९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

कहाँ गए,चिनियाँ पर्यटक ?


२१ असार २०८२, शनिबार  


विश्वकै अब्बल गन्तव्य नेपाल भएपनि पर्यटक आगमनको तथ्यांक चित्तबुझ्दो छैन।संसारकै सुन्दर देश भएर पनि आकर्षण किन हुन सकेन रु यो मुल प्रश्न हो। छिमेकी देश भारत र चीनमा बढ्दो आर्थिक उन्नति र उनीहरूको भ्रमणको रूचिको सूचिमा नेपाल परेको देखिन्न।

वल्ड ट्राभल टुरिजम अर्गनाइजेसन डब्लूटीओका अनुसार गएको वर्ष सन २०२४ मा १अर्ब ४ करोड अन्तर्राष्ट्रिय पर्यटकले भ्रमण गरे। जस मध्ये १२ करोड चिनियाँ ६ करोड भारतीयहरू रहेका छन् ।तर, १ लाख चिनियाँ पर्यटकले मात्रै नेपाल भ्रमण गरे। यो भनेको अत्यन्तै नगन्य हो।

जबकि सन २०१९ मा १ लाख ६९ हजार बढी चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए।गएको वर्षमा चिनियाँ भन्दा अमेरिकी पर्यटक बढेका छन् । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमा पहिलो भारत र दोश्रो र तेस्रो चिनियाँ रहेका छन् ।

यसो हुनुमा हाम्रो कमजोर पूर्वाधार र मार्केटिङ शैलीको कारण हो।चिनियाँ पर्यटकलाई आकर्षित गर्न पूर्वाधार सुधार, डिजिटल मार्केटिङ र नयाँ पर्यटकीय प्याकेज आवश्यक छ।प्राप्त विवरण अनुसार कोरोना महामारीभन्दा अगाडि नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको सङ्ख्या भारतीय पर्यटकपछि सबैभन्दा बढी थियो । कोरोनापछिको बदलिएको विश्वव्यापी परिवेशमा नेपालले पर्यटक आगमनमा क्रमशः सुधार गरिरहँदा चिनियाँ बजार भने अपेक्षित रूपमा सुधार भएको छैन । तथ्याङ्कअनुसार कुनै बेला दोस्रो स्थानमा रहेको चीनबाट आउने पर्यटकको सङ्ख्या हाल अमेरिकाबाट आउनेको भन्दा पनि कम देखिएको छ ।

कोरोना महामारी अघि भारतपछि चीन नेपालका लागि दोस्रो ठूलो पर्यटक स्रोत बजार थियो । तर, अहिले तथ्याङ्कमा यो अमेरिकाभन्दा पनि पछि परेको देखिन्छ, किन यस्तो अवस्था भयो भन्ने मुल प्रश्न हो।
पछिल्लो समय चिनियाँ पर्यटकको सङ्ख्या घटेको कुरा सत्य हो । यसो हुनुमा माथि उल्लेख गरिए जस्तै अत्यन्तै परम्परावादी बजार प्रवर्द्धन शैली अनि टीठलाग्दो पूर्वाधार हो। यसैका कारण विस्तारै चिनियाँहरू नेपाल घुम्न घट्न थाले।


नयाँ गन्तव्यहरूको अन्तर्राष्ट्रिय बजारीकरण भएको देखिन्न। पर्यटन भनेको काठमाडौ पोखरा र चितवन मात्रै हो भन्ने साँगुरो मानसिकता छ।यसैमा पनि काठमाडौबाट बाहिरिने सडकहरूको कन्तबिजोग छ।खराब
पूर्वाधार र परम्परावादी प्रचार शैलीले नयाँ पर्यटकलाई आकर्षित गर्न सकिएको छैन।

चिनियाँ पर्यटकको कुरा गर्ने हो, भने उनीहरू १० देखि १२ दिनको छोटो प्याकेजमा आउँछन्। तर, सडक खराब हुँदा योजना अनुसार घुम्न पाउँदैनन् । उसको चाहना काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी घुम्ने हुन्छ । तर यहाँको सडक उदेकलाग्दो छ। काठमाडौ पोखराको दुरी २ सय किलोमिटर हो।यही दुरी पार गर्न ८ र घण्टा घण्टासम्म लाग्ने गरेको छ।

