२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने सरकारी तयारी


१ भाद्र २०८२, आइतबार  


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बन्द रहेका विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न मिल्नेगरी हवाई ऐनमा व्यवस्था गर्न लागिएको बताएका छन् ।

शनिबार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको विमानस्थल दिगो सञ्चालनसम्बन्धी छलफलमा उनले ठूलो लगानीमा बनेको भैरहवास्थित गौतमबुद्ध र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि निजी क्षेत्रले चाहे दिनेगरी ऐनमा व्यवस्था गर्न लागेको बताएका हुन् ।

यसका लागि पर्यटन, अर्थ, परराष्ट्र, गृह, श्रमलगायत मन्त्रालयसँग छलफल अगाडि बढाएको मन्त्री पाण्डेयले बताएका छन् । उनले चलिरहेका विमानस्थल निजी क्षेत्रलाई दिने कुरा नभएको तर निर्माण सम्पन्न भएर नियमित सञ्चालनमा नआएकाहरूको हकमा निजी क्षेत्रलाई दिने कुरामा सकारात्मक ढंगबाट नीति बनाएर अगाडि बढेको बताए ।

विमानस्थल नचल्नुका कारण पनि अध्ययन गरिरहेको बताउँदै उनले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने दाबी गरे । विश्वका जुनसुकै विमानस्थल पनि सुरुवातमा यस्तै समस्या भोगिरहेको कैयन उदाहरण भएको दाबी गर्दै विमानस्थल नचलेको चिन्ता नलिन आग्रह गरे । उनले स्थानीय स्थतरमा विमानस्थल सञ्चालन संघर्ष समितिलाई नाम परिवर्तन गरी सहजीकरण समिति बनाउन पनि आग्रह गरेका छन् । ।

प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका क्रममा मन्त्रालयको तर्फबाट भारत समक्ष प्रस्तुत गर्नुपर्ने एजेण्डामा अन्तर्राष्ट्रिय उडानका लागि रुट अनुमति, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति भारतले राख्ने नकारात्मक भावनाको अन्त्य र क्षेत्रीय उडानका लागि पहल गर्ने विषय समेटिएको पनि मन्त्री पाण्डेले बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले सरकारी उदासिनताका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । विमानस्थल सञ्चालनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच तालमेल हुनुपर्ने उनको भनाइ थियो ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन ? भन्ने सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यात्रुलाई सुविधा नदिइँदासम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने बताए । ‘श्रम, भिसा, म्यानपावरका लागि काठमाडौं धाउन परेपछि भैरहवामा कोही पनि नआउने उनले बताए । यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एशियाले ७७ प्रतिशत यात्रु पाउँदा पनि नियमितता दिन नसकेको चर्चा गर्दै भैरहवाबाट नेपालगन्ज, धनगढी लगायत ठाउँमा पनि आन्तरिक उडान गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योगवाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले विमानस्थल नचलेकै कारण हरेक क्षेत्रमा समस्या बढिरहेको जनाए । वार्षिक ३० लाख पर्यटक ल्याउने क्षमता भएको विमानस्थलमा १५ हजार पर्यटक मात्र आउनु सरकारको कमजोरी भएको पर्यटन व्यवसायी संजय बजिमयले बताए । यो क्षेत्रमा भारतीय विमानको आगमन नहुँदासम्म सोचेजस्तो र चाहेजस्तो पर्यटक नआउने र विमान सञ्चालनमा पनि कठिन हुने बताए ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ५२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित