१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

जिल्लाको नमुना वडा बनाउने अभियानमा छौ: वडाध्यक्ष देउवा


३० भाद्र २०८१, आइतबार  



राजनीतिक संघर्षबाट स्थापित जनप्रनिधि हुन्, आलिताल गाउँपालिका वडा नम्बर १ डडेल्धुराका वडाध्यक्ष यज्ञबहादुर देउवा। लोकतान्त्रिक आन्दोलनको एक सिपाहीको रुपमा क्रियाशील उनी बाबु गगनसिंह देउवा र आमा भारतीदेवी देउवाको कोखबाट २०३६ साल पुस २२ गते जन्मिएका थिए। वडाध्यक्ष देउवा, डडेलधुरा जिल्ला, हालको आलिताल गाउँपालिका वडा नम्बर १ मा किसान परिवारमा जन्मिएका व्यक्तित्व हुन्। बाबु गगनसिंह र आमा भारतदेवीको काखमै हुर्किएका उनी सबै भन्दा कान्छा छोरा हुन्। वडाध्यक्ष देउवासहित सात भाइ छन्। दुइवटी आमाबाट सात भाइसहितको परिवार रहेका उनका बाबु गगनसिंह देउवाको भने निधन भैसकेको छ।

श्रीमती डम्बरी जोशी देउवा र छोरा निर्मलकुमार देउवा रहेका वडाध्यक्ष यज्ञबहादुर देउवाले प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण भने धनगढी कैलालीबाट गरेका थिए । उनले विक्रम सम्वत २०५५ सालमा त्रिनगर माध्यमिक विद्यालय धनगढी कैलालीबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका हुन्। आधारभूत कम्युटर ज्ञान हासिल गरेका उनी सामाजिक सञ्जालमा सक्रिय छन्। वडाबासीका हरेक गुनासा सुन्न र वडाका सूचना संप्रेषणका लागि उनी सञ्जालमा सक्रिय रहन्छन्।

वडाको सूचना अध्वधिक गर्नेदेखि वडालाई कसरी व्यवस्थित बनाउन सकिन्छ, भनेर उनी स्वअध्ययनलाई पनि उत्तिकै जोड दिन्छन्। वडाध्यक्ष भएर आएपछि उनले योजना तर्जुमा र छनौटको विषयमा तालिम तथा प्रशिक्षण पनि लिएका छ्। पुर्ना डोटी नामको एक गैरसरकारी संस्थाले पहिले तीन दिने र यस वर्ष दुइदिने तालिम दिएको थियो ।

राजनीतिक जीवन:
जब यज्ञबहादुर देउवाले एसएलसी परीक्षा उत्तीर्ण गरे, तब उनी राजनीतिक जीवनमा प्रवेश गरे। नेकपा एमालेको युवा संगठनमा आवद्ध हुँदै उनी यतिबेला एमाले आलिताल गाउँपालिको इन्चार्जको जिम्मेवारीमा छन्। पार्टीको इमान्दार सिपाहीको रुपमा स्थापित उनी आलितालमा एक लोकपृय नेताको रुपमा परिचित छन्। उनले २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत आलिताल गाउँपालिका वडा नम्बर १को वडाध्यक्षमा विजयी हासिल गरेका थिए ।

नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा होमिएका उनले निकटम् प्रतिद्धन्दी नेपाली कांग्रेसका गम्भीरसिंह बोहरालाई पराजित गरेका थिए। खसेको मतमा उनी ४सय५७ मत लिएर विजयी भएका थिए। प्रतिद्धन्द्धी भन्दा करिब एक सय बढी मतान्तरले विजयी हासिल गरेका उनै यज्ञबहादुर देउवा पार्टी, जनता र आफ्नो कृषि व्यवसायको कामलाई संगसैगै अघि बढाएका छन्।

सामाजिक जीवन:
राजनीति र कृषि पेशालाई एकैसाथ अघि बढाएका वडाध्यक्ष यज्ञबहादुर देउवा आज भन्दा धेरै वर्ष अघि राष्टिय युवा क्लवको सदस्य भएका थिए। त्यस क्लबमा रहँदा उनले दर्जनौ सामाजिक काम गरेर सामाजिक योगदान गरेका थिए। २०६८ सालमा हालको आलिताल गाउँपािलका वडा नम्बर १ मा रहेको वनदेवी सामुदायिक वनको संस्थापक अध्यक्ष भएर काम गरेका थिए। साविकको गांखेत गाउँविकास समिति वडा नम्बर ८ मा रहेको त्यस सामुदायिक वनको संरक्षण र सम्वद्र्धन गर्दै उपभोक्ताको हितका लागि काम गरेका उनी यस क्षेत्रका लोकपृय सामाजिक अभियान्त पनि हुन् ।

वडाको परिचय रअवस्थिति :
यस वडा नम्बर १ को सिमानामा पूर्वमा गन्याबधुरा गाउँपालिका वडा नम्बर १, पश्चिममा आलिताल गाउँपालिका वडा नम्बर ५, दक्षिणमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ र उत्तरमा आलिताल गाउँपालिका वडा नम्बर २ पर्दछन्। साविकको गांखेत गाउँविकास समितिको वडा नम्बर ८ र ९ नम्बर वडालाई जोडेर हालको वडा नम्बर १ बनाइएको हो । ३३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस वडा नम्बर १ समुद्री सतहबाट १५७५ मीटरको उचाइमा अवस्थित छ। यहाँको हावापानी समशितोष्ण प्रकारको रहेको पाइन्छ ।

जनसंख्या र जातिगत संरचना र रोजगारीः
यस वडाको जनसंख्या जनगणना २०७८ अनुसार २ हजारको हाराहारीमा छ। ३१४ घुरधुरी रहेको यस वडामा पाँच सय दलित र पाँच सय जनजातिको जनसंख्या रहेको छ। बाहुनहरुको एकदमै थोरै बस्ती छ, भने क्षेत्रीहरुको जनसंख्या धेरै छ। जस मध्ये रोजगारीका लागि खाडीतिर जानेको संख्या १५० छ, भने भारतमा पुगेकाहरुको संख्या ५ सय बढी छन्। सरकारी जागिरमा संलग्नहरु कुल संख्याको दुइ प्रतिशत पुग नपुग रहेको देखिन्छ।


यस क्षेत्रको मुख्य पेशा नै कृषि तथा पशुपालन हो । यहाँ धान खेतीदेखि बाख्रा पालन र मह उत्पादन मुख्य पेशा हो । हरेक घरधुरीमा औसतमा ६० जतिको संख्यामा बाख्रा पालन गरिएको छ। च्यूरीको बोट प्रशस्ष्टै हुने भएकोले यहाँ मौरी पालन पनि निकै फस्टाएको छ। एक घरले वर्षमा औसतमा डेढ कुइन्टलको हाराहारीमा मह विक्री गर्ने गर्दछन्। १० प्रतिशत मानिसहरु व्यापार गर्ने गर्दछन्। साना तथा घरेलु उद्योग पनि नभएको यस वडाको आर्थिक श्रोतको आधार कृषि नै हो। कृषिमा पनि तरकारी र मह हो,भने वन पैदावरमा जडिबुटी हो ।


प्राकृतिक तथा सांस्कृति सम्पदाः

यस वडाको सबै भन्दा ठूलो हल्दी खोला हो, त्यसैगरी जैसिना खोला, बाजीगाउँ खोला, दुनी खोला यस क्षेत्रका जलाधार क्षेत्र हुन्। पानीका श्रोतहरु भएपनि भौगलिक विकटताले पानीको समस्या भने हल गर्न अझै सकिएको छैन ।त्यसैगरी यस वडामा जंगलीबाबाको मन्दिर निकै प्रख्यात छ। यस मन्दिमा हरेक वर्ष तिहारको ९ दिनपछि भव्य मेला लाग्ने गर्दछ। बाहिरी जिल्लाबाट समेत यस मन्दिरको दर्शनका लागि दर्शनार्थी आउने गर्दछन् । यस्तै यहाँ घण्टेश्वर बाबाको पनि मन्दिर रहेको छ।

त्यसैगरी यस वडामा ५ वटा सामूदायिक वन रहेका छन्। वनको स्थानीय उपभोक्ताले संरक्षण गर्दै आएका छन्। उपभोक्ता समितिमार्फत संरक्षित यस वन क्षेत्रमा चिराइतो, सतुवा, सेलपोडे,तेजपत्ता, काउलो, झ्याउ आदि जडिबुटी पाइन्छन्।

स्वास्थ्यको अवस्थाः स्वास्थ्यचौकी भवन निर्माणधीन चरणमा छ। पाँच वर्ष अघि बनाउन थालिएपनि निर्माण कम्पनीकै कारण विलम्ब भएको छ। वडामै बर्थिङ सेन्टर नहुँदा छिमेकी जिल्ला डोटीको जोरायल गाउँपालिकामा रहेको स्वास्थ्य संस्था जानुपर्ने बाध्यता छ। तैपनि निर्माणधीन भवनमै वडाले स्वास्थ्य सेवा दिइरहेको छ। दैनिक २५ जनाको औसत दरमा बिरामीले प्राथमिक उपचार लिन्छन्। आमा समूहहरु सक्रिय छन्, ७ वटा टोलका समूहहरुले सामाजिक तथा स्वास्थ्य सम्बन्धि जागरणका कार्यक्रम गर्ने गरेका छन्।


सडक पहुँच तथा आर्थिक श्रोतः वडाको आफ्नै आन्तरिक श्रोत निकै कम छ, वार्षिक अढाइ लाख राजश्व वापत आर्थिक संकलन हुने गर्दछ। संघीय र प्रदेश सरकारहरुको अनुदानमै निर्भर रहनुपर्ने बाध्यता छ। वडामा कुनै उद्योगहरु छैनन्।वडा कार्यालयको आफ्नै पक्की भवन छ। सेवाग्राहीलाई सेवा दिनका लागि हर्ताेला टोलमा रहेको छ।

वडा भवन मात्रै होइन, ५ वटा सामुदायिक भवन छन्। जहाँ सामूहिक काम कार्य गर्नको लागि उपयोग हुदै आएको छ। वडाको सात वटै टोलमा कच्ची सडक पुगेको छ। राष्ट्रिय राजमार्ग भिमदत्त राजमार्गसंग जोडिएको छ। वडादेखि पाँच किलोमिटर टाढाको दूरीमा रहेको छ।

दुई वर्षको वडा कार्य अनुभव :

-कृषिमा उपलब्धि :
कृषिलाई मुख्य पेशा बनाएर उनी राजनीतिक सेवा गर्दै आएका छन्। कृषि पेशामा संलग्न रहेका उनले आफ्नो वडालाई आलुको पकेट क्षेत्र बनाएका छन्। कृषि पकेट क्षेत्रको घोषणा गरेर अघि बढेका उनले कृषकका लागि कृषि औजार, मल,बीउ बिजनको प्रबन्ध गर्ने गरेका छन् । यस वडामा धानखेती हुने २० प्रतिशत क्षेत्रमा गरिन्छ, भने अधिकांश उब्जाउ जमिनमा तरकारी खेती बढी हुन्छ।



यस वडामा बाह्रै महिना तरकारी उत्पादन हुने गर्दछ। यहाँका अधिकाँश किसानको मुख्य बाली नै तरकारी खेती र बाख्रा पालन हो ।यो क्षेत्र कृषि तथा पशुपालनमा निकै अब्बल मानिन्छ। वडालाई आलुको पकेट क्षेत्र बनाउन सफल उनले यस क्षेत्रको कृषि तथा पशुपालन क्षेत्रमा नमुना योग्य काम गरेका छन्।

जहाँ वडाबासीलाई खानेपानी,सिचाइ , विजुली बत्तीको जोहो गरेका छन्। यस वडामा आलुको राम्रो उत्पादन हुने गर्दछ। यस्तै मह उत्पादनमा पनि उत्तिकै प्रख्यात छ, यो वडा जहाँ एक घरपरिवारले डेढ कुइन्टलसम्म मह उत्पादन गर्ने गर्दछन्। यहाँको तरकारी धनगढी जस्ता तराइका बजारमा पुग्ने गर्दछ।

विद्यालय र विजुलीमा उपलब्धी :
वडाध्यक्ष यज्ञबहादुर देउवा वडाध्यक्षमा निर्वाचित भएर आउनु अघि यस वडामा ३५ प्रतिशत घरधुरीमा मात्रै विजुली पुगेको थियो । तर, उनको गएको दुइ वर्षको कार्य अवधिमा अहिले यस वडाका ८५ प्रतिशत घरधुरीमा विजुली विस्तार भएको छ। चालू आर्थिक वर्षभित्र उनले वडालाई पूर्णरुपमा उज्यालो बनाउने अभियान शुरु गरेका छन्।यस वडामा माध्यमिक तहसम्म यहाँ विद्यालयहरु रहेका छन्। माध्यमिमक तहको एउटा विद्यालय छ। यस विद्यालयमा माध्यमिक तहको लागि एउटा पनि माध्यमिक तहको दरबन्दी छैन, तर,पनि पालिकाकै श्रोतबाट चार वटा दरबन्दीको व्यवस्था गरी विद्यालय शिक्षा सुधार्ने उनले कोशीस गरेका छन्।


यस वडामा मावि तह(कक्षा १०) एक, आधारभुत एउटा र तीन वटा प्राथमिक, दुइ वटा बाल विकास रहेका छन। यी विद्यालयहरुमा अध्ययन गर्ने करिब एक हजार विद्यार्थी रहेका छन्। ती विद्यार्थीहरुको भविष्य बनाउने जिम्मेवारी पनि जनप्रतिनिधिको हिसाबले उनकै काँधमा छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार्न पालिकासंगको सहकार्यमा माध्यमकि, आधारभूत, प्राथमिक र बालविकासमा शैक्षिक सुधारका काम भइरहेको छ।

जनसेवामा वडाध्यक्ष : सामाजिक सुरक्षा भत्तालाई व्यस्थित गरिएको छ। २०७९ असार अघिसम्म सामाजिक सुरक्षा भत्ता बुझ्न चालिस किलोमिटरको बाटो पार गर्नुपर्दथ्यो। असशक्त, अपांग, जेष्ठ नागरिकका लागि यो निकै कहर थियो । तर, यसलाई सरल सहज बनाउन वडाले नबिल बैकसंग सहकार्य अघि बढाएको थियो ।

वडाले त्यसलाई पालिकामै पहिलो प्रस्ताव राखेर वडामै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्यो । नविल बैकसंगको समन्वयमा २०७९ साउनदेखि वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि असक्त, असाह्य, अपांग र जेष्ठ नागरिकलाई ठूलो राहत मिलेको छ।


दलित र विपन्नलाई सुरक्षित आवासः
आलिताल गाउँपालिका वडा नम्बर सात वटा टोलहरु रहेका छन्, ती टोलहरु मध्येका मालागाउँ र भोगा दलित बस्ती हुन्। यी बस्तीमा २४ दलित घरपरिवार बस्दै आएका छन्। तर, यी बस्ती निकै जोखिममा रहेका छन्। २०७८ असारमा आएको अविरल वर्षाले यस क्षेत्रको जमिनको धाँजा फाटेको छ।

अहिलेसम्म मानवीय क्षति नभएपनि पशुचौपाया र गोठहरु भत्किएका छन्। जुनसुकै बेला पनि धाँजा फाटेको जमिन पहिरो जान या भासिन सक्ने जोखिममा रहेको छ। जसले गर्दा गएको वर्ष एक महिना आधारभूत विद्यालयमा राहत र रासनको व्यवस्था गरिएको थियो । यस वर्ष पनि त्यसैगरी यो क्षेत्रका परिवारको व्यवस्था गरिएको छ।

वडाको यस अभियानलाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन्। स्थानीय प्रशासनले समेत यस क्षेत्रको अध्ययन अवलोकन गरेको थियो । हाल टेन्टमा २४ परिवारलाई राखिएको छ।उनीहरु बर्खा पछि आफ्नै घरमा बस्छन्। पालिकाबाट खाद्यान्नको जोहो गरिएको छ। यो वर्ष भित्रै २४ सै परिवारलाई सुरक्षित स्थानमा राख्ने पहल शुरु भएको छ। भूगर्भविद्ले यस बस्न अनुपयुक्त भएको भन्दै प्रतिवेदन दिएका छन्। प्रतिपरिवार ३ लाख जमिन खरिद ४ लाख घर बनाउने गरी ७ लाख दिने गरी कार्यक्रम अघि बढेको छ। एकै डिजाइनका घरहरु बनाउने प्रक्रिया अघि बढेको छ, सुरक्षित बासपछि उनीहरुले आफ्नो जमिनमा खेतीपाति गर्नेछन्, बासस्थान अन्तै हुनेछ।


पर्यटन विकासमा पहलः
यस वडाको महत्वपूर्ण पर्यटकीय क्षेत्र भनेको जैसिना झरना हो, अनुमानित तीन सय मीटर लामो यस झरना निकै मनोरम र आकर्षक छ। यस क्षेत्रमा होमस्टे कार्यक्रम सन्चालन गर्न सकेमा धेरै पर्यटकलाई यहाँ पुराउन सकिन्छ । त्यसको लागि वडाले सडक नजिकै पुराएको छ।

दुइ तीन सय मिटर सीढी चढेर झरनाको अवलोकन गर्न सकिन्छ। देशकै लामो झरनाको रुपमा जैसिना झरना रहेपनि अहिलेसम्म यसको नापजाँच गरिएको छैन । त्यसको लागि चालू आर्थिक वर्षमा वडाले डीपीआर अर्थात विस्तृत परियोजना प्रतिवेदन पर्यटन मन्त्रालयमा पेश गरेको छ।


नयाँ अपडेटहरु निरन्तर ………………

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ८ : ५१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित