७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको रजतजयन्ती तथा २१औँ साधारणसभा सम्पन्न


४ असार २०८३, बिहिबार  


लेखनाथ खानेपानी उपभोक्ता संस्थाको रजतजयन्ती समारोह, २१औँ साधारणसभा तथा छैटौँ अधिवेशन संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य रहेका थिए भने विशिष्ट अतिथिमा राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली, संस्थापक अध्यक्ष सालिकराम शर्मा तथा निवर्तमान अध्यक्षलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी सचिव नारायणी भट्टराईले गरेकी थिइन् भने समापन उपाध्यक्षले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले गर्नुपर्ने धेरै काम उपभोक्ता संस्थाहरूले गर्दै आएको बताए। खानेपानी क्षेत्रलाई राज्यले पर्याप्त प्राथमिकता नदिँदा नागरिकहरू स्वच्छ खानेपानीबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो।

उनले लेखनाथ खानेपानी उपभोक्ता संस्था नेपालकै सफल खानेपानी संस्थामध्ये एक रहेको उल्लेख गर्दै संस्थाको सफलतामा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताए। खानेपानी मन्त्रालय नै नभएको अवस्थादेखि हालसम्मको यात्रालाई स्मरण गर्दै उनले सरकारले ल्याएका केही ऐन तथा नियमावलीप्रति असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष ओलीले स्थानीय तहलाई उपभोक्ता संस्थाको खारेजी तथा विघटन गर्ने अधिकार दिनु उपयुक्त नभएको धारणा राखे। “आम नागरिकले आफ्नै लगानीमा निर्माण गरेका संस्थालाई राज्यले तहसनहस बनाउने प्रयास गर्नु दुःखद विषय हो,” उनले भने।

कार्यक्रममा संस्थाको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे समेत छलफल गरिएको थियो।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ६ : ५४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित