उनी हुन् आभूषण खडका । काठमाडौ हो, उनको घर । आज भन्दा ७ वर्ष पहिले काठमाडौ महानगरपालिका वडा नम्बर १६ पक्नाजोलमा उनको जन्म भएको थियो । उनै विलक्षण प्रतिभा र अदम्य साहस भएकी आभूषण उमेरले सानी छिन्। उनले यही २०८१ सालको जनै पूर्णिमाको दिन ७ वर्ष पूरा गरेकी हुन्। यो उमेर भर्खरै विद्यालय शिक्षा प्रारम्भ गर्ने बेला हो । उनी काठमाडौको डीयरवाल्क सिफल स्कूलको कक्षा १ मा अध्ययनरत छिन् ।तर,यी ७ वर्षकी आभूषणले भने नयाँ कीर्तिमान प्रदर्शन गरिन्। आभूषणले कैलाश पर्वत दर्शनकोक्रममा ५ हजार ६२० मीटरको उचाइमा पाइलो टेकिन् । सम्भवतः यति सानो उमेरमा यति धेरै उचाइमा रहेको कैलाश पर्वतको डोल्मालामा पुग्ने उनी विश्वकै पहिलो बालिका हुन्।

हुन त तपाईलाई उनको यो कीर्तिमानी सफलताको कथा सुन्दा आश्चार्य पनि लाग्न सक्छ । यति सानो उमेरमा यति धेरै उचाइको तिर्थाटन सम्भव कसरी हुन सक्छ ? तपाईको यो जिज्ञासा वा प्रश्न गलतै भने होइन । तर, तपाईले उनको यो बहादुरीपूर्ण कीर्तिमानप्रति विश्वास नगरी धरै पनि छैन । किनकी वास्तविकता यही थियो र हो । १२ दिनको कैलाश पर्वतको दर्शनकोक्रममा उनले डोल्मालमासम्मको तिर्थयात्रा पूरा गरेकी हुन्।

उनी यही साल २०८१ को भदौ ५ गते बुधबारका दिन, तदनुसार सन २०२४ अगष्ट २१ तारिखमा विना अक्सिजन सजिलैसंग कैलाश पर्वत तिर्थाटनको अन्तिम विन्दुसम्मको उचाइमा पुगेकी हुन्। उनले नेपाली समय अनुसार बिहान ९ः२० बजे कैलाश पर्वतको डोल्मालाको भूखण्डमा विश्वकै पहिलो बालिकाको रुपमा पहिलो पाइलो टेकेकी हुन्। कैलाश पर्वतको दर्शनका क्रममा ५२ किलोमिटर दूरी पार गर्नु पर्दछ। जसमध्ये ४० किलोटिर दूरी तीन दिनमा पैदलै हिडेर पूरा गर्नुपर्छ। यहीक्रममा आभूषण ५ हजार ६२० मीटर अर्थात १८ हजार २६५ फिटको उचाइमा रहेको पवित्र भूमि डोल्मालासम्म पुगेकी हुन् ।

यति सानै उमेरमा विना अक्सिजन सहजै त्यत्ति धेरैमाथिको उचाइमा पुग्ने विश्वकै पहिलो बालिका भएको नमस्ते होलिडेजका प्रबन्ध निर्देशक बसन्त बराल बताउँछन्। तिर्थांटनको क्षेत्रमा २३ वर्ष लामो व्यवसायीक अनुभव बटुलेका बराल भन्छन्, “मलाई जानकारीमा आए अनुसार अहिलेसम्म आभूषणको यो कीर्तिमानी विश्वकै पहिलो हो। धार्मिक आस्थाले भरिपूर्ण कैलाश पर्वतको डोल्माला जस्तो पवित्र भूमिमा पुग्ने पहिलो बालिका आभूषण हुन् । वयस्क मानिसहरुलाई त त्यो उचाइसम्म पुग्न हम्मे– हम्मे हुन्छ, तिर्थाटनकै क्रममा मानिसहरु अक्सिजन(लेक लाग्ने)अभावले बाटोमै मृत्युवरण गरेको हामी आँख्खैले देख्दै आएका छौ।तर, यति धेरै जोखिम र निकै कठिन तिर्थयात्रामा पनि यति सानी नानीले देखाएको अदम्य साहस,चमत्कारी र रोमाञ्चारीपूर्ण आँटले मै चकित भएँ।” कैलाश पर्वतको परिक्रमासंगै डोल्मालाको उचाइमा पहिलो बालिकाले पाइलो टेकेको भन्दै नमस्ते होलिडेज टुर्स एण्ड ट्रेकले आभूषणको कीर्तिमानको तारिफ गरेको थियो । नमस्ते होलिडेजले भने जस्तै आभूषणको यो कीर्तिमान विश्वकै नयाँ रेकर्ड हुन सक्छ।

यद्यपि यस अघि सन २०१८ मार्च १६ तारिखमा किलिमान्जरो हिमालको एक सात वर्षकी बालिकाले सफल आरोहण गरेकी थिईन्। तान्जानियामा रहेको किलिमान्जरो हिमाल समुद्री सतहबाट ५ हजार ८९५ मिटर अर्थात १९ हजार ३४१ फिटको उचाइमा रहेको छ। ज्वालामुखी विस्फोटबाट बनेको यस पर्वतको आरोहण ७ वर्षीया मोनटान्नाह कीन्नीले गरेकी थिईन्। उनले ७ वर्षकै उमेरमा माउण्ट किलिमन्जरो पर्वतको सफल आरोहण गरेको माउन्टेन प्लानेट डट कममा खबर लेखिएको छ । तर,आभूषण खड्काले हिमाल आरोहण गरेकी भने होइनन् । उनले ७ वर्षको उमेरमा कैलाश पर्वत परिक्रमाको बेला सबै भन्दा माथिल्लो उचाइमा पाइला टेकेकी हुन्। यसले उनी सानै उमेरमा डोल्मालाको दर्शन गर्ने विश्वको पहिलो बालिका भएको दाबी गर्न सकिने आधार देखिन्छ।

धार्मिक कथा अनुसार कैलाश पर्वतलाई भगवान शिवको तपस्यास्थलीको रुपमा हेरिन्छ। अदभूत, अनौठो,आश्चार्य र आस्थाको धरोहर यस कैलाश पर्वतको परिक्रमा गरे पूण्य प्राप्ति हुने विश्वास गरिन्छ। त्यसैकारण मानिसहरु जीवनमा एक पटक कैलाश पर्वतको परिक्रमा गर्ने सपना बोकेका हुन्छन्। यस्तैक्रममा नमस्ते होलिडेजका प्रबन्ध निर्देशक बरालका अनुसार यही साल २०८१ को जेष्ठ महिनामा वीरगञ्जका तीन वर्षीय बालक माहिल अग्रवाल पनि कैलाश पर्वतको परिक्रमा गर्ने प्रारम्भिक विन्दु यमद्वारसम्म पुगेका थिए। समुद्री सतहबाट यो यमद्वार ४७ सय मिटरको उचाइमा रहेको छ।

कैलाश पर्वतको परिक्रमा गर्नेक्रममा वयस्क मानिसले पनि डोल्मालासंग स्पर्श गर्न हिम्मत र आँट राख्दैनन। किनकी यो ५ हजार मीटर भन्दा माथिको उचाइमा भएकाले यहाँ पुग्न अक्सिजनको विकल्प हुन्न । यहाँसम्म दर्शन गर्न अक्सिजनकै साहरा चाहिन्छ, अधिकांशलाई । तर, आभूषण खड्काले विना अक्सिजन सजिलैसंग ५ हजार ६२० मीटरको उचाइ चुमेकी हुन्।
आभूषणको यो अदम्य र अजय साहस देखेर चकित परेँ भन्छिन्, तीर्थयात्री बसुन्धरा कार्की । काठमाडौ निवासी कार्कीले दुई पटक कैलाश पर्वतको दर्शन गरीसकेकी छिन्। उनै कार्की भन्छिन्, “कैलाश पर्वतको परिक्रमा गर्न जोकोहीलाई सजिलो -सहज छैन, अझ त्यसको सबै भन्दा माथिको उचाइमा रहेको गौरीमाता अर्थात डोल्मालाको दर्शन गर्ने कुरा त निकै परिसान र कठिनको कुरा हो । तर, आभूषण त्यत्ति धेरै उचाइमा सहजै र सजिलोसंग पुगिन्, जुन कुरा निकै रहस्यमय प्रदर्शन हो । उमेरले उनी सानी छन्। सातै वर्षको यो उमेरमा त्यत्ति अग्लो स्थानमा पुगेर साहसिक कीर्तिमान राखिन्। त्यो कीर्तिमान आफैमा असाधारण र अद्भुत हो ।”

पक्कै पनि कैलाश पर्वत विश्वका मानिसहरुको धार्मिक आस्थाको भूखण्ड हो। चीनको तिब्बतमा रहेको यस स्थान कैलाश पर्वतको मौसमी वातावरण र हिमाली क्षेत्रको दृष्य निकै अद्भूत र आश्चार्यजनक छ। भगवान शिवको तपस्यास्थलीको रुपमा कैलाश पर्वतलाई लिइन्छ। मानिसहरु जिन्दगीमा एक पटक कैलाश पर्वतको दर्शन गरेर मर्न पाएमा पूण्य प्राप्ति हुने चाहाना र विश्वास राख्दछन्। यति मात्रै होइन, तिर्थाटनकै क्रममा प्राण त्यागिएमा सिधै भगवानको चरणमा पुगेको धार्मिक विश्वास समेत गर्दछन्। यही स्थलको दर्शन गर्न, गएको साउनको अन्तिमतिर छोरी आभूषण खड्कालाई लिएर आमा विना पाण्डे पुगेकी थिइन्। पेशाले आर्किटेक इन्जिनियर रहेकी विना पाण्डे भगवान शिवसंग साक्षात्कार गर्न छोरी आभूषणलाई लिएर उनी १२ दिनको तीर्थयात्रामा निस्किएकी हुन्।

एउटी आमाको हिम्मत र आस्थाले जोडिएको अजम्बरी सपना !

मानव चोलाको रुपमा यस संसारमा जन्मिएका हरेक मानिसहरुका आ–आफ्नै सपना त हुन्छन् पक्कै पनि ।ती सबै मानिसहरुले धर्तीमा जन्म लिएपछि कुनै न कुनै जीवन्त सपना बुनेकै हुन्छन्। यत्ति होकी सबैका हर –सपना आफ्नै जीवनकालमा पूरा हुन पनि सक्छन्, नहुन पनि सक्छन्। यस्तै सपनाको भारी बोकेकी एक पात्र हुन् आर्किटेक इन्जिनियर विना पाण्डे । पेशाले उनी आर्किटेक इन्जिनियर हुन्। तर, उनको भगवान शिवप्रतिको आस्था र श्रद्धा निकै ज्यादा छ। इन्जिनियर विना पाण्डे भन्छिन्, “भगवान शिवप्रति मेरो आस्था बाल्यकालदेखिको हो, त्यो मेरो आस्था र हिम्मतले मलाई त्यहाँसम्म पुरायो, जहाँ पुगेर मेरी छोरी आभूषणले एउटा नयाँ कीर्तिमान बनाईन्। भौगलिक हिसाबले निकै जटिल र उचाइको हिसाबले निकै प्रतिकूल स्थान कैलाश पर्वतको दर्शन गर्न गएँ । छोरीले सजिलोसंग परिक्रमा गरिन्, अनि डोल्माला(गौरीमाता)को दर्शन गरिन्। छोरीको यो साहसिक कीर्तिमानले म फुरुङ्गै भएको छु, सायद म जस्ती एउटी संघर्षशील आमाको लागि यो सफलता उनै भगवान शिवकै प्रसाद हुन सक्छ।” सानै उमेरदेखि भगवान शिवलाई विश्वास गर्ने उनै पाण्डले कैलाश पर्वत पुगेर यही साल २०८१ गएको भदौ महिना ५ गतेका दिन सपना पूरा गरिन्।

उनी यही सपनाको कुुन्तुृरो बोकेर यही साल २०८१ को साउन महिना ३१ गतेका दिन छोरी आभूषणलाई लिएर कैलाश पर्वतको यात्रामा निस्किएकी थिईन्। छोरी आभूषणको लागि त्यो मितिको यात्रा नयाँ र नौलो थियो अनि स्वयं विनाका लागि पनि । उनीहरुका लागि त्यो विश्वका शहरहरुको भ्रमण गरे जस्तै पक्कै थिएन र होइन पनि ।किनकी आभूषणका लागि त कैलाश पर्वतको दर्शन गर्न जानु आफैमा निकै चुनौती र अप्ठ्यारो बाटो हो । भौगलिक विकटता र शारीरिक(सानो उमेर) अवस्थाका कारणले पनि उनले कैलाश पर्वतको दर्शन गर्नु चानचूने कुरा पक्कै होइन र थिएन पनि । तैपनि आमा विना पाण्डे छोरी आभूषणलाई लिएर कैलाश पर्वतको दर्शनमा निस्किइन्, उनले यो साहसिक यात्रामा साथ खासै कसैको पाइनन्। अतीतका दिनमा पनि उनी एक्लै संघर्ष गर्दै आएकी व्यक्ति हुन्। भगवानलाई सधै साक्षी राखेर जीवनका चक्काहरु घुमाइरहेकी विनाले सानी छोरीलाई लिएर कैलाश पर्वतको परिक्रमा गर्ने कुराले सबै तर्सिंन्थे । सानी उमेरकी छोरी लिएर जानुहुन्न भन्नेमा विनाकी आमा भगवती अधिकारी पाण्डेको पनि निकै जोडबल थियो ।

बाल्यकालदेखिको शिव भेट्ने हुटहुटीकै कारण पाण्डे आफ्नी छोरी आभूषणलाई साथमै लिएर कैलाश पर्वतको तिर्थाटनमा हानिइन्। छोरीलाई डोल्मालासम्मको दर्शन गराउने सपना लिएकी उनले अनेकौ चुनौती र बाधाको बीच आफ्नो जिउँदो सपना पूरा गरिन्। उचाइको हिसाबले त्यहाँ पुग्नु मृत्युसंगै निहुँ खोजै जस्तै हो। तर, उनी जतिसुकै ठूला चुनौतीका पहाडहरु छिचोलेर भएपनि छोरी आभूषणलाई डोल्मालाको दर्शन गराउन चाहान्थिन्। यति सानो उमेरकी नानीलाई डोल्पमालासम्म पुराउन अत्यन्तै चुनौती र जोखिम थियो।तर, विना पाण्डे(आमा)ले निकै दबाबपछि आफूहरुले त्यसलाई स्वीकारेर त्यहाँ(डोल्लमाला)सम्म पुग्ने दुस्साहस गरेको बताउँछन्, नमस्ते होलिडेजका प्रबन्ध निर्देशक बसन्त बराल । उनी भन्छन्, “यति साहसिक आमा मैले जीवनमा पहिलो पटक भेँटे र प्रत्यक्ष अनुभव गरे,सायद । उहाँकै यही हुटहुटीकै कारण त्यत्ति जोखिमयुक्त स्थलमा नानी(आभूषण) पुग्न सफल भईन्।”

हो, पर्यटन व्यवसायी बसन्त बरालले भने जस्तै आमा विना पाण्डे एउटा सपना बोकेर हिडेकी साहसिक र संघर्षशील यात्री हुन्। उनी जस्तोसुकै चुनौतीसंग लड्न र भिड्ने आँट भएकी आमा हुन् । यही साहस र आस्थाको बलियो डोरीले उनलाई कैलाश पर्वतको दर्शन गर्न आत्मिकरुपले बलियो गरी पुरायो । भगवान शिवको साक्षात दर्शन गर्न अवसर मिल्यो भने छोरीले विश्व कीतिमान राखेर नयाँ इतिहास रचिन्।बुढापाका भन्ने गर्छन्, तिमी आँट गर, भगवानले पुराइदिन्छन् । हो, आज इन्जिनियर विना पाण्डेको जीवनमा पनि त्यस्तै भएको छ। उनले सपना देखिन्, त्यो सपना भगवानको आशिरवादले आज पूरा भएको छ।

मृत्युसंगै पौठेजोरी खेल्दै कैलाश पर्वत परिक्रमा :
आभूषणले आमा विना पाण्डेसंग यस अघि विश्वका १२ देशको भ्रमण गरेकी थिइन्। तर,कैलाश पर्वतको दर्शनका लागि त्यत्ति धेरै उचाइमा पुग्नु विदेश भ्रमण गरे जस्तो सहज पक्कै थिएन। किनकी कैलाश पर्वतको दर्शन गर्ने कुरा आस्था र आँटको साहराले मात्रै सम्भव हुने कुरा हो । दर्शन गर्न पुग्नेहरु सबै जिउँदै फर्किन सक्दैनन्। कतिपयले यात्राकै चरणमा ज्यान गुमाउँछन्। तिर्थाटनमा जानेहरु मध्ये २५ प्रतिशतले मात्रै पूरा गर्दछन्। ती मध्ये १० प्रतिशतले अक्सिजनको साहरा लिन्छन् । ५२ किलोमिटरको परिक्रमा गर्दा ४० किलोमिटर पैदल यात्रा गर्नुपर्दछ। यहाँ लेक लाग्ने(अक्सिजनको कमी)को समस्या धेरै हुन्छ। यात्रा त्यत्ति सुरक्षित र सजिलो छैन। त्यहाँ पुग्ने तिर्थालुका लागि सुरक्षाको व्यवस्था नगरिएको पनि होइन। तर, दार्चेनबाट डोल्मालासम्म पुग्दा निकै गाह्रो छ। इन्जिनियर पाण्डे भन्छिन्, “त्यहाँ छिन – छिनमा बदलिने मौसम अनि अन्कन्टार भीर पहरा देख्दै मुटुृ काँप्छ। उद्दारका लागि हेलिको समेत प्रबन्ध गर्न मुश्किल छ । तैपनि भगवान शिवको दर्शन गर्न भन्दै मानिसहरु मृत्युलाई बाजी राखेरै पुग्ने गर्दछन्् ।म पनि शिवकै आस्था, विश्वास र भरोसाले दर्शन गर्न सकेकी हुँ।”

विना पाण्डेका आफ्नै संघर्षका कथा र व्यथाहरुको अलिखित पुस्तकहरु खातका खात छन्। कैलाश पर्वतमा शिवको दर्शन गरे भन्दा अझै भयानक र कष्टकरपूर्ण उनका अतीका डोबहरु छन्। उनका अतीतका घटनाका पत्र र केस्राहरु फरक र भिन्न छन्। उनका यी कथा सुनेपछि जो कसैको पनि माथिङ्गल हल्लिन सक्छ, हृदय छिया– छिया हुन सक्छ, समाजमाथि आक्रोशको संगीन प्रश्न पनि उठ्न सक्छ। तैपनि उनी भगवान शिवप्रति आस्था, विश्वास र भरोसा राख्दै यही समाजसंग हरेक दिन भिडिरहेकी छिन्। शिवप्रतिको प्रगाढ आस्था बोकेर कैलाश पर्वंतको दर्शनसंगै छोरीको कीर्तिमानीलाई उनले नजिकैबाट अनुभव गरिन् र एक साहसिक र सफल आमाको रुपमा नयाँ इतिहास रचिन्।

(विश्व कीर्तिमानी आभूषणको बाल्यकालका संघर्षका कथा दोश्रो अध्यायमा प्रकाशित हुनेछ्, सरजु अनलाईन डटकम पढ्न र हेर्न नछुट्याउनु होला।_