उनीहरू यहि तीतो अनुभव लिएर फर्किन्छन्।नेपाल सुन्दर भएपनि सडकको हैरानीको सन्देश पुग्छ। अनि नेपाल भ्रमण कम प्राथमिकता पर्दै गए देखिन्छ ।
कोरोना महामारी पछि विश्व पर्यटन बजार लयमै फर्कियो। नेपाल भ्रमण गर्ने करिब १२ लाख पुगे।


फ्रान्स ,अमेरिका, बेलायत , जापान, कोरियाजस्ता देशहरूले चिनियाँ बजारलाई आकर्षित गर्न युद्धस्तरमा काम गरे । उनीहरूले ठुला–ठुला प्रवर्धानात्मक अभियान चलाए।डिजिटल माध्यमबाट चिनियाँ ट्राभल एजेन्टहरूलाई आकर्षक प्याकेज दिए, र आफ्नो देशमा पर्यटकलाई स्वागत गर्न विशेष तयारी गरे । तर, गति र मति देखिएन। पर्यटक आउँछन् भन्दै बसिरह्यौ।

यसैमा पनि नेपाल पर्यटन विकासमा चिनियाँ सरकारको ठूलो सद्भाव छ। चिनियाँ सरकारले नेपालप्रति सद्भाव देखाउँदै २०२५ लाई ‘भिजिट नेपाल इयर’ का रूपमा मनाउन सहयोग गर्ने घोषणा गर्‍यो । यो हाम्रा देशका लागि ज्यादै राम्रो अवसर थियो । तर, त्यो घोषणाको फाइदा उठाउन नेपालले कुनै बजारीकरण गरेको देखिएन।पुरानै ढर्रा को बजार रणनीतिले पर्यटक तान्न सकेन।


डिजिटल प्लेटफर्म प्रयोग अहिलेको सबैभन्दा सशक्त माध्यम हो। सामाजिक सञ्जाल र हाम्रो प्रचार शैलीमा कतै पनि तालमेल मिलेनन।अबको जमाना मोबाईल टुरिजम अर्थात डिजिटलको हो।चिनियाँ डिजिटल टुरिजम स्ट्राटेजीलाई बोध गर्न सकेनौ। चिनियाँ ट्राभल ब्लगरसंग सहकार्य गर्दै चिनियाँ भाषामा प्रचार गर्नुपर्नेमा हामीले अंग्रेजीमै गर्ने गर्यौ।उनीहरूको रुचि भन्दा पनि हाम्रो प्रचारप्रसारको रुचि र शैलीले चिनियाँ मन तान्न सकेनौ।

प्रवर्द्धनका समस्या मात्रै छैनन् हामीसंग।हवाई सेवामा पनि उस्तै फितलोपना छ। नेपाली विमान कम्पनीका उडान प्रमुख चिनियाँ शहरमा मात्रै केन्द्रीकृत छ।पछिल्लो समय यो पनि घट्दो दरमा छ।


यद्यपि चिनियाँ अर्थतन्त्रको पनि तर्क गरिएला ।तर,यस्तो तर्कको अर्थ छैन।छिमेकी देश नेपाल भन्दा युरोप प्रशान्त क्षेत्रमा बढी चिनियाँ पर्यटकहरू ठुलो सङ्ख्यामा पुग्ने गरेका छन् ।उनीहरू विशेषगरी थाइल्यान्ड, भियतनाम, युरोप र अन्य गन्तव्यमा गइरहेका छन् । चिनियाँहरूको प्राथमिकतामा नेपाल परेन। विश्वभर १२ करोड चिनियाँ भ्रमण गरेकोमा १ प्रतिशत पनि नेपाल भ्रमण गरिएको देखिएन। १२ करोडमा जम्मा १ लाख चिनियाँले भ्रमण गरे। कम्तीमा पनि १ प्रतिशत मात्रै भए पनि १२ लाख चिनियाँ पर्यटक हुन्थे भने भारतीहरू ६ लाख हुन्थे। छिमेकीबाट १८ लाख पर्यटक भए अन्य गर्दा हाम्रो पर्यटक आगमन २५ लाख पुग्ने थियोे ।यसर्थ विश्वको सबैभन्दा ठूलो जनसंख्या र धनी बनिरहेको चीनका पर्यटक तान्न पर्यटन बोर्ड लगायतका निकायले धेरै बल गर्नुपर्ने खाँचो देखिन्छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ११ : ४७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित