तनको पक्षमा कार्यकर्ता क्रमश खुल्दै मात्रै गएका छैनन्। ७० वर्षे उमेर हद कायम गर्नुपर्ने या गर्नुनर्पे भन्दै बहसमा केन्द्रित हुन थालेका छन्। ओलीको पार्टीभित्र एकल वर्चश्व र हस्तक्षेपले वाक्कदिक्क भएका नेता कार्यकर्ता उनको विकल्प खोज्न थालेका हुन् ।

पार्टी नेतृत्वको लागि ७० वर्षे अवधि र दुई कार्यकालको मापदण्ड लागू भएमा ओली स्वतः भावी अध्यक्षको रिङबाट बाहिरिने छन्। यही कारण आगामी ११औँ महाधिवेशनबाट ओलीको
सहजै बर्हिगमन हुनेछ । त्यसका लागि विधान महाधिवेशनबाट यी दुवै प्रावधान लागू गर्नुपर्नेछ ।

अध्यक्ष ओलीले ७० वर्षे उमेरहदले ‘फेल’ खाएको भनेर गएको यही जेठ २५ गतेको एक सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले नेतृत्व तहमा उमेरहद र नेतृत्व परिवर्तनको विषयको बहसले झन प्रमुख स्थान पाएको हो। २०७८ असोजमा सम्पन्न पहिलो एमाले विधान महाधिवेशनले पार्टी विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी÷सदस्यमा निर्वाचित÷मनोनीत हुन ७० वर्ष नकटेको हुनुपर्ने व्यवस्था गरेको थियो ।

त्यत्तिबेला एमालेले आफ्नो विधानमा ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान पनि समेटेको थियो । तर, विधानको यो व्यवस्था सचिवालय हुँदै २०८० जेठमा बसेको केन्द्रीय कमिटी बैठकले हाललाई भन्ने शब्द राखेर निलम्बन गरेको थियो ।

एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउन निलम्बन गरिएको भनिएको यो व्यवस्था आगामी भदौ महिनामा हुने दोस्रो विधान महाधिवेशनले छिनोफानो नगर्दै नेताहरूले ७० वर्षे उमेरहदको विषय सतहमा ल्याएपछि ओली झस्किएका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले ७० वर्षे उमेरहद फेल खाएको र आवश्यकताका आधारमा नेतृत्व चयन हुने बताएपछि एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवालीलगायतका केही नेताहरू औपचारिक फोरममै ७० वर्षे उमेरहद र २ पटक कार्यकालको व्यवस्था कायमै रहेकाले आगामी दिनमा पनि सोही व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताएपछि ओलीको दिनगन्ती सुरु भएको हो ।
यसपछि एमालेमा उमेरहदबारे फायर उपल्लो तहका नेताहरुबाटै खोलिएको छ । ‘एमालेको गएको महाधिवेशनले नेतृत्वका बारेमा दुईटा कुरा गरेको छ, जसमा उमेरको सीमा तय गरेको छ ७० वर्ष । अर्को, कार्यकारी पदमा लगातार दुईपटकभन्दा बेसी नहुने, प्रावधान राखेको उपाध्यक्ष इश्वर पोखरेल पोखरेलको भनाइ छ । यति मात्रै होइन, इश्वर पोखरेल जस्तै अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि महाधिवेशनले तय गरेको प्रावधान अनुसार पार्टी नेतृत्व आउनुपर्ने तर्क गर्दै आएका छन्।


दोश्रो तहका एमाले नेताहरुमा नेतृत्व परिवर्तनको आन्तरिक बहस पनि चलेको छ। विधानले गरेको व्यवस्था अनुसार अब नयाँ नेतृत्व आउनुपर्छ भन्ने धार निकै बलियो हुँदै गएको छ। ओलीबाट कारबाहीको डर भएकोले पनि सबै तहका नेता तथा कार्यकर्ता सहजै मुख खोल्न सकेका छैनन्। तर, पछिल्लो समय विस्तारै ओली इतरको पार्टीभित्र जनमत बन्दै गएको छ। अहिलेसम्मको अनौपचारिक बहसमा ओलीको विकल्पमा विद्या भण्डारीलाई सारिएको छ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने आकांक्षासहितको गतिविधिमा संलग्न हुनु र अध्यक्ष ओलीमा तेस्रो कार्यकाल पनि आफैले नेतृत्व गर्ने चाहाना प्रकट गर्नुले एमालेभित्र उमेरहदलाई पक्ष विपक्षमा बहसमात्र होइन, भण्डारीले नेतृत्व गर्ने भएमा १०औँ महाधिवेशनबाट पास भएको विधान कार्यान्वयन हुने अवस्था आउने छ ।

उमेरहद र नेतृत्वको सवालमा सतहमा ओली र भण्डारीका विपरीत अभिव्यक्तिले आइरहेको भएपनि भण्डारी सहमतिबाटै अध्यक्ष बन्ने पक्काजस्तै छ । एमाले नेताहरूका तिनै अभिव्यक्तिलाई लिएर तल्ला तहका कार्यकर्ताहरू उमेरहद र नेतृत्व परिवर्तनका सवालमा विभाजित हुन पुगेका छन् । यो प्रतिस्पर्धामा कार्यकर्ताहरू ओली र भण्डारीको पक्षमा मत प्रकट गर्ने प्रतिस्पर्धामा उत्रेका हुन्।

युवा–विद्यार्थीमा प्रतिस्प्र्धा गर्नेहरु मात्र होइन जनसंगठनमा प्रतिस्पर्धा गर्न नपाएकाहरु पनि भण्डारीको पक्षमा खुल्नेक्रम निरन्तर चलिरहेको छ । जिल्ला जिल्लामा दुई धार निर्माण हुँदै गएको छ । साथै, ओलीकै कारण पार्टी दिनदिने अलोकप्रिय हुँदै गएको भन्नेमा एमाले कार्यकर्ताहरु क्रमश बुझ्दै गएको देखिन्छ।

ओली र भण्डारीको अभिव्यक्ति र गतिविधिलाई नियालेका एमालेजनले दुवै परिघटनालाई संयोगमात्र भनेर बुझ्न सकेका छैनन् । गएको जेठ ८ मा विद्या भण्डारी चीन भ्रमणमा गएदेखि नै भण्डारीको चर्चा चुलिएको छ । त्यसमाथि चीनले भण्डारीलाई एमालेकै विशिष्ट नेताका रुपमा सम्मान गरेपछि त उनको झन् मनोबल थप बढेको देखिन्छ ।

भण्डारी एमालेको नेताकै रुपमा चीन भ्रमणमा गएकी थिइन । एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, स्वकीय सचिव भेषबहादुर अधिकारी र सार्वजनिक प्रसारण सेवाका अध्यक्ष महेन्द्र विष्ट भ्रमण टोलीमा सहभागी भएका थिए ।

पूर्वराष्ट्रपतिको हैसियतजस्तो पनि देखिने र राजनीतिक कार्यक्रमहरूमा पनि भण्डारीलाई सहभागी गराउने मध्यमार्गी प्रस्तावमा चिनियाँ पक्ष पनि सहमत भएर उनको चीन भ्रमण भएको थियो । यो भ्रमणका क्रममा चिनियाहरुले नेपालमा बलियो कम्युनिष्ट पार्टी बनाउनुपर्ने प्रस्ताव समेत गरेका थिए । जसबाट भण्डारी उत्साहित पनि भएकी छिन् ।

भण्डारी चीनबाट फर्केर आएपछि कोशी प्रदेशको भ्रमणमा पुगेकी थिइन । त्यही क्रममा ओलीले भनेका थिए –‘अहिले हल्ला चलेको छ– तलतल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । यहाँ अर्को खेल हुन खोजेको छ । फलानो आउने रे, यस्तो–उस्तो भनिएको छ ।’ अझ अघि बढ्दै ओलीले थपे, ‘को अध्यक्ष, को उपाध्यक्ष भनेर पार्टीमा कुनै छलफल भएको छैन । महाधिवेशनको पनि घोषणा भएको छैन । बाहिरबाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् ।’

उनले आफू ७० वर्ष कटे पनि अध्यक्ष रहिरहेको भन्दै उमेरहद फेल खाइसकेकाले तत्कालीन आवश्यकताले नेतृत्व छानिने बताएर चिनियाँ राष्ट्रपति सी जिनपिङ र साइप्रसको कम्युनिस्ट पार्टीदेखि विगतमा एमालेभित्रै नेतृत्वको सवालका गरिएका प्रयोगका उदाहरण समेत दिएका थिए ।

‘७० वर्ष उमेरहदको विषय एमालेमा फेल खाइसक्यो । अहिले म ७४ मा चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन त रुचार वर्ष उमेर घटाउन भएन क्यारे’, ओलीको भनाइ थियो । अध्यक्ष ओलीले ७० वर्षे उमेरहदले फेल खाएको बताइरहेका बेला भण्डारी भने झापा र मोरङका एमाले नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त थिइन् ।

अध्यक्ष ओलीको अभिव्यक्ति, विद्याको सक्रियता र एमाले राजनीतिमा चासो राख्ने सञ्चारकर्मीले उनै पूर्वराष्ट्रपति भण्डारीलाई उनको सक्रियता र आगामी एमाले नेतृत्वका सवालमा विराटनगर विमानस्थलमा राख्दा आफू एमालेबाटै यहाँसम्म आएको र राजनीति गर्दा एमाले नै हुनसक्ने लगायतका जवाफ दिइरहेकी थिइन् । यसैबाट पनि प्रष्ट हुन्छकी विद्या भण्डारी एमालेको ११ औ महाधिवेशनको अध्यक्ष पदकी एक्ली उम्मेदवार हुन्।

दुई पटक मुलुकको दुई पटक राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः दलको राजनीतिमा सक्रिय हुनु अस्वभाविक भएको उनका आलोचकहरुको तर्क छ। सम्मानित पदको अनुभव गरिसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु त्यत्ति शोभनीय नहुने उनीहरुको तर्क छ। तर, एमालेकी पूर्व उपाध्यक्ष समेत रहेका भण्डारी राष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा आउने चाहना राखेकी छिन्। उनले अघिल्लो वर्ष चारवटा प्रदेशको अनौपचारिक भ्रमण गरी नेता–कार्यकर्तासँग भेट गरेकी थिइन् । अहिले उनको पार्टी सक्रियता ह्वात्तै बढेको छ। पार्टीको पूर्व उपाध्यक्ष भएकाले कसैले सोधेर देश दौडाह गर्नु नपर्ने प्रतिक्रिया समेत उनले दिएकी थिईन्।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : ४२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित