कैलालीमा सरकारी विद्यालयमा छिरेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका एकजना पास्टर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनका अनुसार धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ ।
भट्टराईले ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्ने बहानामा विद्यार्थीहरुलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ ।
उनले लम्की चुहानगरपालिका–१ मा रहेको शहीद स्मृति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाई धर्म अंगाल्न अनुरोध गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उनले भाईरल भिडियोमा माओवादीका नेता पनि इसाईमा लागेको चर्चा गरेका छन् । यश विषयमा माओवादीकाे आधिकारिक धारणा भने सार्वजनिक भएको छैन । सहिद परिवारका सन्ततिलाई प्राथमिकता दिएर सरकारी अनुदानमा चलेका यस्ता विद्यालय धर्म प्रचार गर्न यश अघि पनि चर्चा चलेको थियोे ।