नेपालमा लामो समयदेखि तीनतिर सीमा जोडिएको (पूर्व, दक्षिण र पश्चिममा) छिमेकी देश भारतका नागरिक नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको ठूलो संख्यामा रहने गरेको देखिन्छ ।
तथ्यांक हेर्दाखेरि, नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकमा बर्सेनि धेरै संख्यामा भारतीय पर्यटक नै आउन थालेको सन् १९७४÷७५ देखि हो । यसरी लगभग ५० वर्षदेखि भारतीय नागरिक नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमा धेरै संख्यामा हुने गरेका छन् भने अलि अगाडि सन् २०१९ सम्म दोस्रो नम्बरको संख्याचाहिँ चिनियाँ नागरिकले लिने गरेका थिए ।
सन् २०१९ को अन्त्यतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सहर बुहानबाट फैलन सुरु भएको कोरोना महामारीपछि चिनियाँ पर्यटकको संख्या लगातार रूपमा घट्दै गयो । कतिसम्म भने सन् २०२० र २०२१ मा चौथो, सन् २०२२ मा छैटौँ र सन् २०२३ मा तेस्रो स्थानमा रहेका थिए । सन् २०२४ मा चाहिँ १ लाख १ हजार ८ सय ७९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यसरी चार वर्षपछि चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
तर,चिनियाँ पर्यटकको कुरो गर्दा, सर्वसाधारण चिनियाँ नागरिकलाई चीन सरकारले सन् २००३ देखि मात्रै नेपालमा पर्यटक भएर आउने अनुमति दिन थालेको हो । तथापि, चिनियाँ नागरिकले नेपालमा पर्यटकका रूपमा आउन थालेको छोटो समयमा नै नेपाल आउने विदेशी पर्यटकको संख्यामा दोस्रो स्थान लिन थालेका थिए । भनाइको मतलब चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको दोस्रो ठूलो संख्या हुन थालेको छ । हुन पनि सन् २००३ अर्थात् पहिलो वर्ष ७ हजार ५ सय ६२ जना चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल भ्रमण गर्न आएका थिए । त्यसयता कोरोना महामारी ९कोभिड–१९० सुरु नभएसम्म चिनियाँ पर्यटकको संख्या लगातार रूपमा बढिरहेको थियो ।
पछिल्लो एक तथ्यांकअनुसार भारतीयहरू ठूलो संख्यामा पर्यटक भई युरोप, अस्ट्रेलिया, अफ्रिका, मध्यपूर्व, दक्षिण तथा उत्तर अमेरिका भ्रमणमा निक्लन थालेका छन् । जस्तो कि, यहाँ युरोपको एक देश जर्मनीको उदाहरण लिऊँ । जुन देशमा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या सन् २०२१ को तुलनामा सन् २०२३ मा ३०५ प्रतिशतले बढेको थियो । इकोनोमिक्स टाइम्सको ‘ट्राभल वल्र्ड्स’मा प्रकाशित एक समाचारअनुसार जर्मनीमा सन् २०२१ को तुलनामा सन् २०२२ मा २०५ प्रतिशतले भारतीय पर्यटक आगमन वृद्धि भएको थियो । जर्मन ट्राभल मार्ट (जिटिएम) र जर्मन नेसनल टुरिज्म बोर्ड (जेएनटिबी)का अनुसार सन् २०२२ मा ६ लाख भारतीय पर्यटक जर्मनीको भ्रमण गर्न गएका थिए ।
फेरि पनि भन्नुपर्दाखेरि लामो समयदेखि नेपाल आउने विदेशी पर्यटकको संख्या लगातार रूपमा सबैभन्दा धेरै भारतीय नै रहेका छन् । यसको मतलब अहिलेसम्म भारतीय पर्यटकलाई अरू देशका पर्यटकले संख्यात्मक हिसाबले जित्न सकेका छैनन् र सम्भवतः अरू केही वर्ष अर्थात् एक दशकसम्म पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको पहिलो नम्बरमा भारतीय नागरिक नै रहनेछन् । किनभने उनीहरूलाई नेपाल भ्रमण गर्न भिसा शुल्क पनि लाग्दैन । त्यसो त केही वर्षपछि नेपालमा धेरै संख्यामा आउने विदेशी पर्यटको स्थान चिनियाँ पर्यटकले लिने सम्भावना रहेको देखिन्छ । अहिले नै पनि नेपाल आउने विदेशी पर्यटकको दोस्रो ठूलो संख्या उत्तरको छिमेकी देश चीनको रहेको छ ।
चिनियाँ पर्यटक विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बरमा (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने पर्यटकका रूपमा) विदेश घुमिरहेका थिए, अझै पनि घुमिरहने नै छन् । तर, त्यसरी विश्वकै सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका तिनै चिनियाँ पर्यटक नेपालमा चाहिँ किन कम संख्यामा आउँछन् त ? अथवा भनौँ चिनियाँ पर्यटकले नेपाल भ्रमणमा आउँदा चाहिँ किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोच–विचार गर्नुपर्ने देखिन्छ । अझ त्यसमा पनि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका मात्रै आउने गरेका छन् ।
फेरि पनि भारतीय पर्यटककै कुरो गर्नुपर्दाखेरि आफ्नो भूगोलको आधा भाग एसिया महादेश र आधा भाग युरोप महादेशमा पर्ने भए तापनि आफूलाई आधिकारिक रूपमा युरोप महादेशको देश ठान्ने ‘तुर्किएरटुर्किए’ (टर्की पुरानो नाम)मा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या सन् २०२४ मा २०.७ प्रतिशतले बढेको थियो । यता एसिया महादेशको सानो देश सिंगापुरमा पनि सन् २०२४ मा विदेशी पर्यटक आगमनको संख्यामा भारतीय पर्यटकको संख्या तेस्रो धेरै संख्या बन्न पुगेको थियो ।
इकोनोमिक्स टाइम्सले प्रकाशित गर्ने ‘ट्राभल वल्र्ड्स’ र सिंगापुर टुरिज्म बोर्ड (एसटीबी) ले जनाएअनुसार सिंगापुरमा सन् २०२४ मा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या १२ लाख रहेको थियो । त्यसैगरी सन् २०२४ मा सिंगापुर भ्रमण गर्ने दोस्रो धेरै पर्यटकचाहिँ इन्डोनेसियन रहेका थिए । सन् २०२४ मा २४ लाख ९० हजार इन्डोनेसियन पर्यटकले सिंगापुर भ्रमण गरेका थिए भने सन् २०२४ मा ३० लाख ८० हजार चिनियाँ पर्यटक सिंगापुर भ्रमण गर्न गएर पहिलो स्थान बनाउन सफल भएका थिए ।
तर, नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्याचाहिँ सन् २०२३ को तुलनामा सन् २०२४ मा ०.७ प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०२३ मा ३ लाख १९ हजार ९ सय ३६ जना भारतीय पर्यटक नेपाल भ्रमण गर्न आएका थिए भने सन् २०२४ मा चाहिँ ३ लाख १७ हजार ७ सय ७२ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसो त सन् २०२४ मा भारतीय पर्यटक बोकेको बस दुर्घटना नभएको भए अनि बाढी–पहिरोका कारण सडक यातायात (बाटाघाटा) मा लामो समयसम्म अवरोध नआएको भए, एवम् प्रकारले हवाईजहाज तथा हेलिकप्टर दुर्घटनाहरू नभएको भएदेखि सन् २०२४ मा ०।७ प्रतिशतले भारतीय पर्यटक घट्नुको सट्टा कम्तीमा ८–१० प्रतिशतले बढ्ने थियो भन्दा केही फरक नपर्ने देखिन्छ ।
त्यसैले हामीले अब अरू देशका पर्यटकका साथै भारतीय पर्यटकहरूलाई सक्दो धेरैभन्दा धेरै संख्यामा भित्र्याउने प्रयास गर्नुपर्ने देखिन्छ । त्यसमा पनि अलि बढी खर्चिला खालका भारतीय पर्यटकलाई नेपाल भित्र्याउनका लागि हामीले पहलकदमी लिनुपर्ने देखिन्छ । हुन पनि भौगोलिक दूरीका हिसाबले हेर्दाखेरि हजारौँ किलोमिटर टाढाका युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका महादेश एवं धेरथोर संख्यामा अन्टार्कटिकातिर पनि भ्रमण गर्न जान आकर्षित भइरहेका छिमेकी देश भारतका पर्यटकहरूलाई कसरी नेपालमा वार्षिक ८–९ लाखदेखि ११–१२ लाखको संख्यामा भित्र्याउने रु सो सम्बन्धमा हामीले बेला छँदै सोच्ने र आकर्षक कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ ।
किनभने, अबका दिनमा उत्तरी छिमेकी देश चीनपछि बिस्तारै हाम्रो देशको तीनतिर सिमाना भएको छिमेकी देश भारतका पर्यटक नै विश्व भ्रमणमा निक्लने पर्यटक हुने देखिन्छ । यो कुरोलाई बेलैमा मनन गरेरै हुनुपर्छ, विश्वका केही देशले त भारतीय पर्यटकलाई लक्षित गरेर दीर्घकालीन योजनाका साथै तत्कालीन कार्यक्रमहरू पनि ल्याउन थालेका छन् ।








