३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

राष्ट्रिय परिचय–पत्रमा “सरकारी फर्मान”


२० असार २०८१, बिहिबार  


कति वैरागलाग्दो छ,यो देशको थिति,नीति अनि विधि ! कहिले सवारी साधनमा इम्बोस्ट नम्बर त,कहिले राष्टिय परिचय पत्र ! कसका लहलहैमा सारिन्छन्,यस्ता खेलोमेलो? जवाफ दिएको छैन अहिलेसम्म कोही कसैले । विदेशी दातासंग ऋण थापेर बनाउन खोजिएको राष्ट्रिय परिचय पत्रको उपादेयता,औचित्यता र जरुरी महत्वको विषय हो या होइन, त्यसको बहस अर्काे पाटोमा होला ।

तर, राष्टिय परिचय पत्र बनाउन विश्व बैकसंग १६ अर्ब ऋण लिएरै यति मरिहत्ते गरिएको आखिर किन? राष्ट्रिय परिचय पत्रकै अभावमा देश नबनेको हो ? देश झनपछि झन गरिबी भएको हो ? जनताको व्यक्तित विवरणमा विदेशी लगानी नगरी देश सम्वृद्ध नभएको हो ? पुरुषको ढाकाटोपी र महिलाको सिन्दुर बाधक हो ? यो देश विश्व मानचित्रमा उन्नत र विकसित बन्नका लागि हो ? राष्ट्रिय परिचय पत्र नबन्दा के नेपालीहरु विश्वमा एक्लिदै छन्? यी र यीनै संयशपूर्ण प्रश्नकै बीचमा सरकारले राष्टिय परिचय पत्र बनाउन उर्दी जारी ग¥यो।

सामाजिक सुरक्षा भत्ता पाउनकै लागि बृद्धबृढालाई जेठ असारको चर्काे घाममा चरम यातना मात्रै दिइएको छैन,शीरको ढाकाटोपी र सिउँदो सिन्दुर पुछाएर राष्ट्रिय परिचय पत्र बनाउन फर्मान जारी गरियो । तस्बिर राम्रो नआउने भन्दै फूकाल्न लगाइयो, शीरको टोपी, अनि सिउँदो सिन्दुर । नेपालीको सांस्कृतिक र राष्ट्रिय पहिचान हो, ढाकाटोपी र सिउँदोको सिन्दुर। जुन हाम्रा पूर्खाले हजारौ वर्षदेखि सांस्कृतिक जीवनमा अभ्यासमा ल्याए, अक्षुण राखे। ढाका टोपी हाम्रो राष्ट्रियता हो, हाम्रो इतिहास र गौरवमय गाथाको बिम्ब हो।आज नेपाली संसारभर पुग्दा ढाकाटोपी र सिन्दुरले पहिचान झल्काउँछ। त्यही हाम्रो गौरव र शान हो। तर, नियोजितरुपमा हाम्रो पहिचानमाथि धावा बोलिदैछ । परिचय पत्रको नाममा विदेशीलाई सूचना बेच्ने दुर्नित स्वार्थ र भावना हो, या नागरिकको व्यक्तिगत विवरणको यथार्थ तथ्यांक राख्न, त्यसको सुस्पष्ट जवाफ दिनुपर्ला नि सरकार, होइन भने तिमी विदेशीको मतियार भन्न जनताले किन नपाउनु ?आखिर कस्को स्वार्थ र कसको सेवाका लागि हो,सरकार ?

राजपत्रमा सूचना प्रकाशित गरी यही साउनदेखि कायान्वयनमा लगिने भनिएको छ, आउँदो माघभित्र राष्ट्रिय परिचय पत्र नबनाए सबै सुविधबाट बञ्चित गरिने सरकारी फर्मान छ। यो जबरजस्ती आखिर के का लागि हो, सरकार ? कम्तीमा भन्देउ न । तिम्रो उदेश्य र नियत जनताले जान्न चाहेका छन्। यो मुलुकमा जनतालाई कतिवटा परिचय पत्र चाहिने हो? सरकारी फर्मानप्रति प्रश्न गर्दछन्, कांग्रेस सांसद डा चन्द्र भण्डारी । उनी भन्छन्, “कुन देशमा छ, यस्तो ? नागरिकता, राहदानी, मतपत्र फेरी राष्टिय परिचय पत्र । पैसा कमाउन भन्दै परिचय पत्र बनाउँदै हिड्ने हो ? एउटा परिचयपत्र बनाउ त्यस्लाई दीगो बनाउ। आफू भन्दा टाढाको देख्ने होइन, यस्ता नेताले देश बनाउँदै कदापि । ”


हो, पक्कै पनि डाक्टर भण्डारीले भने जस्तै नियती छ, यो देशको। जनतालाई खाँचो परिचय पत्रको होइन। गतिलो उपचार र गुणस्तरीय शिक्षा अनि रोजगार हो । तर, शासकहरु जनताको आधारभूत आवस्यकतामा ध्यान दिदैनन् पटक्कै । बरु,सत्तामा पुग्न र हाँक्न सुशासन र सम्वृद्धिको गफ दिन्छन् उनीहरु । जति नेताले झुठा आश्वासन बाँडेर सत्ताको भ¥याङ उक्लििन्छन्। उति उति देशको दूरदशा चुलिदो छ,। देशको अवस्था हरेक दिन बेहाल बन्दै गएको छ। गाउँमा एउटा सिटामल पाउन मुश्किल छ। हजारौ नेपालीहरु आधा पेटमा निदाउँछन्, नांगो शरीरमै जिउन विवश छन् । तर, शासन सत्ताको बागडोर सम्हालेकाहरु कहिले बालकोट कहिले बुढानिलकण्ठ त कहिले बालुवाटारको दौडधुपमा छन्। असारको यो झरीमा तातो कफी पिएर जनताको दर्दलाई मजाक गरिरहेका छन्। शासन सत्तामा बसेकाहरुको यो अनैतिकता, बेशरम र बेइज्जती हेर्न जनता बाध्य छन्। यीनै बेशरमहरुबाट जनता शासित हुन बाध्य छन्, विगत३४ वर्षदेखि ।


राष्ट्रिय ऋण २५ खर्ब पुगिसक्यो, हरेक नागरिकको टाउकोमा करिब ८५ हजारको ऋणको भारी थोपरिएको छ। ऋणको भारीले नयाँ रेकर्ड काम गर्दा पनि हाम्रो भौतिक विकासको हालत बेहाल छ। गतिलो छैन, राजमार्ग। न त गतिला छन् विश्वविद्यालय। उता, विद्यालय शिक्षाको दयनीय अवस्था देखियो यस पटक । आधा विद्यार्थी अनुत्तीर्ण भए। शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा वर्षेनी लगानी छ।तर, भ्रष्टाचारको विषालु जराले थिलथिल छ, र मक्एिको छ, राज्य संरचना।

आवस्यकता र औचित्यता एकातिर छ। सरकारका काम कारबाही अर्कातिर छ । यस्तो नौटंकी दुनियाँमा कही कतै छैन। तर, यो देश त्यस्तो मुलुक बनाइयो, जहाँ अनेक नाटकहरुको प्रदर्शन गरिन्छ। त्यस्तै नाटकहरुको धारावाहिक श्रृृखला हो,राष्टिय परिचय पत्रको फर्मान पनि । यो राष्टिय फर्मान देश र जनताको लागि हुँदै होइन, विदेशी शक्तिहरुको स्वार्थ र सेवाका लागि हो। यदि त्यसो होइन, भने सरकारले वास्तविक जवाफ दिनुपर्छ, जनतालाई। होइन, भने तिम्रो फर्मानकै भरमा लादिएको राष्ट्रिय परिचय पत्र किन बनाउनुपर्र्ने जनताले ?

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १० : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित